६ दिनपछि खुल्यो बेँसीशहर–चामे सडक, मनाङतर्फको आवागमन सहज

मनाङ । बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीशहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । सडकमा खसेको पहिरो र थुप्रिएको ढुङ्गामाटो हटाएपछि यातायात सञ्चालनमा ल्याइएको हो ।

डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार नासों गाउँपालिका–३ को खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।

हालै आएको बाढीपहिरोले बेँसीशहर–चामे सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै कतिपय ठाउँमा सडक भासिएको थियो । पहिरोका कारण सडक अवरुद्ध भएपछि मनाङतर्फ हुने सवारी आवागमन र दैनिक उपभोग्य सामग्रीको ढुवानी प्रभावित भएको थियो ।

सडक पुनः सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्नलगायत दैनिक आवश्यक सामग्रीको ढुवानी तथा यात्रु आवागमन सहज भएको छ ।