काठमाडौं । आफू कानुन मन्त्रालयको उपसचिव हुँ भनी विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिला त्रिपुरेश्वरबाट पक्राउ परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालयको टोलीले दैलेखको दुनेचौर गाउँपालिका–५ स्थायी बासिन्दा तथा हाल ललितपुर महानगरपालिका–२५ बसोबास गर्ने ४० वर्षीया जानकी न्यौपानेलाई पक्राउ गरेको हो ।
न्यौपानेले पीडितहरूलाई आफू हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै विमानस्थलमा हुने विभिन्न ठेक्कामा काम दिलाइदिने प्रलोभन दिएकी थिइन् ।
सोही बहानामा उनले राजस्व र धरौटी रकमको नाममा एक जना पीडितबाट ७ लाख ६० हजार ८ सय असुलेकी थिइन् ।
त्यस्तै, अन्य दुई व्यक्तिलाई पनि अनुदान तथा ठेक्का दिलाइदिने भन्दै रकम लिइसकेकी थिइन् भने बाँकी रकम माग्दै गर्दा प्रहरीको निगरानीमा परेकी हुन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वरबाट उनलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाएको छ ।




































