तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

प्रसाईंको स्वास्थ्यलाई ध्यानमा राख्दै उपचारको व्यवस्था गर्न निर्देशन

काठमाडौं । काठमाडौं जिल्ला अदालतले चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य संयोजक दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

भारतको आसामबाट पक्राउ परेका प्रसाईंलाई शुक्रबार नेपाल प्रहरीले काठमाडौं ल्याएर अदालतमा पेस गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंको स्वास्थ्यलाई ध्यानमा राख्दै उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ ।

अदालतले उनका अंगरक्षक दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उक्त प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । तीनकुने क्षेत्रमा तोडफोड र आगजनीका घटना भएका थिए । यसअघि, सोही घटनामा राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरा पनि हिरासतमा छन् ।