माओवादीमा विद्रोह थालेका जनार्दन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य जनार्दन शर्माले महाधिवेशन संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर अरूतिर लाग्न खोजेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्ने निर्णय गरिसकेको छ । त्यो प्रक्रियाप्रति शर्मा असहमत छन् । पार्टी एकीकरणसँगै माओवादी नाम नराख्ने सैद्धान्तिक सहमति पनि भइसकेको छ । उनले भने, ‘‘म त यही पार्टी, माओवादी केन्द्रलाई पुनर्गठन गर्ने र यसैलाई सम्हालेर बस्ने हो ।” शर्मा लामो समयदेखि माओवादीमा अन्तरसंघर्ष गर्दै आएका थिए । उनको भनाइमा, अन्य साना दलसँग एकता गर्दै संयोजक प्रचण्ड माओवादी छाड्दै अन्य दलमा समाहित हुन लागेपछि पार्टी पुनर्गठन गर्नुपर्ने परिस्थिति बनेको हो । शर्माले भने, “संयोजकज्यू माओवादी केन्द्र छाडेर अन्य दलमा समाहित हुन जानु भएको हो ।’’

गत मंसिरमा भएको केन्द्रीय समिति बैठकमा प्रतिस्पर्धात्मक ढंगबाट अघि बढ्ने सर्त राखी केन्द्रीय समिति भंग गरेर महाधिवेशनका तयारीमा जुटेका संयोजक प्रचण्डले महाधिवेशन छल्न खोजेको उनको आरोप छ । उनले भने, “संयोजकज्यू महाधिवेशन छल्न खोज्दै हुनुहुन्छ । एकता गर्नुहुन्न, पार्टी पुनर्गठन गरेर मात्र एकताको गृहकार्यमा जुट्दा उद्देश्य प्राप्त हुन्छ ।”

माओवादी केन्द्रको लामो इतिहास संयोजक प्रचण्डले विसर्जन गर्न खोजेको पनि उनले आरोप लगाए । उनले भने, “नेकपा माओवादीको छुट्टै इतिहास छ । जनयुद्धकालदेखि गुज्रिएको पार्टीको इतिहास फरक छ । हामीले यस्ता महाधिवेशन यसअघि पनि झेलेकै हौँ । संयोजकज्यू पहिले पनि यस्तै नीति अवलम्बन गर्नुहुन्थ्यो । उहाँ यस्ता कार्यमा निक्कै प्रखर हुनुहुन्छ ।” शर्माले थपे, “पार्टी केन्द्रीय समितिले दुई पटक मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । विचारको वहस र प्रतिस्पर्धात्मक नेतृत्व निर्माणको प्रक्रिया अवरुद्ध पार्दै गरिएको यो एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास हो ।”

माओवादी विचार र पहिचानलाई परित्याग गर्दै बहुदलीय जनवादका आधारभूत मान्यतासँग आत्मसमर्पण गर्ने प्रवृत्तिले माओवादी केन्द्रको आधारभूत चरित्र पूर्ण रूपमा समाप्त पार्ने उनको ठहर छ । उनका अनुसार, एकताले देशको राजनीतिक संकट समाधान गर्नेभन्दा पनि विगतदेखि कम्युनिस्ट आन्दोलनले भोग्दै आएको विघटनको इतिहास दोहोर्‍याउने छ । शर्माले भने, “पार्टीको आधारस्तम्भका रूपमा रहेका सहिद, बेपत्ता, घाइते, योद्धाहरूको सपना, त्याग र आकांक्षालाई बेवास्ता गर्ने यो प्रक्रिया वास्तविक समाधान होइन, कम्युनिस्ट आन्दोलनको विघटनको बाटो रोजिएको हो ।”

उनी एकीकृत समाजवादीसँग एकता गरी पार्टीको नाम फेर्ने पक्षमा छैनन् । उनले भने, “एकता प्रक्रिया तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्नु अहिलेको आवश्यकता हो ।” शर्माले भने, “एकताले पार्टीलाई विसर्जन गर्नेछ । जेनजी आन्दोलनपछि उठाइएका एजेन्डा होइनन् यी । मैले पहिले नै भनेको थिएँ, अहिलेको नयाँ पुस्तालाई नेतृत्व दिऊँ । हामी ३०–४० वर्षदेखि एउटै अनुहार हेर्दै आएका छौँ, नयाँ पुस्ताका लागि दिक्क लागिसक्यो । देश र राष्ट्रको समस्या समाधान गर्ने गरी राजनीति, पार्टी र आन्दोलनको पुनर्संरचना गरौँ । संविधान त लेख्यौँ, तर जनताका जनजीवनका प्रश्नमा हाम्रो ध्यान पुगेन ।”

जेनजी आन्दोलनले आफूले उठाएका एजेन्डा पुष्टि गरेको उनले दाबी गरे । उनी ‘पार्टी फुटाएर साना–साना टुक्रा जोडेर देशको राजनीतिक समस्या समाधान नहुने’ जिकिर गर्छन् । उनको भनाइमा, जेनजी आन्दोलनको भावनाअनुसार पार्टीहरू रूपान्तरण हुनुपर्छ, नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने कुराको ठीकविपरीत भइरहेको छ । “वामपन्थीहरू धेरै टुक्रामा बाँडिएका बेला बृहत् वाम ध्रुवीकरणको आवश्यकता हो । बृहत् गरौँ, किन टुर्क्याउने भन्ने मेरो भनाइ हो,” उनले भने ।

माओवादीले गत वर्ष मंसिर मसान्तभित्र महाधिवेशन सक्ने निर्णय गरेको थियो । त्यतिखेर पनि शर्माको माग थियो, व्यापक बहसका बीचबाट विचार निर्माण र प्रतिस्पर्धात्मक ढंगले नेतृत्व निर्माण गर्नुपर्छ भन्ने । शर्मा भन्छन्, ‘‘त्यो माग स्वीकार्दै मंसिरमा महाधिवेशन गर्ने कुरा भएको थियो । तर पछिल्लो समय त्यसलाई टार्ने काम भयो । जेनजी आन्दोलनपछि फेरि महाधिवेशन गर्ने निर्णय गरियो ।

मैले भनेको थिएँ– अध्यक्ष कमरेडले महाधिवेशन गर्नुहुन्न भनेर मैले स्पष्ट बोलेको छु । महाधिवेशन छल्न संयोजकले अहिले फेरि छल गर्नुभएको हो ।” माओवादी केन्द्रले अन्य छरिएका दलसँग गर्न खोजेको एकतामा आफू नजाने स्पष्ट पारे । शर्मा भन्छन्, “पार्टी टुक्राएर होइन, सिंगो एकता गरेर अघि बढ्नुपर्छ । आज जहाँ पार्टी छ, म त्यही छु । यही पार्टीलाई पुनर्गठन गर्ने प्रयास गर्छु । पहिला यो कुरा पूरा गरौं, नभए भोलि सोचौँला– अहिले केही सोचेको छैन ।”