काठमाडौं । अब्बल अभिनयका लागि चिनिँदै आएका अभिनेता कामेश्वर चौरासिया सत्र वर्ष लामो अभिनय यात्रापछि पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका छन्। मधेसको कथामा आधारित चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ मा उनी प्रमुख पात्रको रूपमा देखिने भएका हुन्।
पर्साबाट कलाकार बन्ने सपना बोकेर राजधानी आएका चौरासियाले सन् २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मा ‘हरिया’ पात्रमार्फत व्यापक पहिचान हासिल गरेका थिए । त्यस फिल्मपछि पनि उनको अभिनय प्रशंसा योग्य रह्यो, तर मुख्य भूमिकाको अवसर भने पाउन सकेका थिएनन्।
“मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ। यो मेरो सङ्घर्षको फल हो,” चौरासियाले भने, “मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो। म पात्रलाई जीवन्त बनाउन सक्दो प्रयास गरेको छु।”
अभिनेता चौरासियाको अभिनय यात्रा निकै संघर्षपूर्ण रह्यो। कलाकारिताको सपनामा डुब्दै उनले पढाइलाई दोस्रो प्राथमिकतामा राखे। काठमाडौँ आएपछि बेरोजगारी, आर्थिक कठिनाइ र पारिवारिक दबाबजस्ता चुनौतीसँग लड्दै उनले अभिनय यात्रालाई निरन्तरता दिए । विदेश जाने दबाबका बीच उनले आफ्नो शैक्षिक प्रमाणपत्र समेत नष्ट गर्दै नेपालमै संघर्ष गर्ने निर्णय गरेका थिए ।
भारतको दिल्लीसम्म पुगेर अभिनय सिक्ने प्रयास असफल भएपछि उनले ‘एक्टर्स स्टुडियो’ बाट औपचारिक अभिनय प्रशिक्षण लिए र रङ्गमञ्चमार्फत कलाकारितामा प्रवेश गरे। ‘रेशम फिलिली’ पछि उनलाई धेरै प्रस्ताव आए पनि तीमध्ये अधिकांश सहायक भूमिकाका मात्र थिए । मुख्य पात्र बन्ने लक्ष्यका कारण केही प्रस्ताव अस्वीकार गर्दा उनको करियर केही समय सुस्त भयो।
त्यस अवधिमा उनले माछा बेच्ने व्यवसाय समेत गरे, तर त्यो लामो समय टिकेन । पछि ‘फेरि रेशम फिलिली’ मा अभिनय गर्दै उनी पुनः पर्दामा फर्किए। त्यसपछि निर्माता विनोद पौडेलले उनलाई पहिलो पटक मुख्य पात्रको प्रस्ताव गरे, जुन प्रस्ताव उनले जीवनकै महत्वपूर्ण मोडका रूपमा स्वीकारे।
“मैले जीवनभर जसका लागि सङ्घर्ष गरेँ, त्यो मौका अब पाएको छु। त्यो क्षण शब्दमा वर्णन गर्न सक्दिन,” उनले भने, “यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ।”
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ मा उनले परिवारप्रति जिम्मेवार र सुरक्षात्मक पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्ममा किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौला लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
चलचित्रमा निर्देशन सुशान्त गौतम, लेखन मुकेश खनाल, छायाङ्कन शरद महतो र सम्पादन मदन घिमिरेले गरेका छन् । ‘अभिमन्यु : च्याप्टर–१’ मङ्सिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।






























