खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका बाँसजन्य सामग्री प्रवर्द्धनमा जुटेको छ । बाँसबाट बन्ने विभिन्न सामग्री निर्माण गरी त्यसको बजारीकरण गरेर उद्यमीको आय आर्जन वृद्धि गर्ने योजनाका साथ नगरपालिका जुटेको हो ।
उद्यमीको सीप विकासका लागि तालिम सञ्चालन गरेको छ । चालु आर्थिक वर्षमा दुई चरणमा तालिम सञ्चालन भएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । बाँसजन्य सामग्रीको माग बढिरहेकाले उद्यमीको संख्या पनि बढाउनुपर्ने भएकाले तालिमको आयोजना गरिएको भट्टराईको भनाइ छ । ‘बाँसजन्य सामग्रीको माग देशका विभिन्न ठाउँदेखि अमेरिकासम्मबाट आएको छ,’ उनले भने, ‘त्यसैले उद्यमीको संख्या नबढाई माग पूरा गर्न सकिँदैन ।’
पहिलो चरणको तालिममा ९ लाख र दोस्रो चरणको तालिम १२ लाख रुपैयाँ खर्चेर सञ्चालन गरिएको नगरपालिकाकी उद्यम विकास सहजकर्ता शान्ता आचार्यले सुनाइन् । पहिलो चरण मङ्सिर २८ देखि तीन महिनाको तालिममा ३० जना र चैत २१ देखि भएको पुनर्ताजगी तालिममा १५ जना सहभागी रहेको आचार्यले बताइन् । तालिमका लागि भारतबाट एक जना र मोरङबाट एक जना प्रशिक्षक बोलाइएको थियो ।Municipalities promoting bamboo productsबाँस प्रशोधन केन्द्रमा बाँसका सामान बनाउँदै सहभागी ।
दुई प्रशिक्षकका लागि नेदरल्यान्डको सहयोगमा सञ्चालित भक्तपुरस्थित चाँगुनारायण फाउन्डेसनले मासिक जनही ७५ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराएको आचार्यले बताइन् । यसबाहेक चोया काड्ने मेसिनसमेत चाँगुनारायण फाउन्डेसनले उपलब्ध गराउने आचार्यले जनाइन् । त्यस्तै प्रतिदिन पाँच सय रुपैयाँका दरले सहभागीहरूलाई खाजा भत्ता नगरपालिकाले उपलब्ध गराएको थियो ।
बाँसजन्य सामग्री प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको मुख्य आयोजनामा गत फागुन १५, १६ र १७ गते प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गरिएको थियो, जसमा देशभरिका बाँससँग सम्बन्धित ७ सय १३ सहभागी थिए ।
नगरपालिकाले बाँसबाट बनाइएका फर्निचरहरू उपयोग गर्न थालेको छ । नगरप्रमुख, उपप्रमुखको कार्यकक्षमा बाँसबाट बनाइएका फर्निचर राखिएको छ । नगरमा उत्पादन भएको बाँसजन्य सामग्री प्रवर्द्धनका लागि नगरपालिका आफैंले उपयोग गर्न सुरु गरेको भट्टराईले बताए ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रहेको यो जिल्लाकै सबैभन्दा ठूलो (पन्ध्र वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसबाट बनाइएका फर्निचर उपयोग गर्न थालेको छ । नगरप्रमुख भट्टराई तथा उपप्रमुख विशन राई तथा शाखा प्रमुखहरुको कार्यकक्षमा बाँसबाट बनाइएका फर्निचर राखिएका छन् ।
स्थानीय स्रोत तथा साधन उपयोग गरी निर्माण गरिएका सामग्रीको उपयोग गर्न नीतिगत रूपमा निर्णय गरी त्यसलाई कार्यान्वयन गर्न माग गर्दै उच्चपदस्थ छजना व्यक्तिलाई बाँसबाट बनाइएका कुर्सी र टेबल उपहार दिने तयारी गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई बाँसबाट बनाइएका एउटा कुर्सी र टेबल उपहार दिने तयारी गरिएको छ ।




































