चारैतिर दशैँको रौनकता छाएपनि बाँकेका किसानलाई धान भित्र्याउने चटारो

बाँके । चारैतिर दशैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउने चटारो छ ।
रातो टीका, जमरा र आफन्तसँगको खुसी साटासाट गर्ने पर्खाइमा धेरैजसो मानिस किनमेल र घर सिँगार्न व्यस्त छन् ।

तर यहाँका किसानलाई भने खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिन्छ कि दिन्न भन्ने पिरले गाँजेको नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुव थापाले बताए ।  “असारे हिलोमा बगाएको पसिना यतिबेला खेतभरि पहेँलपुर झुलेको छ, त्यसैले दशैँको टीका थाप्नेभन्दा पनि खेतको धान थन्क्याउने हतारो छ”, थापाले भने, “यदि अहिल्यै धान भित्र्याउन सकिएन भने ठूलो क्षति हुन्छ, त्यसैले हाम्रा लागि यतिबेला दशैँको रौनकभन्दा धान भित्र्याउने चटारोले छोएको छ ।”

गत असारमा लगाइएको धान पाकेर यतिबेला खेतमा झुलेको छ । अब वर्षा भए धान बालीमा ठूलो क्षति हुने भएकाले किसानलाई अहिले दशैँ मनाउनभन्दा पनि धान भित्र्याउन भ्याइनभ्याइ भएको उनि बताउछन् । गत हप्ता नै ठूलो वर्षा भएकाले धान भित्र्याउन नसकिएको जनाउँदै थापा केही दिन पानी नपरेकाले खेताला लगाएर धान काट्ने र भित्र्याउन काममा लागेको जानकारी दिए ।
विगतका वर्षमा प्रायः दशैँ सकिएपछि मात्र धान भित्र्याउने समय आउँथ्यो । तर, यसपालि दशैँ केही ढिला परेकाले धान पाक्ने र दशैँ मनाउने समय एकैपटक जुध्न पुगेको छ । गाउँघरमा दशैँको उल्लासभन्दा पनि यस वर्ष खेतबारीको कामको हतारो बढी देखिएको राप्ती सोनारी–५ का किसान अशोक वलीले बताए ।

“अहिले त धान काट्ने बेलामै ठूलो वर्षा भयो । केही दिनदेखि पानी रोकिएकाले धेरै किसान धान काट्न र भित्र्याउनमै व्यस्त छौँ”, वलीले भने, “एकातर्फ धान भित्र्याउनु छ, अर्कातर्फ बारीमा गहुँ छर्ने समय भइसकेको छ । एकैपटक धेरै काम थपिएकाले यसपालिको दशैँ अघिल्ला वर्षजस्तो फुर्सदिलो र रमाइलो हुने छाँट छैन ।” केही दिनअघि नै धान काट्ने तयारी गरे पनि वर्षाका कारण रोकिएकाले अहिले किसान अर्मपर्म गरी धान भित्र्याउन व्यस्त रहेको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताए ।
उनका अनुसार यस वर्ष समयमै मनसुन सुरु भएकाले बाँकेमा धानको उत्पादन राम्रो भएको छ । खेतभरि झुलेका बालाले राम्रो भण्डारणको सङ्केत गरे पनि अनपेक्षित वर्षाको जोखिम भने अझै टरेको छैन ।

“आकाशमा अलिकतिमात्रै बादल मडारिँदा पनि किसानको धड्कन बढ्ने गर्छ । मिहिनेतअनुसार धान राम्रो त भएको छ, तर समयमै घर भित्र्याउन नसके असिनापानीले नोक्सान पुर्याउन सक्छ”, चौधरीले भने, “बाँकेका किसान यतिबेला दशैँको रमझमभन्दा माथि उठेर धान भित्र्याउन लागेका छन्, किसानलाई धानखेती सुरक्षित घर भित्र्याउन पाउनु नै यसपालिको सबैभन्दा ठूलो दशैँ र खुसी हुनेछ ।”
कृषि ज्ञान केन्द्र बाँके सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले पाकेर स्याहार्ने बेला पानी पर्ने डरले यतिबेला किसान धमाधम धान भित्र्याउन लागेको बताइन् । जिल्लामा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी शर्माले जानकारी दिइन् ।