काठमाडौं । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा सुदुरपश्चिम रोयल्समाथि ६ विकेटको सानदार जित निकाल्दै लुम्बिनी लायन्स दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बनेको छ ।
मङ्सिर १ देखि २७ सम्म चलेको एनपीएलमा कयौं रेकर्डहरू बने । सर्बाधिक रन कर्ता, सर्वाधिक विकेट टेकर, धेरै क्याच समाउने खेलाडी, उच्च टिम स्कोर लगायत थुप्रै रेकर्डहरू यस सिजनमा कायम भए ।
नेपाल प्रिमियर लिग २०२५/२६ ले क्रिकेट प्रेमीहरूलाई फेरि एकपटक उत्साहित बनाएको छ । यस सिजनमा टिमहरू बीच कडा प्रतिस्पर्धा मात्र देखिएको छैन, उत्कृष्ट व्यक्तिगत प्रदर्शन र रोमाञ्चक क्षणहरूले पनि दर्शकहरूको मन जित्न सफल भएको छ । ब्याटिङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा सिजन अत्यन्तै प्रतिस्पर्धात्मक रह्यो ।
सिजनको सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पोखरा एभेन्जरेसका एडम म्याथ्यु रोसिङ्टनको नाम शीर्ष स्थानमा रह्योे । उनले ७ खेलमा ३२३ रन बनाए, औसत ५३.८३ कायम राखे । उनले ३१ चौका र १९ छक्का प्रहारले दर्शकहरूलाई निकै उत्साहित बनायो । एडमको आक्रमक खेल शैलीले पोखरा टिमलाई महत्वपूर्ण जित दिलाउन ठूलो भूमिका खेलेको थियो ।
दोस्रो स्थानमा लुम्बिनी लायन्सका रोहित कुमार पौडेलले १० खेलमा २७६ रन बनाए भने तेस्रो स्थानमा सुदुरपश्चिम रोयल्सका बीनोद भण्डारीले ९ खेलमा २६४ रन बनाउँदै आफ्नो टिमलाई प्रतिस्पर्धात्मक बनायो । त्यसैगरि डार्सी जोन म्याथ्यु सर्टले लुम्बिनी लायन्सका लागि २५६ रन बनाए भने कर्णाली याक्सका मार्क रोबर्ट जेम्स वाटले ७ खेलमा २४६ रन बनाए, जसमा ११४ रनको उत्कृष्ट व्यक्तिगत स्कोर समावेश थियो ।
बलिङतर्फ, बिराटनगर किंग्सका सन्दिप लामिछानेले ९ खेलमा १७ विकेट लिदै अग्र स्थान कायम गरे , उत्कृष्ट प्रदर्शन ४/११ रहेको थियो। सुदुरपश्चिम रोयल्सका अभिनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्ला पनि समान १७ विकेट लिए । काठमाडौँ गोर्खाजका शहाब आलमले ८ खेलमा १३ विकेट लिए, जसमा उनले पोखरा विरुद्ध ६/२५ को उत्कृष्ट प्रदर्शन गरे। आर कुमार, बिपिन खत्री र एस लामिछानेले क्रमशः ५ देखि ४ विकेट लिए, जसले टिमको बलिङ लाइनलाई बलियो बनायो ।
फिल्डिङमा पनि खेलाडीहरूले आफ्नो कौशल देखाए । बिराटनगर किंग्सका हेजलेटले ६ खेलमा ६ क्याच लिए । सुदुरपश्चिम रोयल्सका दिपेन्द्र सिंह एरीले ९ खेलमा ९ क्याच लिए भने कुशल मल्ल र मिलिन्द कुमारले क्रमशः ७ क्याच लिए । क्याचहरू मात्र होइन, स्टम्पिङ र रन आउटले पनि खेलको परिणाममा महत्वपूर्ण भूमिका खेले ।
सिजनको उच्च स्कोरमा, विराटनगरले पोखरा विरुद्ध २२०/६ रन बनायो , जबकि पोखराले कर्णाली विरुद्ध २०१/२ रन बनाउँदै उच्च प्रदर्शन देखायो । यी स्कोरहरूले टिमहरूको आक्रमण र ब्याटिङ क्षमता स्पष्ट देखाएका छन् । उच्च व्यक्तिगत स्कोरमा, मार्क रोबर्ट जेम्स वाटले ४४ बलमा ११४ रन बनाएका थिए, जसमा १२ छक्का र ६ चौका समावेश थिए । एडम म्याथ्यु रोसिङ्टनले ५८ बलमा १०८ रन बनाउँदै आफ्नो आक्रमक क्षमताको प्रमाण दिए ।
एक इनिङ्समा उत्कृष्ट बलिङ प्रदर्शनमा शहाब आलमले पोखरा विरुद्ध ४ ओभरमा ६ विकेट लिए । आर कुमारले विराटनगर विरुद्ध ५ विकेट लिए भने सन्दिप लामिछाने र बिपिन खत्रीले क्रमशः ४–४ विकेट लिए । यी प्रदर्शनहरूले बलिङमा पनि रोमाञ्चक क्षण सिर्जना गरेका थिए ।
लुम्बिनी लायन्सलाई (एनपिएल) २०२५/२६ को च्याम्पियन बनाउने अभियानमा कप्तान रोहितकुमार पौडेलको योगदान निर्णायक रह्यो । नेपाली खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गरेका रोहित सिजनको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनी ब्याटिङ र बलिङ दुवैमा टोलीका लागि महत्वपूर्ण बने । रोहितले १० खेलमा २७६ रन प्रहार गरी नेपाली ब्याटरमध्ये पहिलो स्थानमा रहे भने, सर्वाधिक रन प्रहार गर्ने सूचीमा दोस्रो स्थान हासिल गरे । बलिङतर्फ उनले १० विकेट लिए। उत्कृष्ट प्रदर्शनको लागि उनलाई जेको जे–५ इभी कार प्रदान गरिएको छ, जसको बजार मूल्य ६१ लाख रूपैयाँ छ ।
नेपाल प्रिमियर लिग २०२५/२६ ले दर्शकहरूलाई मनोरञ्जन मात्र दिएन, उत्कृष्ट खेलाडीहरूको प्रतिभा उजागर गर्न समेत ठूलो भूमिका खेलेको छ । ब्याटिङ, बलिङ र फिल्डिङमा खेलाडीहरूले देखाएका प्रदर्शनहरूले आगामी सिजनका लागि उच्च अपेक्षा कायम गरेको छ । दर्शकहरू आगामी सिजनमा अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको आशा गर्न सक्छन् ।
सिजनभरि टिमहरू बीच प्रतिस्पर्धा, व्यक्तिगत रेकर्डहरू, उच्च स्कोर र उत्कृष्ट बलिङ प्रदर्शनले लिगलाई अझ रोचक बनाएको छ । नेपाल प्रिमियर लिगले नेपाल क्रिकेटको स्तर उचाल्ने मात्र नभई नयाँ प्रतिभाहरूलाई परिचित गराउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । लुम्बिनी लायन्सले उपाधि जित्दा सिजनभरि टिम भावना, रणनीति र खेलकौशलको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































