तरकारी खेतीबाट आत्मनिर्भर बन्दै एक महिला

गोरखा । यहाँको गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिन्छिन । उनले कोइरालाटोलमा सात रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी छन् ।

मौसमी तरकारीसँगै प्याजको बेर्ना बिक्री गरी वार्षिक रु एक लाख बढी आम्दानी लिने गरेको कोइराला बताउनुहुन्छ । “११ वर्षअघि पाखो बारी भाडामा लिएर तरकारीखेती सुरु गरेकी हुँ । अहिले पनि वार्षिक १० हजार भाडा तिर्छु”, उनले भनिन् । तरकारीखेतीमा सिँचाइ अभाव र बाँदरले सताउने गरे पनि आफ्नो कर्म नछाडेको उनि बताउछिन् ।

मीनाको श्रीमान् दुबईमा वैदेशिक रोजगारीमा हुनुहुन्छ । जेठी छोरी पनि दुबईमै नर्सिङ पेसामा छिन् । “कान्छी छोरी काठमाडौँ डेन्टल पढ्छे । छोरो यो वर्ष कक्षा ९ मा पुग्यो”, उनले भनिन्, “मेरो कमाइले छोरा छोरी पढाउन, घरखर्च चलाउन पुग्छ । जे होस् अहिलेसम्म अरूसँग हात फैलाउनु परेको छैन ।” यतिखेर उनको बारीमा अहिले ढकमक्क बन्दागोभी छ । काँक्रो, करेला र खुर्सानी गोड्ने बेला भएको छ । “बन्दापछि काँक्रो, करेलालगायत अन्य मौसमी तरकारीहरुको ‘सिजन’ सुरु हुन्छ । त्यसपछि प्याजको बीउ तयार गर्छु”, उनि भन्छन्, “विषादी प्रयोग गर्दिनँ ।”

उनका अनुसार ११ वर्षअघि गाउँमा व्यावसायिक तरकारीखेती गर्ने चलन थिएन । जब उनले तरकारी खेती गरेर आम्दानी लिन थाले, त्यसपछि अरुले उनकै सिको गरे । उनि महिलाहरुले पनि केही न केही पेसा वा व्यवसाय गरे श्रीमान्को कमाइमा निर्भर हुनु नपर्ने बताउछन् । उनले हालसम्म कुनै कृषि फार्म दर्ता गरी सरकारी अनुदान लिएका छैनन् । उनि भन्छिन् , “म आफूले जे जति सक्छु गर्छु । अरूले अनुदान देलान्, साथ, सहयोग गर्लान् भनेर आशा लाग्दैन ।” उनको तरकारी बिक्री गर्ने मुख्य बजार गोरखा सदरमुकाम हो ।

व्यापारीहरु तरकारी लिन मीनाको बारीमै पुग्छन् । पहिलेजस्तो बजारको समस्या नभएको उनको अनुभव छ । गोरखा नगरपालिका–७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले कोइराला जस्ता परिश्रमी महिलालाई प्रोत्साहन गर्ने गरेको बताए ।