काठमाडौं । जेनजी विद्रोह र त्यसपछिको विनाश पृष्ठभूमिमा गठित अन्तरिम सरकारका पात्रहरू सिंहदरबारको कुर्सीमा बसेको ७४ दिन भएको छ । त्यही विद्रोह जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री छन् । हाम्रो संविधानमा पूर्वप्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशलाई प्रधानमन्त्री वा मन्त्री बन्न प्रतिबन्ध लगाएको छ ।
तर, संविधानविपरीत संविधान व्याख्या गर्ने र रिट दर्ता गर्ने पात्रहरू प्रधानमन्त्री–मन्त्रीको कुर्सीमा छन् । ल यतिखेर प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र उनकै हातबाट भएको प्रतिनिधिसभा विघटन गरी असंवैधानिक भएको दाबी गर्दै धेरैवटा रिट सर्वोच्च अदालतमा विचाराधीन छन् ।
जेनजी विध्वंसात्मक प्रदर्शनीदेखि राजनीतिक वृत्तले उनको नियुक्तिमा गम्भीर आपत्ति जनाएको छैन । यही सरकारमा सर्वोच्च अदालतका न्यायाधीश अलिकुमार सिन्हा मन्त्री छन् । संविधानले प्रतिबन्धित नियुक्त भए पनि उनी त्यति विवादमा तानिएका छैनन् । संविधान र कानुनले प्रतिबन्ध नलगाएका अधिवक्ता ओमप्रकाश अर्याललाई भने निकै विवादमा तान्ने प्रयास गरिएको छ ।
जेनजी प्रदर्शनका बखत खालि स्वयंसेवक मात्र बनेका सुधन गुरुङ २४ गतेको विनाशले देश सरकारविहीन अवस्थामा पुगेपछि वार्ताकारको रूपमा देखिए, आश्चर्यजनक रुपमा । एउटा गैरसरकारी संस्था मात्र चलाउने पात्र आश्चर्यजनक ढंगले शासकीय शृंखलामा जोडिएका छन् । उमेरका हिसाबले सुधन गुरुङ जेनजी समूहभित्र पर्दैनन् । तर, आन्दोलनका तर्फबाट वार्ता र सम्झौताको नेतृत्व गरिरहेका छन् । खासमा अझसम्म उनको कुनै पृष्ठभूमि सार्वजनिक भएको छैन, खालि एउटा गैरसरकारी संस्थामा क्रियाशीलबाहेक ।
तर, उनै गुरुङ गृहमन्त्री अर्यालविरुद्ध देखिएका छन् । अर्यालको राजीनामा मागिरहेका छन् । बारम्बार गृहमन्त्री अर्यालको विरोधमा किन छन्, उनी ?सुधन गुरुङका अनुसार, उनले भदौ २५ गते नेपाल सेनाले डाकेको वार्तामा जाँदा पहिलोपटक ओमप्रकाश अर्याललाई भेटेका हुन् । त्यसबेला रक्षा विभागको समूहले अर्याललाई वार्तामा लगेको थियो । वार्तास्थलमा पुगेसँगै अर्यालले जेनजी अगुवाहरूसँग सम्पर्क बढाएका थिए । रक्षा मन्त्रालयले अर्याललाई संविधानविद् भनी जेनजीहरूका बीचमा परिचय गराएको थियो । जेनजी प्रदर्शनीका बेला सडकमा पानी बाँड्दै गरेका सुधनसहित जेनजीका प्रतिनिधिहरू ‘संविधानविद्’ अर्यालसँग भरोसा गर्न थालेका थिए ।
अर्याल लोकमानसिंह कार्कीलाई पदमुक्त गराउनेदेखि गिरिबन्धुको मुद्दा अघि बढाएका वकिलका रुपमा चिनिन्थे । “भर्खर आन्दोलन सफल भएको थियो । नयाँ सरकार गठन हुँदै गर्दा अनुभवी र विद्वान व्यक्तिलाई भेट्यौँ भनेर खुसी भयौँ,” सुधन भने, “तर, ऊ त खराब मान्छे पो रहेछ । सल्लाह दिन आएको भनिएको व्यक्ति एकाएक प्रधानमन्त्री सिफारिस गर्न पो थाल्यो ।” अर्यालले नै सुशीला कार्कीको नाम जेनजीहरूबीच पुर्याएको बताउँछन् ।
“प्रधानन्यायाधीश भइसकेको, संविधान र कानुनको ज्ञाता हो सुशीला कार्की, कांग्रेस–एमाले–माओवादी सबै मिलेर महाभियोग लगाएका हुन्, उहाँजत्तिको व्यक्ति प्रधानमन्त्रीका लागि भेटिन्न भनी उहाँले नै भनेको हो,” सुधनले भने ।
त्यसबेला कांग्रेस र माओवादी महाभियोगको पक्षमा र एमाले विपक्षमा रहेको विषय पनि सुधनले पछि थाहा पाएका छन् । त्यो विषय ढाँटेपछि नै अर्यालमाथि शंका उब्जिएको सुधनको भनाइ छ । “पछि त जेनजी प्रतिनिधिले वार्ताका लागि सिफारिस नै नगरी राष्ट्रपतिसँगको वार्तामा देखियो । मलाई जेनजी भाइबहिनीहरूले वार्ता गर्न पठाएकोले मैले कडा अडान राखेँ, ‘यो संविधान खारेज गर्नुपर्छ’ भनेर भाइबहिनीको मेसेज आएको थियो,” सुधनले भने, “त्यहाँ कडा अडान राखेर आएपछि उसले नै मलाई फसायो ।”
अर्यालले फसाएको विषय के थियो त ? सुधन संविधान र प्रत्यक्ष निर्वाचित कार्यकारीको अडानमा उनले नै तर्क गरेर पछि हटाएकामा रुष्ट छन् । “प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनेगरी यो संविधान खारेज गर्ने जेनजीको ‘बटम लाइन’ थियो । त्यसमा अर्यालले ‘यो काम राष्ट्रपतिले गर्ने होइन, राष्ट्रपति कार्यकारी होइन; हाम्रो प्रधानमन्त्री बनाएपछि सबै काम चाहेजस्तै हुन्छ’ भने” सुधनले गुनासोसहित भने, “हामीले विश्वास गर्यौँ, तर विश्वासघात भयो ।” त्यसक्रममा सुधनले अधिवक्ता रमण कर्णलाई पनि लगेका थिए ।
तर, अर्यालले नै रमण कर्ण ‘उपयुक्त पात्र होइन’ भनी कन्भिन्स गरिदिएको गुरुङको आरोप छ । “मैले मेरा वकिल रमण कर्णलाई पनि लगेको थिएँ । तर, अर्यालले नै ‘उहाँ कर्पोरेट लयर हो, संवैधानिक विषयको ज्ञाता म हो’ भनेर मलाई नै कन्भिन्स गरे,” सुधनले भने, “हामीले मान्यौँ । सुशीला कार्की प्रधानमन्त्री भएपछि सहिदहरूको लास व्यवस्थापन गर्नुपर्थ्यो, हामी त्यता लाग्यौँ । उनी त मन्त्री बन्ने दौडमा लागेर बसिसकेछन् ।” आफूले प्रधानमन्त्री भएपछि सुशीला कार्कीलाई संविधान खारेज गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था गर्न आग्रह गरेपछि बल्ल अर्याललाई विश्वास गरेर धोका खाएको थाहा पाएका थिए ।
शवको दाह संस्कारदेखि परिवारको जिम्मा लगाउँदा आफ्नो खल्तीबाट करिब पाँच लाख खर्च गरेका सुधन आफूले नचाहेको व्यक्ति गृहमन्त्री बनेर कुनै निर्णय नगरेपछि आक्रोशित भएका थिए । “सहिद परिवार लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुग्यौँ । प्रधानमन्त्रीसँग भेट भएन । मैले ‘गृहमन्त्री तत्काल हटाऊ, हामीलाई मान्य छैन’ भनेँ । सहिद परिवार आक्रोशित भएर के–के भन्यो,” सुधनले भने, “तर, मिडियामा त ‘मैले नै सुशीला कार्कीलाई थुतेर निकाल्छु’ भनेछ भनी आयो । खासमा मैले ओमप्रकाश अर्याललाई भनेको थिएँ ।” त्यसबेलादेखि उनी गृहमन्त्रीसँग थप आक्रोशित बनिसकेका छन् ।
त्यसयता उनले गृहमन्त्री अर्याललाई राजीनामा देऊ भन्न छाडेका छैनन् । “मन्त्री भएपछि उनले केपी ओली, रमेश लेखक, महेश बस्नेतलाई सुरक्षा दिँदै जेनजी भाइबहिनीहरूलाई पक्राउ गर्न थाले,” सुधनले भने, “हुँदा–हुँदा महेश बस्नेतलाई स्कर्टिङ सुविधा दिन्छ, हाम्रा भाइबहिनीलाई मुद्दा लाउँछ । विराटनगरमा त महेश बस्नेतलाई रातो रङ छ्याप्नेहरूलाई पक्राउ गरेछ ।” उनले एमाले र पुराना दलले आफूलाई ‘टार्गेट’ गरिरहेको भन्दै सुरक्षा आवश्यक भए पनि आफू भने ‘रिस्क’ मोलेर हिँडिरहेको बताए ।
अर्यालकै कारण जेनजी आन्दोलनपछि आएको सरकार पहिलेकै सरकार परिवर्तनजस्तो मात्र भएको उनको बुझाइ छ । “संविधान संशोधन हुँदैन, प्रत्यक्ष कार्यकारी हुँदैन, जेनजीको माग केही पनि सम्बोधन हुँदैन, अनि सरकार परिवर्तनबाहेक केही भयो त ?,” सुधनले आक्रोश पोख्दै भने, “यो सरकार यसरी असफल बन्नुमा अर्यालकै हात छ । यिनीहरूले यसरी काम गर्दै छन्, मानौँ केही पनि भएकै छैन ।
जेनजी आन्दोलन यिनीरूलाई मन्त्री बनाउन मात्र थियो ।” संवैधानिक सर्वोच्चता र विधिको शासनका पक्षधर अर्याल बदलिएकै हुन् त ? जेनजी सरकारले गृह मन्त्रालयको नेतृत्वमा राखेका छन्, अधिवक्ता ओमप्रकाश अर्याल । पछिल्लो कार्यसमितिमा संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष अर्याल थुप्रै पीआईएलमार्फत चर्चित भएका अधिवक्ता हुन् । कुनै बेला एमालेकै कार्यकर्ता अर्यालले केपी ओली नेतृत्वको सरकारले अध्यादेश जारी गरी तीनजना उपस्थित भएर पनि गणपूरक संख्या पुगेको मानिने अध्यादेशविरुद्ध हालेको रिटमा भएको फैसलाको पूर्णपाठ समेत आइसकेको छैन ।
जेनजी आन्दोलनको सहयोगले उनी राजनीतिक दलको सदस्य र निर्वाचनमा भाग नलिँदै गृहमन्त्री भएका छन् । रिटमा उनले संवैधानिक परिषद्को सदस्य संख्या संविधानले नै किटान गरेकाले त्योभन्दा कम उपस्थितिले संवैधानिक परिषद् नहुने दाबी लिएका छन् । संविधानको धारा २८४(१) मा प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य हुने व्यवस्था छ । तर, आफैँले दाबी गरेको फैसलाको पूर्णपाठ नआउँदै मन्त्री भएका अर्यालसहितको मन्त्रिपरिषद्ले संवैधानिक परिषद्को गणपूरक संख्या परिवर्तन गरी प्रतिनिधिसभा नभएका बखत संसदीय सुनुवाइ नहुने प्रावधान समेत प्रस्ताव गरेको छ ।




































