बन्द भएको ४ महिनापछि रेसुङ्गा विमानस्थलमा उडान सुरु

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान सुरु भएको छ। मौसम प्रतिकूलताका कारण नियमित उडान बन्द भएको ४ महिनापछि मंगलबार नेपाल वायुसेवा निगमले उडान सुरु गरेको हो ।

गत जेठ २४ गते अन्तिम उडान भएपछि मौसम खराबीका कारण ४ महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान नभएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । स्टेशन प्रमुख थापाका अनुसार मौसममा सुधार आउन थालेसँगै मंगलबारदेखि उडान सुरु भएको हो । वर्षायाममा मौसम प्रतिकूलताका कारण यस विमानस्थलबाट उडान प्रभावित भएको थियो । विशेषगरी असार र साउन महिनामा यहाँ मौसम प्रतिकूलताका कारण उडानमा समस्या आउने गर्दछ । वर्षमायामको समयमा बिहानपख बाक्लो बादलसँगै हुस्सु लाग्नुका साथै मौसम खराबी आउँदा यस विमानस्थलमा उडान अवरुद्ध हुन्छ ।

यहाँ हिउँदको समयमा पनिको बाक्लो हुस्सु लाग्ने हुँदा उडान अवरुद्ध हुने गर्दछ । यात्रुको चापलाई ध्यानमा राख्दै हप्ताको ४ दिनसम्म यहाँ उडान हुने व्यवस्था मिलाइएको थियो । पछिल्लो समय तालिका समायोजन गरी हप्तमा तीन दिन आइतबार, मंगलबार र शुक्रबार अबको उडान तालिका रहेको उनले बताए । प्रत्येक हप्ताको आइतबार र मंगलबार रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ७ः१५ बजे र यहाँबाट काठमाडौंका लागि बिहान ८ः१५ बजे उडान हुने समय तालिका छ । त्यसैगरी शुक्रबार रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ः२० बजे र यहाँबाट काठमाडौंका लागि बिहान ७ः२० बजे उडान हुने समय तालिका रहेको उनले जानकारी दिए ।

गुल्मी हवाई यातायातसँग जोडिएसँगै पर्यटकहरु घुम्नका लागि सिधै यस जिल्लामा आउने गरेका थिए । तर, पछिल्लो समय हवाई इन्धनमा भएको मूल्य वृद्धिका कारण हवाई भाडादर वृद्धि हुँदा भाडादर समायोजन गरी कम गर्न आवश्यक रहेको स्थानीयले बताएका छन् । रेसुङ्गा विमानस्थलदेखि काठमाडौंका लागि ७ हजार ३०० रुपियाँ र काठमाडौंदेखि रेसुङ्गा विमानस्थलका लागि ७ हजार ५०० रुपियाँ भाडा कायम गरिएको थियो ।

अहिले भाडादर वृद्धि भएर रेसुङ्गा विमानस्थलदेखि काठमाडौंका लागि १० हजार ५१० रुपियाँ र काठमाडौंदेखि रेसुङ्गा विमानस्थलका लागि १० हजार ७१० रुपियाँ भाडा कायम भएको छ । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान भर्ने गरेको थियो । हालसम्म दुईतर्फी उडान ३६९ भएको छ । रेसुङ्गा विमानस्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर छ । यस विमानस्थल कुल १५६ रोपनी जग्गामा फैलिएको छ ।