अर्थ समिति सभापतिका परिवार नै भ्रष्टाचारमा मुछिए

काठमाडौं । संसद्को अर्थ समितिका निवर्तमान सभापति नै गैरकानुनी आर्जनका कारण भ्रष्टाचार मुद्दामा तानिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनअघि नेपाली कांग्रेसका सांसद सन्तोष चालिसे अर्थ समितिको सभापति थिए ।

बुझ्‌नै पर्ने कुरा के भने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७८ मा अर्थ समितिको काम, कर्तव्य र अधिकार स्पष्ट गरिएको छ । उक्त नियमको पाँचौँ बुँदामा कार्यक्षेत्रसँग सम्बन्धित सरकारी निकायको सार्वजनिक सम्पत्तिको हिनामिना भए–नभएको अध्ययन, अनुगमन तथा मूल्यांकन गरी आवश्यक निर्देशन दिने र त्यससम्बन्धी प्रतिवेदन समितिको बैठकमा पेस गर्ने व्यवस्था छ । साथै, संवैधानिक आयोगहरूको काम–कारबाहीको अनुगमन तथा मूल्यांकन गरी प्रतिवेदन दिने र तिनका वार्षिक प्रतिवेदनमाथि छलफल गरेर सुझाव दिने अधिकार पनि यही समितिलाई दिइएको छ । तर यही समितिका सभापति नै छानबिनमा तानिएका छन् ।

चालिसे सांसद हुनुअघि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका मेयर थिए । २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित चालिसेविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार उनको आम्दानीभन्दा ३ करोड ६८ लाख ४७ हजार १६१ रुपैयाँ ७१ पैसा गैरकानुनी रूपमा आर्जन भएको देखिएको छ ।

गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा रहँदा पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। चालिसे २०७४ देखि २०७९ सम्म नगरपालिकाको मेयर थिए र यही पाँच वर्षको अवधिलाई आधार मानेर अनुसन्धान गरिएको हो। यस क्रममा अख्तियारले चालिसेका एकाघरका परिवारको विभिन्न स्रोतबाट भएको आम्दानी र खर्चको विस्तृत हिसाबकिताब गरेको छ ।

मेयरमा निर्वाचित हुनु अघि चालिसेको बैंक मौज्दात १८ लाख ४० हजार ५२७ रुपैयाँ २४ पैसा थियो। मेयर भएपछि पारिश्रमिकबाट १५ लाख ४९ हजार ६३६ रुपैयाँ २० पैसा बचत भएको र भत्ताबाट ६ लाख ४० हजार ३३ रुपैयाँ ३३ पैसा प्राप्त भएको देखिएको छ । उनका छोरा सागर चालिसे र सञ्जीव चालिसेको निश्चल मेडिसिन सेन्टर एन्ड फार्मेसीबाट पारिश्रमिक बचत आय ३३ लाख ५१ हजार २ रुपैयाँ २२ पैसा, सागर चालिसेको इन्जिनियरिङ एन्ड एजुकेशन जोन प्रालिबाट ८ लाख ५६ हजार ८ सय रुपैयाँ, बुहारी प्रमिला पोखरेलको पारिश्रमिक बचत आय १४ लाख ४० हजार ९८ रुपैयाँ २५ पैसा र बोनस २ लाख ९५ हजार २११ रुपैयाँ ९६ पैसा देखिएको छ ।

यसका साथै बैंकबाट १४ लाख २१ हजार रुपैयाँ, सहकारी संस्थाबाट २ करोड ८ लाख ४९ हजार रुपैयाँ र इन्स्योरेन्स कम्पनीबाट ५ लाख रुपैयाँ कर्जा लिएको देखिन्छ । चिरायु फर्मास्युटिकल्स प्रालि स्वेच्छिक खारेजी हुँदा ३३ लाख ७ हजार रुपैयाँ, सेयर बिक्रीबाट ३६ लाख ७२ हजार ७०५ रुपैयाँ ५२ पैसा, बैंक ब्याजबाट ७ लाख १ हजार ३७ रुपैयाँ ९३ पैसा, कृषिबाट १ लाख ५० हजार ७९३ रुपैयाँ ४८ पैसा र जग्गा बिक्रीबाट ८२ लाख ६० हजार ९८७ रुपैयाँ ४९ पैसा आम्दानी देखाइएको छ ।

यी सबै स्रोत समेट्दा कर्जासहित चालिसे परिवारको वैधानिक आय ४ करोड ८८ लाख ४५ हजार ८३३ रुपैयाँ ६२ पैसा पुगेको अख्तियारको निष्कर्ष छ। यता खर्चतर्फ हेर्दा घर निर्माण र फर्निचरमा ७० लाख ३ हजार ८३७ रुपैयाँ २८ पैसा खर्च भएको देखिन्छ। घरको नक्सा पासमा २६ हजार ८३ रुपैयाँ २० पैसा, उग्रतारा स्यान्ड एन्ड फुटबल रिक्रियसन सेन्टर निर्माणमा ८ लाख ४० हजार र सञ्चालनमा १५ हजार ७ सय रुपैयाँ खर्च भएको छ ।

बैंक कर्जाको साँवा र ब्याजमा ६ लाख ७० हजार ८७ रुपैयाँ १० पैसा, बिमा प्रिमियममा ३१ लाख ४२ हजार ९३ रुपैयाँ, कम्पनी लगानीमा ४१ लाख ९१ हजार ६ सय रुपैयाँ, शिवम् बचत तथा ऋण सहकारी संस्थाबाट लिएको कर्जाको साँवा र ब्याजमा २ करोड १८ लाख ७० हजार ६९५ रुपैयाँ र सेयर खरिदमा ९१ लाख १९ हजार ८४० रुपैयाँ खर्च भएको देखिएको छ ।

कर्जा सेवा शुल्कमा १ लाख ४५ हजार ९९५ रुपैयाँ, सहकारी कर्जा नवीकरणमा १ लाख २३ हजार ४१० रुपैयाँ, जग्गा खरिदमा २ करोड ८९ लाख ६४ हजार ९१० रुपैयाँ ९९ पैसा, जग्गा बिक्री लाभ कर १ लाख ५ हजार ५ सय, व्यवसाय कर २ हजार ३६० रुपैयाँ र सवारी कर १ लाख ४१ हजार ६५० रुपैयाँ तिरेको देखिन्छ। सवारी कर्जाको साँवा र ब्याजमा ३७ लाख ८३ हजार २६२ रुपैयाँ ६६ पैसा, इन्स्योरेन्स कम्पनीबाट लिएको कर्जाको साँवा र ब्याजमा ५ लाख ८० हजार ७५३ रुपैयाँ तथा जाँच अवधिसम्मको अन्तिम मौज्दात ४९ लाख ५५ हजार ८१८ रुपैयाँ १० पैसा रहेको उल्लेख छ ।

यसरी उक्त अवधिमा चालिसे परिवारले ८ करोड ५६ लाख ८३ हजार ५९५ रुपैयाँ ३३ पैसा बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको अख्तियारको निष्कर्ष छ । समग्र आय ४ करोड ८८ लाख ४५ हजार ८३३ रुपैयाँ ६२ पैसा मात्र देखिए पनि खर्च र लगानी ८ करोड ५६ लाख ८३ हजार ५९५ रुपैयाँ ३३ पैसा पुगेको हुँदा ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ ७१ पैसाको स्रोत पुष्टि हुन नसकेको अख्तियारको दाबी छ । यही रकम गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बयानका क्रममा चालिसेले उक्त रकम ऋण तथा सापटी लिएको दाबी गर्दै तमसुकसमेत पेस गरेका थिए । परिवारका नाममा देखिएको खर्च अन्य व्यक्तिबाट भएको दाबी पनि उनले गरेका थिए। तर यसरी भ्रम सिर्जना गर्ने प्रयास गरेको भन्दै अख्तियारले अभियोगपत्रमा त्यसलाई अस्वीकार गरेको छ ।

वैधानिक स्रोत पुष्टि हुन नसकेको निष्कर्षसहित अख्तियारले सन्तोष चालिसेको परिवारलाई पनि प्रतिवादी बनाएको छ । उनकी श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ ।

 प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।