काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँध तथा जलाशयको स्थलगत निरीक्षण गर्दै बाँध सुरक्षित र अवस्था सामान्य रहेको बताएका छन् ।
असोज ८ देखि १२ गतेसम्म भएको भारी वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह सतर्कता तहमा पुगेपछि सम्भावित जोखिमबारे चासो बढेको थियो । सोही अवस्थाको निरीक्षण तथा वर्तमान वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ शनिबार कुलेखानी पुगेका हुन् ।
निरीक्षणका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितका कर्मचारीले बाँध, जलाशय तथा वर्षाका क्रममा अपनाइएको व्यवस्थापनबारे मन्त्रीलाई जानकारी गराएका थिए ।
निरीक्षणपछि मन्त्री श्रेष्ठले भारी वर्षाका बेला कुलेखानी बाँधमा २४ सै घण्टा निगरानी राखिएको र जलसतह व्यवस्थापनसँगै तल्लो तटीय क्षेत्रमा आवश्यक सूचना प्रवाह गरी सतर्कता अपनाइएको बताए । उनले अहिले बाँध स्थिर र सुरक्षित अवस्थामा रहेको जानकारी दिए ।
मन्त्री श्रेष्ठका अनुसार पछिल्लो अविरल वर्षाका कारण देशका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा विद्युत् आपूर्ति व्यवस्थापनमा दबाब सिर्जना भएको थियो । त्यसको प्रभाव नेपालको विद्युत् प्रणालीको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलविद्युत् केन्द्रमा समेत परेको उनले बताए ।
कुलेखानी जलाशयमा रहेको पानीको वर्तमान अवस्था हेर्दा आगामी सुख्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहजता हुने अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ । ऊर्जा सुरक्षालाई मजबुत बनाउँदै भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार सक्रिय रहेको उनले बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कुलेखानी जलविद्युत् आयोजना नेपालको विद्युत् प्रणालीका लागि महत्वपूर्ण रहेको बताए । उनका अनुसार कुलेखानीले विशेषगरी विद्युत्को उच्च माग हुने समयमा ‘पिकिङ’का लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले पनि निरीक्षणका क्रममा बाँधको अवस्था सामान्य रहेको बताए । यसअघि भारी वर्षाको पूर्वानुमानसँगै कुलेखानी जलाशय र तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको थियो । जलाशयमा पानीको सतह बढेमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिन साइरनलगायतका चेतावनी प्रणालीको व्यवस्था गरिएको छ ।



































