वन्यजन्तु अनुकूलित खेती प्रणालीको खाँचो

नेपालका पहाडी तथा मध्यपहाडी ग्रामीण भेगहरूमा पछिल्ला वर्षहरूमा वन्यजन्तु, विशेष गरी बाँदरको बढ्दो आतंक कृषि उत्पादन र किसानको जीविकोपार्जनका लागि गम्भीर चुनौती बन्दै गएको छ । वर्षभरि रगत–पसिना बगाएर लगाएको मकै, कोदो, धान र फलफूलजस्ता परम्परागत बालीनाली भित्र्याउने बेलामा बाँदरको हुलले क्षणभरमै सखाप पारिदिँदा हजारौँ किसान खेतबारी बाँझै छाडेर पलायन हुन बाध्य छन् ।

तर संकटको यही विषम परिस्थितिमा भोजपुरका किसानहरूले बाँदरको हैरानीबाट जोगिन परम्परागत खाद्यबालीको सट्टा जमिनमुनि फल्ने अदुवाखेतीलाई वैकल्पिक नगदेबालीका रूपमा अपनाएर सिर्जनशीलता र अनुकूलन क्षमता देखाएका छन् । यसले समग्र नेपाली कृषि क्षेत्रका लागि अत्यन्तै प्रेरक र अनुकरणीय छ । भोजपुर नगरपालिकाकी गीता खड्का र सावित्रा पोखरेलजस्ता किसानहरूले अदुवाखेतीमार्फत देखाएको बाटो बाली परिवर्तनको घटना मात्र नभई वन्यजन्तु अनुकूलित खेती प्रणालीको व्यावहारिक अभ्यास हो । जमिनमाथि फल्ने अन्नबाली बाँदरबाट जोगाउन असम्भवप्रायः बनिरहेका बेला जमिनमुनि गाँनो लाग्ने अदुवा, बेसार, पिँडालु, तरुल वा जडीबुटीजन्य बालीहरू तुलनात्मक रूपमा सुरक्षित रहने यथार्थलाई किसानहरूले व्यवहारमै पुष्टि गरेका छन् । स्थानीय बजारमा अदुवा प्रतिकिलो १००–१२० रुपैयाँसम्म बिक्री हुनुका साथै नबिकेको अवस्थामा सुकाएर सुठो वा धुलो बनाई लामो समयसम्म भण्डारण र बजारीकरण गर्न सकिने बहुआयामिक सुविधाले किसानको आर्थिक जोखिमलाई समेत न्यून गरिदिएको छ । यसले एकातिर वन्यजन्तुको क्षतिबाट बाली जोगाएको छ भने अर्कोतिर परम्परागत निर्वाहमुखी खेतीभन्दा कैयौँ गुणा बढी नगद आम्दानीको ढोका खोलिदिएको छ ।

यद्यपि किसानको व्यक्तिगत पहल र स्थानीय अनुकूलनको प्रयास प्रशंसायोग्य हुँदै गर्दा यसले राज्यको कृषि तथा वन नीतिमाथि गम्भीर प्रश्न भने खडा गरेको छ । सामुदायिक वनको संरक्षणसँगै वन्यजन्तुको संख्यामा भएको वृद्धि र मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राज्य संयन्त्रको भूमिका अत्यन्तै फितलो देखिएको छ । किसानले बाली जोगाउन खेतीपाती नै फेर्नुपर्ने बाध्यता आउनु राज्यका निकायहरूले वन्यजन्तु नियन्त्रण, क्षतिपूर्ति वितरण र बाली संरक्षणमा प्रभावकारी काम गर्न नसकेको प्रमाण हो । बाँदर, बँदेल, दुम्सी र नीलगाईजस्ता वन्यजन्तुको उपद्रवका कारण पहाडका उर्वर फाँटहरू मरुभूमिमा परिणत भइरहँदा सरकार भने केवल कागजी नीति र औपचारिक गोष्ठीमा सीमित हुनु दुर्भाग्यपूर्ण छ ।

भोजपुरका किसानले सुरु गरेको सकारात्मक रूपान्तरणलाई दिगो र व्यावसायिक बनाउन अब स्थानीय, प्रादेशिक र संघीय सरकारहरूले तत्काल ठोस नीतिगत र प्राविधिक हस्तक्षेप गर्नु आवश्यक छ । पहिलो, देशभरका बाँदर प्रभावित पहाडी जिल्लाहरूमा वन्यजन्तु प्रतिरोधी तथा अनुकूलित बाली क्षेत्र घोषणा गरी अदुवा, बेसार, अलैँची, अकबरे खुर्सानी, कागती र जडीबुटी खेतीका लागि उन्नत बीउ, प्राविधिक तालिम र सहुलियतपूर्ण अनुदानको व्यवस्था गरिनुपर्छ । दोस्रो अदुवाजस्ता नगदेबालीको उत्पादन बढेसँगै किसानले विगतमा झैँ भारत वा बाह्य बजारको अवरोधका कारण मूल्य नपाएर सडकमा फाल्नुपर्ने अवस्था आउन नदिन स्थानीय तहमै प्रशोधन केन्द्र, सुठो बनाउने प्रविधि र शीतभण्डार स्थापना गरिनुपर्छ । तेस्रो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जैविक बार, वनभित्रै फलफूलका बिरुवा रोप्ने र बाली बीमा कार्यक्रमलाई सहज बनाउने नीति अवलम्बन गरिनुपर्छ ।

बदलिँदो पर्यावरणीय र सामाजिक परिस्थितिअनुसार कृषि प्रणालीलाई रूपान्तरण गर्नु नै आजको आवश्यकता हो । भोजपुरका किसानले संकटभित्र अवसर खोज्दै अदुवाखेतीमार्फत आत्मनिर्भरताको बाटो पहिल्याएका छन्, त्यसलाई राज्यले नीतिगत संरक्षण, प्रशोधन प्रविधि र बजार सुनिश्चितताको सहजीकरण गर्नुपर्छ । किसानको सिर्जनशीलता र राज्यको उत्तरदायी सहयोगको संयोजनबाट मात्रै पहाडका बाँझो जमिन पुनः हराभरा भएर ग्रामीण अर्थतन्त्रले साँचो अर्थमा गति लिनेछ ।

२०८३ मंसिर १ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।