काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको महाधिवेशन विवाद वारपारको अवस्थामा पुगेको छ। संस्थापन पक्षले जसरी पनि महाधिवेशन धकेल्न चाहँदा इतर समूह भने नेतृत्वमा नयाँ अनुहार लिएर मात्रै आसन्न चुनावमा होमिुनपर्ने अडानमा छ। दुबै पक्ष आ–आफ्नो अडानबाट टसमस नहुनाले ‘महाधिवेशन कहिले, नियमित कि विशेष ?’ भन्ने विवादको समाधानको विन्दु फेला परेको छैन। महिना दिनभन्दा बढी लम्बिएको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका विभिन्न मिति प्रस्ताव भए पनि यसबारे कांग्रेस कुनै निर्णयमा पुग्न सकेन।
अब भने संस्थापन पक्षलाई थप नकुर्ने अवस्थामा इतर समूह पुगेको छ। चुनावअघि भए नियमित महाधिवेशनकै लागि पनि तयार रहेको इतर पक्ष अब भने एकतर्फी रूपमा विशेष महाधिवेशनका लागि अघि बढ्ने तयारीमा छ। संस्थापन पक्षबाट अझै आलटाल गरिए अब भने बहुमत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन आह्वान गरिने इतर समूहका एक केन्द्रीय सदस्य बताउँछन्। ‘अब विशेष महाधिवेशन टार्ने अवस्था छैन’, उनी भन्छन्, ‘जबरजस्ती पेलेर जान खोजियो भने विशेष महाधिवेशनको पक्षमा बहुमत प्रतिनिधिले दर्ता गराएका प्रस्ताव एक्टिभ हुन्छ। त्यसैअनुसार महाधिवेशन पक्षधरले केन्द्रीय समिति समेतका तर्फबाट आह्वान गरेर विशेष महाधिवेशन बोलाउने अवस्था हुन्छ।’
गत असोज अन्तिम साता नै झन्डै ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै पार्टीमा हस्ताक्षर बुझाएका छन्। जब कि कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले मात्रै माग गरे पनि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाए पनि चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा आयोगमा दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाले आफ्नै हस्ताक्षर बुझाएपछि विवाद इतर समूह थप आक्रामक बनेको देखिन्छ। महामन्त्री गगन थापाले विशेष महाधिवेशनबाहेक अब अरू विकल्प नरहेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमा पार्टी पंक्तिसँग भएको कुराकानीको सन्दर्भ जोड्दै उनले विशेष नयाँ नेतृत्वसहित पार्टी चुनावमा जाने दाबी गरेका छन्। यस्तो छ, थापाको स्टाटसः बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो? मैले भने : होइन। साथीहरूले फेरि सोध्नुभयो कसरी? मैले भने : प्रष्ट छ – अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ। यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं।
इतर समूहकै केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पनि विधान अनुसार अब विशेष महाधिवेशन बोलाउनुपर्ने बताउँछन्। उनी केन्द्रीय समितिबाट पेल्न खोजिए बहुमत महाधिवेशन प्रतिनिधि सनाखतका लागि तयार रहेको बताउँछन्। ‘बहुमत प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरिसक्नुभएको छ’, उनले भने, ‘अब उहाँहरू (संस्थापन पक्ष)ले केन्द्रीय समितिमा बहुमत देखाउनुभयो भने महाधिवेशन प्रतिनिधिको बहुमत यतातिर छ। त्यसको सनाखत गर्न पनि सबै प्रतिनिधि तयार हुनुहुन्छ ।
यद्यपि हामी सहमतिबाटै निकास निकालौँ भन्नेमा छौँ तर संस्थापन पक्षका तर्फबाट त्यस्तो व्यवहार देखिएको छैन। त्यस्तो संकेत देखिएको छैन।’महाधिवेशनबारे निर्णय गर्नका लागि ११ मंसिरमा केन्द्रीय समितिको बैठक बोलाइएको छ। उक्त बैठकअघि इतर समूहले १० मंसिरमा छुट्टै भेला बोलाएको छ। उक्त भेलाबाट विशेष महाधिवेशनको निर्णय गरेर त्यसलाई केन्द्रीय समितिमा लैजाने तयारी इतर समूहको छ।
उता कुनै हालतमा विशेष महाधिवेशन नगर्ने, नियमित महाधिवेशनपछि चुनावपछि मात्रै गराउन चाहेको संस्थापन पक्षले अन्तिम अस्त्रका रूपमा केन्द्रीय समितिमा पक्ष र विपक्षमा भोटिङ गराउनेबारे छलफल गरिरहेको छ। संस्थापन पक्षीय पदाधिकारी तथा पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूबीचको पछिल्लो छलफलमा यसबारे छलफल भएको थियो। एक नेताले भने, ‘चुनावअघि कि वैशाखमा महाधिवेशन गर्ने भन्नेमा केन्द्रीय समितिमा भोटिङ गराउनेबारे छलफल भइरहेको छ।’ इतर समूह विशेष महाधिवेशनउन्मुख हुँदा संस्थापन निकटका केन्द्रीय सदस्यहरू पनि निरन्तर छलफलमा छन्। तर उनीहरूबीच चुनावपछि नै महाधिवेशन भन्नेबारे मतैक्य छैन।
यसभित्र दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरू विशेष महाधिवेशनको विपक्षमा भए पनि ‘चुनावअघि नै नियमित महाधिवेशन’ भन्ने पक्षमा छन्। यो समूह मंसिर मसान्तभित्र महाधिवेशनको प्रक्रिया सुरु गरेर पुस मसान्तभित्र सक्नुपर्ने पक्षमा छ। उनीहरूले सोमबार बिहान विशेष महाधिवेशन पक्षलाई समेत भेटेर आफूहरूको ‘लाइन’मा उभिन आग्रह गरेका थिए। त्यसअघि उनीहरूले सभापति देउवा, कावा सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेतासँग छलफल गरेका थिए। महाधिवेशन गरेर निर्वाचनमा जाँदा पार्टी बलियो हुने तर्क यी नेताहरूको छ।




































