धनुषा । नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
साविक बटेश्वर गाविसका वडा नम्बर १ देखि ९ सम्मका स्ववासी परिवारले लामो समयपछि आफ्नो जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने लालपुर्जा पाएका हुन् । नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
सम्बन्धित क्षेत्रको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएको थियो । नापजाँच र नक्सांकनको काम सकिए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा स्थानीयले लामो समयसम्म लालपुर्जा पाउन सकेका थिएनन् ।
लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाइएपछि अहिले १८६ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । लालपुर्जा पाएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ ।
जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएपछि स्थानीयलाई आफ्नो जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने भएको छ । त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद समाधान गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ ।
स्ववासी जग्गा दर्ता भई लालपुर्जा प्राप्त भएपछि स्थानीयले जग्गाको कानुनी तथा आर्थिक रूपमा उपयोग गर्न पाउने अवसर बढेको छ । यसअघि धनुषामा ४ हजार ५ सय ५४ परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरिसकेका छन् ।



































