चैतमा स्थानीय तहको निर्वाचन तयारी

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग छलफल अघि बढाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारत भ्रमणमा जानुअघि नै निर्वाचनको मिति घोषणा गर्न आयोगले सरकारलाई आग्रह गर्ने तयारी गरेको छ ।  आयोगले शनिबार गृहमन्त्री सुधन गुरुङसँग निर्वाचन केन्द्रित छलफल गर्दै स्थानीय तहको निर्वाचन गराउन कम्तीमा चार महिनाको समय आवश्यक पर्ने जानकारी गराएको छ । आयोगले चैत महिनामा निर्वाचन सम्पन्न गर्ने गरी मिति तोक्न सरकारलाई प्रस्ताव गरेको छ ।

‘चुनाव गराउन आयोगलाई चार महिनाको समयावधि छुट्याउनुपर्छ । त्यसो गर्दा चैतमा चुनाव गराउन सकिन्छ,’ गृहमन्त्रीसँग भएको छलफलमा आयोगले राखेको प्रस्ताव उद्धृत गर्दै एक निर्वाचन आयुक्तले भने, ‘अब छिटोभन्दा छिटो सरकारले मिति तोक्नुपर्छ ।’

आयोगले प्रधानमन्त्री शाह भारत भ्रमणमा जानुअघि नै उनीसँग भेटेर निर्वाचनको मिति र तयारीबारे छलफल गर्ने योजना बनाएको छ । प्रधानमन्त्री शाह मंसिर ६ गतेदेखि तीनदिने भारत भ्रमणमा जाने तयारीमा छन् । त्यसअघि नै प्रधानमन्त्रीसँग भेटेर स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गर्ने आयोगको चाहना छ ।  ‘हाम्रो चाहना प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै चुनावको मिति तोकिदिए हुन्थ्यो भन्नेछ । अब भेटेर हाम्रो कुरा राख्ने र मिति पनि तय गर्ने भन्नेछ,’ ती आयुक्तले भने, ‘सोहीअनुसार गृहमन्त्रीसँग छलफल गरिसकेका छौँ ।’ गृहमन्त्री गुरुङसँग भएको छलफलपछि आयोग निर्वाचनको तयारी र आवश्यक कानुनी व्यवस्थाबारे सकारात्मक देखिएको छ । छलफलका क्रममा गृहमन्त्रीले विदेशमा रहेका नेपाली नागरिकलाई समेत यसपटकको निर्वाचनदेखि मतदानमा सहभागी गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  आयोगले अन्तरजिल्ला तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने विषय पनि गृहमन्त्रीसमक्ष उठाएको थियो । त्यसका लागि विद्यमान कानुनी व्यवस्थामा आवश्यक संशोधन गर्नुपर्ने भए पनि सरकार सकारात्मक रहेको आयोगको बुझाइ छ ।

‘गृहमन्त्री अन्तरजिल्ला र विदेशमा बस्ने नेपालीलाई पनि यसैपटकको स्थानीय चुनावदेखि मतदानको अधिकार दिनुपर्छ भन्नेमा हुनुहुन्छ । हामीले जसरी पनि गर्नुपर्छ । कानुनलाई कसरी परिवर्तन गर्ने र कानुनी अल्झन कसरी हटाउने भन्ने विषयमा उहाँ धेरै सकारात्मक हुनुहुन्छ,’ ती आयुक्तले भने । गृहमन्त्री गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणबाट फर्किएपछि आयोगले यस विषयमा पुनः छलफल गर्ने तयारी गरेको छ । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा आवश्यक कानुनी तथा प्राविधिक व्यवस्थाबारे थप छलफल गरिने आयोगले जनाएको छ । यसैबीच आयोगले स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने भएको छ । संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलका प्रतिनिधिसँग आउँदो मंसिर ४ गते छलफलका लागि बैठक बोलाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचनको मिति, तयारी र आवश्यक व्यवस्थापनका विषयमा दलहरूको सुझाव लिने आयोगको तयारी छ । स्थानीय तहका वर्तमान जनप्रतिनिधिको पदावधि समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्थालाई ध्यानमा राख्दै आयोगले चैतको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्ने गरी सरकारलाई सम्भावित समयसीमाबारे जानकारी गराएको हो । निर्वाचनको मिति समयमै घोषणा भए मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र निर्धारण, निर्वाचन सामग्री व्यवस्थापन, जनशक्ति परिचालन तथा अन्य प्राविधिक तयारी अघि बढाउन सहज हुने आयोगको बुझाइ छ । त्यसैले सरकारले छिट्टै मिति घोषणा गर्नुपर्नेमा आयोगले जोड दिएको छ । प्रधानमन्त्रीसँगको भेट र राजनीतिक दलहरूसँगको छलफलपछि निर्वाचनको मिति तथा तयारीबारे थप स्पष्टता आउने आयोगको अपेक्षा छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।