काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको अगुवाइमा हुन लागेको वाम एकताप्रति विमति राखेका नेताहरू छुट्टै ध्रुवीकरणको प्रयासमा लागेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी संस्थापन पक्षबीच अन्य साना दल तथा समूहलाई समेटेर एकता गर्ने सहमति भएपछि यी दुबै दल विभाजित भइसकेका छन्।माओवादीमा नेताहरू जनार्दन शर्मा र राम कार्कीको समूह, एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल, महासचिव भुसाल, रामकुमारी झाँक्री लगायतका समूह एकता प्रक्रियामा सामेल छैनन् । उनीहरूले एकता प्रक्रियामा सामेल नहुने स्पष्ट पार्दै छुट्टै भेला तथा छलफल चलाइरहेका छन् भने ध्रुवीकरणको प्रयासमा छन् ।
एकीकृत समाजवादीकी तत्कालीन सचिवसमेत रहेकी नेत्री झाँक्रीसहितको टोली एमालेप्रति लचक भए पनि त्यसबाहेकका नेताहरू र माओवादीका शर्मा, कार्कीलगायतका टिमबीच ध्रुवीकरणको प्रयास सुरु भएको हो ।
नेताहरूका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसहितको ध्रुवीकरण हुने सम्भवाना छ । पाका पुस्ताबाट नेतृत्वमा हस्तान्तरणको वकालत गर्दै आएका दोस्रो तहका यी नेताहरूले पहिला आफू रूपान्तरण भएर बृहत् ध्रुवीकरणका निम्ति लागिपर्ने तयारी गरेका छन् ।
पुनर्गठन र ध्रुवीकरणकै प्रारम्भवस्वरुप मंगलबार माओवादी छाडेका शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् । शर्माले माओवादीको नेतृत्वमा भएको दशवर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावनाविपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियामा सामेल नभएको स्पष्ट पारे। उनले विगतको नेतृत्वका खराब आचरण र क्रियाकलापमा आफूहरूले पनि सघाएकोमा आत्मालोचना गर्दै अब सच्चिएर अघि बढ्ने प्रतिबद्धतासहित अभियान थालेको बताए । ‘विगतका हाम्रा कमजोरी स्विकार्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौँ’, ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास सुरु भएको छ।’
शर्माले पार्टीको मूल नेतृत्वसँग लामो समयदेखि संघर्ष गर्दै आएका थिए। अहिले उनलाई माओवादी नेताहरू राम कार्की, सुदन किराती, अञ्जना विशुंखे लगायतले साथ दिएका छन् ।
नेता किरातीले अब आफूहरू यही ( प्रगतिशील अभियान) बाटोबाट अघि बढ्ने बताए। ‘आज हाम्रा अगुवा नेताहरूले लाइट बालेर बाटो देखाउनुभएको छ। अब हामी यही बाटोबाट अघि बढ्छौँ’, उनले भने, ‘अहिले वाम आन्दोलन दुईवटा चुलीबाट विसर्जनको बाटोमा छ। एउटा ओली चुली र एउट प्रचण्ड चुलीबाट ओरालो लागिरहेको छ ।
अब हामी विचलनमा परेको आन्दोलनलाई प्रगतिशील र राष्ट्रिय एकता गर्नका लागि अभियान चलाउने बाटोमा हिँड्यौँ।’ अब अन्य प्रगतिशील दल तथा नेताहरूसँग पनि जोडिएर अघि बढ्ने नेता किरातीले बताए। त्यसका लागि एकीकृत समाजवादीका असन्तुष्ट समूहदेखि विप्लव लगायतसँग संवाद सुरु भएको उनले स्पष्ट पारे। ‘एकीकृत समाजवादीका विद्रोही पक्ष, विप्लवलगयत सबैसँग संवाद गर्दै छौँ’, उनले भने, ‘हामी एकदम ठूलो मन र छाती लिएर अघि बढेका छौँ। देशका निम्ति अघि बढेपछि भँगेरे छातीले हुँदैन ।
हामी यो देशका जसले गरिबी, अशिक्षा, भ्रष्टाचारको अन्त्य गर्न चाहन्छ, ती सबैसँग मिलेर अघि बढ्छौँ।’ एकीकृत समाजवादीको विद्रोही पक्षले पनि बुधबार पत्रकार सम्मेलनमार्फत विशेष घोषणा गर्दै छ। पृथ्वीहल त्रिपुरेश्वरमा बिहान ११ बजे हुने पत्रकार सम्मेलनमार्फत विशेष घोषणा गर्न लागेको नेता दामोदर अर्यालले जानकारी दिए । पत्रकार सम्मेलनमा राजधानीमा उपलब्ध पार्टीका सबै नेता कार्यकर्तालाई समेत बोलाइएको छ।
असन्तुष्ट समूहकै नेता धर्मनाथ निरौलाले रूपान्तरण ठिक वेला आएको निष्कर्षका साथ आफूहरू त्यसका लागि लागिपरेको बताए। रूपान्तरणसँगै ध्रुवीकरणका लागि माओवादीका असन्तुष्ट नेताहरू र विप्लव नेकपासँग संवाद भइरहेको बताए। नेता निरौलाको भनाइः– जसले एकता गर्नुभएको उहाँहरूमाथि नै प्रश्न उठेको छ। उहाँहरूले काण्डैकाण्डको भारी बोकिराख्नुभएको छ । दाग र धब्बा छ। कम्युनिष्ट पार्टीको नेता भए पनि सामन्तवादको रजौटाजस्तो लावालस्कर लगाएर हिँड्नुहुन्छ। जनलाई हेप्नुहुन्छ। श्रमलाई सम्मान गर्नुहुन्न ।
वित्तीय पुँजीवादको दलाली गर्नुहुन्छ। यस्ताहरूले गर्न लाग्नुभएको एकता अर्थहीन छ। त्यसकारण अहिले रूपान्तरणको ठिक वला हो भन्ने हाम्रो निष्कर्ष हो। यसका लागि उहाँहरू (जनार्दन, विप्लवलगायत)सँग पनि संवाद चलिराख्या छ। तर पहिला हामी आफ्नो दृष्टिकोण सार्वजनिक गर्छौँ। भोलि पत्रकार सम्मेलनमा यी सबै कुरा आउँछन् । अनि हाम्रो त्यो रूपान्तरण र अग्रगामी कार्यक्रम, दृष्किोणसँग मिल्नेसँग एकता पनि गर्छौँ। विप्लव नेकपाका नेता सन्तोष बुढामगरले पनि माओवादी र नेकपा एसका असन्तुष्ट पक्षसँग संवाद भइरहेको पुष्टि गरे। उनले एउटै पार्टी बनाउने प्रयास हुने, यदि त्यो विफल भए मोर्चाबन्दी गरेर अघि बढ्ने बताए ।
‘हो, उहाँहरू (जनार्दन, घनश्यामलगायत) सँग छलफल चलिरहेको छ’, उनले भने, ‘भएसम्म एउटै पार्टी बनाएर, होइन भने पनि मोर्चाबन्दी गरेर जाने हो।’ पहिला माओवादीसँगै पार्टी एकताका लागि तयार भए पनि पछि बिच्किएका विप्लवले अहिले आफ्नै ‘कम्युनिष्ट पार्टी नेपाल’ दर्ता गराइसकेका छन् ।
त्यसो त अहिले प्रचण्ड र माधव नेपालको अगुवाइमा हुन लागेको एकता प्रक्रियामा विमति राख्ने यी नेताका समूहबीच केही समयदेखि नै निकटता बढेको थियो।वैचारिक बहसको नाममा उनीहरूबीच छलफल र सम्पर्क हुँदै आएको थियो। उता माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित विभिन्न ९ वाम राजनीतिक दल तथा समूहले २० गते एकता घोषणा गर्दै छन् ।
उनीहरूबीच १६ कात्तिकमै एकताको सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ। एकता प्रक्रियामा माओवादी र नेकपा एकीकृत समाजवादीसहित महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी, सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी, नेकपा विप्लवबाट विभाजित चिरण पुन नेतृत्वको समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको ने.क.पा साम्यवादीबीच एकता हुन लागेको हो ।
सोही एकतामा समाहित हुने गरी गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादीमै फर्किसकेको छ । प्रचण्डसँग सोमबार तीनबुँदे सहमति गरेर किराती ‘पुरानै घर’ माओवादीमा फर्किएका हुन् । किराती नेतृत्वको पार्टीसहित नौ दल तथा समूह एक हुन लागेका हुन्।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार




































