उत्तरी गोरखाको दुर्गम तथा पर्यटकीय क्षेत्र चुमनुब्री गाउँपालिकामा बाढीपहिरोले पुर्याएको क्षतिको घाउ सुक्न नपाउँदै जंगलमा भीषण डढेलो फैलिनुले हिमाली क्षेत्रको संवेदनशील पर्यावरण र जनजीवनलाई दोहोरो विपद्को चपेटामा पारेको छ ।
बूढीगण्डकी, उङ्गिलुङ र स्यार खोलामा आएको विनाशकारी बाढीले भत्काएका बाटोघाटो, पुलपुलेसा र संरचनाको पुनर्निर्माणसमेत सुरु हुन नसकेको विषम परिस्थितिमा चुमनुब्री–६ स्थित लोक्पा पारिको वनमा आगो सल्किनु अत्यन्तै चिन्ताजनक विषय हो । सामान्यतया हिमाली भेगमा चिसो मौसम सुरु भइसकेको र वर्षाको चिस्यानसमेत राम्ररी नसुकेको अवस्थामा यसरी डढेलो लाग्नु जलवायु परिवर्तनको अस्वाभाविक संकेत देखिन्छ । जसले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणमा राज्य संयन्त्रको चरम लाचारी उजागर गरेको छ ।
चुमनुब्री क्षेत्र जैविक विविधता, दुर्लभ वन्यजन्तु र बहुमूल्य जडीबुटीको भण्डार मानिन्छ । डढेलोले एकातिर वनस्पति, पशुपन्छी र स्थानीय समुदायको जीविकोपार्जनको आधार मानिने जडीबुटी सखाप पारिरहेको छ भने अर्कोतिर यसले निम्त्याउने सहायक विपद् झनै भयावह छ । आगोले वनजंगल डढाउँदा जमिन खुकुलो भई धोर्जुङडाँडा लगायतका भिरालो भूभागबाट ढुंगा खस्ने र सुक्खा पहिरो जाने उच्च जोखिम बढेको छ ।
विश्वप्रसिद्ध मनास्लु पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवतजावत भइरहने मुख्य याममै पदमार्गमाथि ढुंगा खस्ने, पहिरो जाने र धुवाँ फैलिने खतराले एकातिर मानव जीवन जोखिममा पारेको छ भने अर्कोतिर मुलुकको पर्यटन छवि र स्थानीय अर्थतन्त्रमा समेत गम्भीर धक्का पुर्याउने देखिन्छ । हिमाली भेगमा चल्ने तीव्र वेगको हावाहुरीले आगोको झिल्का बस्तीसम्म पुर्याएमा घरगोठ र पशुचौपाया मात्र होइन, सिंगो बस्ती नै खरानी बन्ने त्रासले स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् ।
विडम्बना के छ भने यस्तो गम्भीर संकट उत्पन्न हुँदा पनि राज्यका निकायहरू केवल भौगोलिक विकटता र मानवीय लापरबाहीको बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाले डढेलो स्थानीयस्तरकै लापरबाहीबाट सुरु भएको र दुर्गम भूगोलका कारण नियन्त्रण गर्न कठिन रहेको भन्दै पन्छिनु सरकारी संयन्त्रको निरीहताको पराकाष्ठा हो । यदि दुर्गम हिमाली क्षेत्रमा आगो फैलिसकेपछि निभाउन सकिँदैन भन्ने यथार्थ राज्यका निकायहरूलाई पहिले नै थाहा थियो भने आगलागी हुनै नदिने पूर्वतयारी, अग्निरेखा (फायर लाइन) निर्माण, स्थानीय युवालाई विपद् प्रतिकार्य तालिम र आधुनिक अग्नि नियन्त्रक उपकरणको जोहो किन गरिएन ?
वर्षभरि गोष्ठी र सचेतनाका नाममा बजेट सिध्याउने तर वास्तविक विपद् आइपर्दा स्रोतसाधन र जनशक्तिको अभाव देखाएर हात बाँधेर बस्ने प्रवृत्तिले संघीय, प्रादेशिक र स्थानीय सरकारको विपद् व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । नेपालको संविधान र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले तीनै तहका सरकारलाई विपद् पूर्वतयारी, प्रतिकार्य र पुनर्स्थापनाको स्पष्ट जिम्मेवारी तोकेको छ । तर व्यवहारमा सरकारहरू केवल विपद् आइसकेपछि हेलिकोप्टरमा अवलोकन गर्न जाने, मृतकका परिवारलाई केही हजार राहत घोषणा गर्ने र औपचारिक विज्ञप्ति निकाल्ने कर्मकाण्डमै सीमित छन् ।
चुमनुब्रीमा बाढीले ध्वस्त पारेका संरचनाको पुनर्निर्माणमा भएको ढिलासुस्ती र अहिले डढेलो नियन्त्रणमा देखिएको अकर्मण्यता एउटै रोगका २ लक्षण हुन् । जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालजस्तो हिमाली मुलुकका लागि विपद् व्यवस्थापन अब वैकल्पिक विषय होइन, राज्यको प्राथमिक सुरक्षा दायित्व बन्नुपर्छ । चुमनुब्रीको डढेलो बस्ती र मनास्लु पदमार्गसम्म फैलिन नदिन सरकारले तत्काल सुरक्षा निकाय, स्थानीय समुदाय र आवश्यक परे हवाई माध्यमसमेत परिचालन गरी आगो नियन्त्रणमा लिनुपर्छ ।
दीर्घकालीन रूपमा हिमाली तथा दुर्गम क्षेत्रका लागि विशेष विपद् प्रतिकार्य एकाइ स्थापना गर्ने, स्थानीय तहलाई अग्नि नियन्त्रणका आधुनिक उपकरणले सुसज्जित बनाउने र पर्यटकीय पदमार्गहरूको सुरक्षा सुनिश्चित गर्ने ठोस कार्ययोजना लागू गरिनुपर्छ । प्रकृतिले दिएको चेतावनी र नागरिकको पीडालाई बेवास्ता गर्दै सरकारी लाचारीलाई निरन्तरता दिने छुट अब कसैलाई छैन ।
२०८३ मंसिर १३ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।

































