डिला संग्रौलाको ऐतिहासिक छलाङ : कांग्रेसको पहिलो महिला महामन्त्री

नेपाली कांग्रेसको आठ दशक लामो इतिहासमा डा. डिला संग्रौला (पन्त) पहिलो महिला महामन्त्री बन्न सफल भएकी छन् । कांग्रेसको १५औँ महाधिवेशनबाट विधान संशोधन गरी सिर्जना गरिएको महिला महामन्त्री पदमा निर्वाचित भएसँगै उनले पार्टीको नेतृत्व तहमा ऐतिहासिक उपलब्धि हासिल गरेकी हुन् ।

महिला महामन्त्री पदका लागि भएको निर्वाचनमा संग्रौलाले तीन हजार ११८ मत प्राप्त गर्दै विजय हासिल गरिन् । उनका प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले दुई हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत पाइन् । पूर्वसहमहामन्त्री उपाध्यायलाई २५४ मतान्तरले पराजित गर्दै संग्रौला कांग्रेसको पहिलो महिला महामन्त्री बन्न सफल भइन् । लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेकी संग्रौलाको यो जितलाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई कांग्रेसभित्र महिला नेतृत्वको स्थापित उपस्थितिका रूपमा पनि हेरिएको छ । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा पार्टीको केन्द्रीय नेतृत्वको महत्त्वपूर्ण पदसम्म पुगेको छ । २०२० सालमा दाङमा जन्मिएकी संग्रौला १६ वर्षको उमेरमै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भएकी थिइन् ।

पञ्चायती व्यवस्थाविरुद्धको अभियानमा सक्रिय हुँदै उनले राजनीतिक यात्रा अघि बढाइन् । २०३६ सालको जनमतसंग्रहका क्रममा नेविसंघमार्फत उनको विद्यार्थी राजनीति थप सक्रिय बनेको थियो । दाङ नेविसंघको जिल्ला कार्यसमिति सदस्य रहेकी उनी २०३८ सालमा घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य बनिन् । २०४० सालमा मोरङका सूर्य संग्रौलासँग विवाह भएपछि उनको राजनीतिक कार्यक्षेत्र पनि परिवर्तन भयो । त्यसपछि मोरङलाई मुख्य राजनीतिक थलो बनाएर उनले संगठन निर्माण र पार्टी गतिविधिमा निरन्तरता दिइन् ।

विराटनगर महानगरपालिका–११ मा कांग्रेसको वडा सभापतिको जिम्मेवारी सम्हालेकी संग्रौलाले राजनीतिसँगै प्राध्यापन पेसालाई पनि अघि बढाइन् । कांग्रेसको आठौँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि रहँदै आएकी उनी पार्टीको आन्तरिक राजनीतिमा क्रमशः स्थापित हुँदै गइन् । २०५९ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले कांग्रेस विभाजन गरी नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा संग्रौलाले देउवालाई साथ दिएकी थिइन् । कांग्रेस प्रजातान्त्रिकको नीति प्रशिक्षण प्रतिष्ठानमा सदस्यको जिम्मेवारी सम्हाल्दै उनले संगठनात्मक अनुभव हासिल गरिन् । २०७४ सालमा नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भएपछि उनी कांग्रेस मोरङको जिल्ला उपसभापति बनिन् । त्यसपछि प्राध्यापन पेसा छाडेर पूर्णकालीन राजनीतिमा लागेको संग्रौला बताउँछिन् । पार्टी संगठनमा सक्रियता बढाउँदै उनले केन्द्रीय राजनीतिमा आफ्नो स्थान फराकिलो बनाउँदै लगिन् ।

संग्रौलाको राजनीतिक यात्रामा उतारचढाव पनि कम छैनन् । २०६७ सालमा भएको कांग्रेसको १२औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्य पदमा पराजित भएकी थिइन् । तर, त्यसको एक वर्षपछि २०६८ सालमा नेपाल महिला संघको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मनोनित भइन् । तत्कालीन वरिष्ठ नेता देउवाको समर्थनमा महिला संघको नेतृत्वमा पुगेकी उनले महिला संगठन विस्तारमा भूमिका निर्वाह गरिन् । २०७२ सालमा भएको कांग्रेसको १३औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भइन् । २०७३ सालमा महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशनपछि उमा रेग्मीले नेतृत्व सम्हालेसँगै संग्रौला पार्टी राजनीतिमा थप केन्द्रित भइन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भएपछि उनले संसदीय राजनीतिमा समेत प्रवेश पाइन् । त्यसपछि २०७९ र २०८२ सालका प्रतिनिधिसभा निर्वाचनमा भने उनी चुनावी प्रतिस्पर्धामा देखिइनन् ।

२०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा महिलातर्फ सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्य निर्वाचित हुनु उनको राजनीतिक यात्राको अर्को महत्त्वपूर्ण उपलब्धि थियो । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी संग्रौला त्यसको करिब १० महिनामै महामन्त्री बन्न सफल भइन् । देउवाको साथ छाडेर विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने उनको निर्णय नेतृत्वको नयाँ समीकरणमा महत्त्वपूर्ण मोड बनेको देखिन्छ । महामन्त्रीमा निर्वाचित भएपछि संग्रौलाले कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा लैजान आफू प्रतिबद्ध रहेको बताएकी छन् । युवा पुस्ताको चाहनाअनुसार पार्टीलाई रूपान्तरण गर्न आफूले सक्रिय भूमिका खेल्ने उनको भनाइ छ । ‘कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा लैजानेछौँ,’ उनले भनिन्, ‘अहिलेको युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउने हाम्रो महान् अभियानमा प्रतिबद्ध भएर लाग्नेछु ।’

आफू पहिलो महिला महामन्त्री बनेको उपलब्धिलाई उनले व्यक्तिगत जितका रूपमा मात्र नलिन आग्रह गरेकी छन् । यसलाई समग्र महिला समुदाय, संगठनमा काम गर्ने कार्यकर्ता र परिवर्तनको पक्षमा उभिएका सबैको गौरवका रूपमा उनले व्याख्या गरेकी छन् । ‘यो मेरो जित होइन कि समग्र संगठनमा भुइँमान्छेको कथा हो । महिला दिदीबहिनीका लागि गौरव हो,’ संग्रौलाले भनेकी छन् । कांग्रेसभित्र संगठनात्मक सुधार, सुशासन, रूपान्तरण र पुस्तान्तरणको पक्षमा आफू निरन्तर उभिने पनि उनले स्पष्ट पारेकी छन् । पुरानै शैलीमा संगठन सञ्चालन गरेर बदलिँदो समयको अपेक्षा पूरा गर्न नसकिने उनको बुझाइ छ ।

‘अब पार्टीको संगठन पुरानै ढंगले लिएर हिँडेर हुँदैन,’ उनले भनिन्, ‘म सधैँ रूपान्तरण र पुस्तान्तरणको पक्षमा उभिएँ । सुशासनका पक्षमा उभिएँ । अब पनि म अविचलित रूपमा लागिरहनेछु ।’ विद्यार्थी राजनीतिबाट सुरु भएको संग्रौलाको यात्रा महिला संघको नेतृत्व, संसदीय भूमिका, केन्द्रीय सदस्य र सहमहामन्त्री हुँदै महामन्त्रीसम्म आइपुगेको छ । कांग्रेसको सर्वोच्च नेतृत्व संरचनाको महत्त्वपूर्ण पदमा पुगेकी उनीसामु अब पार्टीभित्र महिला सहभागिता थप सुदृढ गर्ने, संगठनलाई समयअनुकूल बनाउने र युवा पुस्ताको अपेक्षालाई सम्बोधन गर्ने चुनौती र अवसर दुवै छन् । उनको आगामी भूमिकाले कांग्रेसको संगठनात्मक रूपान्तरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।