काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सीपी) गौतम आज रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन्।
सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् । अवकाशमा जान लागेका गौतमको आजै दिउँसो ३ बजे सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइ समेत गर्दैछ ।
उनी पछिल्लो समय सीमा सुरक्षा विभागको प्रमुखको रुपमा कार्यरत थिए । २०५२ वैशाख ३ मा उनी नेपाल आर्मीमा भर्ना भएका थिए । सशस्त्र प्रहरी गठन हुने भएपछि उनी २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएर आएका थिए ।
उनी अवकाशमा जाने भएसँगै सशस्त्रमा रिक्त हुने एक एआईजी पदमा बढुवा हुने बाटो खुलेको छ । त्यसका लागि केही समय अघि मात्रै डीआईजीको पदावधि थपिएका डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी प्रतिस्पर्धामा छन् ।
उनीहरुसँगै सि. सं १ का टोलीहरु पनि एआईजीको प्रतिस्पर्धामा छन् । रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति भावि सशस्त्र प्रहरी प्रमुखको मुख्य दाबेदार हुने भएकाले पनि यो बढुवा निकै पेचिलो हुने देखिन्छ ।




































