सार्वजनिक सवारी र स्कुल बस चालकलाई ‘व्यावसायिक चालक अनुमति’ अनिवार्य गरिँदै

चालक अनुमतिपत्र अवधि १० वर्षे गरिँदै

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधन तथा स्कुल बस चालकका लागि ‘व्यावसायिक चालक अनुमति’ अनिवार्य गर्ने तयारी गरेको छ । एकसाथ धेरै यात्रु लिएर यात्रा गर्ने सवारीसाधन चालकका आचरणबारे प्रश्न उठिरहेका बेला सरकारले कानुनमै यस्तो प्रावधान समेट्न लागेको हो ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ को मस्यौदामा व्यावसायिक चालक अनुमतिपत्र अनिवार्य गर्न लागिएको उल्लेख छ ।

यो विधेयकले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई विस्थापित गर्ने छ । विद्यमान ऐनमा व्यावसायिक चालक अनुमतिपत्र बारे उल्लेख छैन । पछिल्लो समय विद्यालय बस दुर्घटनाको क्रम बढेको छ । अघिल्लो साता काठमाडौंमै दुई ठूला दुर्घटनामा विद्यार्थी र शिक्षकहरूको ज्यान गएको थियो ।

सार्वजनिक सवारी र स्कुल बस दुर्घटनामा चालकको लापरबाहीबारे धेरे गुनासो आउने गरेको भन्दै भौतिक मन्त्रालयले अब धेरै यात्रु बोकेर हिँड्नुपर्ने सार्वजनिक सवारीसाधन र स्कुल बस चलाउने चालकलाई थप जिम्मेवार बनाउने उद्देश्य सहित छुट्टै चालक अनुमतिपत्रको व्यवस्था गर्न लागेको हो ।

सबै प्रकारका सवारी चलाउन पाउने उमेर बढ्ने

व्यावसायिक चालक अनुमतिपत्र अनिवार्य गर्दै सरकारले सबै प्रकारका सवारीसाधन चलाउने उमेर समेत बढाउने तयारी गरेको छ ।

विद्यमान कानुनमा ठूला सवारी चलाउन पाउने उमेर २१ वर्ष पुगेको र साना सवारी चलाएको दुई वर्ष पूरा भएको हुनुपर्छ । नयाँ कानुनमा यो उमेर २३ वर्ष तोकिएको छ । अब मझौला तथा साना चार पाङ्ग्रे सवारीका लागि २१ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान राखिँदैछ ।

विद्यमान कानुनमा यो १८ वर्ष छ । अहिले १६ वर्षमै दुई पाङ्ग्रे सवारी चलाउन पाइने नियम रहेकोमा अब बढाएर १८ वर्ष पुर्‍याउन लागिएको छ ।

चालक अनुमतिपत्र अवधि १० वर्षे गरिँदै

नयाँ कानुन अनुसार अब लाइसेन्स अवधि १० वर्षे गरिँदैछ । विधेयक अनुसार चालक अनुमतिपत्र अवधि जारी भएको मितिले १० वर्षको हुनेछ ।

विद्यमान कानुनमा यो पाँच वर्षे रहेको छ । हरेक १०र१० वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने प्रावधान विधेयकको मस्यौदामा समेटिएको छ । म्याद नाघेको ९० दिनभित्र नवीकरण गरिसक्नुपर्ने भएको छ ।