कांग्रेस महाधिवेशन : नेता व्यवस्थापनमा चुनौती

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारीमा दोहोरिन चाहने नेताहरूको संख्या बढ्दै गएको छ ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पदाधिकारी बनेका अधिकांश नेताले आफू रहेकै पदमा निरन्तरता पाउने चाहना राखेका छन् भने महामन्त्री पदमा आकांक्षीको संख्या बढ्दै गएको छ । कांग्रेसको निर्वाचन निर्देशिका, २०८३ अनुसार एक सभापतिसहित १३ जना पदाधिकारी रहने व्यवस्था छ । जसमा दुई उपसभापति, दुई महामन्त्री र ११ सहमहामन्त्री रहनेछन् । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूमध्येबाट चयन गरिने व्यवस्था छ । निर्देशिकाअनुसार केन्द्रीय कार्यसमिति १५६ सदस्यीय हुनेछ ।

असोज १८ गतेदेखि १५औँ महाधिवेशनको प्रक्रिया अघि बढ्ने कार्यतालिका छ । अहिले क्षेत्रीय अधिवेशनहरू चलिरहेका छन् । क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । नयाँ व्यवस्थाअनुसार सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य बन्न चाहने नेताहरू पनि सम्बन्धित क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्नेछ । त्यसैले केन्द्रीय नेताहरू समेत क्षेत्रीय अधिवेशनमा सक्रिय छन् । विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा आगामी महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका छन् । थापालाई पुनः सभापतिका रूपमा अघि बढाउने पक्षमा नेता तथा कार्यकर्ताहरू रहेको कांग्रेसभित्र चर्चा छ ।

सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका किशोरसिंह राठोरले आफू सभापतिको उम्मेदवार भएको बताएका छन् । आफ्नो क्षेत्रमा अधिवेशन रोकिएको उल्लेख गर्दै उनले महाधिवेशन प्रतिनिधि निर्वाचित भएर सभापतिमा प्रतिस्पर्धा गर्ने बताए । कांग्रेसलाई एकढिक्का बनाउने मुख्य एजेन्डासहित आफू सभापतिमा उठ्न लागेको उनको भनाइ छ । उपसभापतिमा वर्तमान उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहित महालक्ष्मी उपाध्याय ‘डिना’ र धनराज गुरुङको नाम चर्चामा छ । शर्मा पुनः उपसभापतिमै उम्मेदवारी दिने सम्भावना बलियो देखिए पनि अन्य पदाधिकारीले भने सभापति थापाको संकेत कुरिरहेको कांग्रेस नेताहरू बताउँछन् ।

महामन्त्री पदमा भने प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ । वर्तमान महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसँगै सहमहामन्त्री उदयशम्शेर राणा र बहादुरसिंह लामाले पनि महामन्त्रीमा आकांक्षा राखेका छन् । यस्तै नैनसिंह महर, देवराज चालिसे, मधु आचार्य, डा. सुनिल शर्मा, अमरसिंह पुन, आङगेलु शेर्पा र रञ्जित कर्णलगायत नेताहरूले पनि महामन्त्रीमा दाबी प्रस्तुत गरेका छन् । अमरसिंह पुनले महामन्त्रीमा उम्मेदवारी दिने तयारीसहित काठमाडौंमा सम्पर्क कार्यालयसमेत सञ्चालनमा ल्याएका छन् । अन्य आकांक्षीले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममार्फत आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

सहमहामन्त्रीमा पनि वर्तमान पदाधिकारीमध्ये केहीले दोहोरिने तयारी गरेका छन् । महेन्द्र यादव र जीवन परियार पुनः सहमहामन्त्रीमा उठ्ने तयारीमा छन् । मनोजमणि आचार्य, मीन विश्वकर्मा, प्रतिमा गौतम, जनकराज गिरी र अभिषेकप्रताप शाहले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । संसदीय दलका नेता तथा सहमहामन्त्री भीष्मराज आङ्देम्बेले भने अहिलेसम्म आफ्नो उम्मेदवारीबारे धारणा सार्वजनिक गरेका छैनन् । निर्वाचन निर्देशिकाले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारीका लागि क्रियाशील सदस्यताको अवधि पनि तोकेको छ । केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने र सभापतिका लागि १५ वर्ष निरन्तर क्रियाशील सदस्यता आवश्यक पर्ने व्यवस्था छ । सभापतिका उम्मेदवारलाई कम्तीमा १० प्रस्तावक र १० समर्थक आवश्यक पर्नेछ । उपसभापति र महामन्त्रीका लागि सात–सात तथा सहमहामन्त्रीका लागि पाँच–पाँच प्रस्तावक र समर्थक चाहिनेछ ।कांग्रेस निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या करिब सात हजार पुग्नेछ । उनीहरूको मतदानबाट आगामी केन्द्रीय नेतृत्व चयन हुनेछ । कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन भने केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि गर्ने नीति लिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।