अब आवश्यक छ—दूरदर्शी राजनीतिक स्थिरता र व्यापक राष्ट्रिय एकता । पूर्व प्रधानन्यायाधीश, संवैधानिक विज्ञ, अर्थशास्त्री, समाजशास्त्री र स्वतन्त्र व्यक्तिहरू सम्मिलित संविधान सुधार सुझाव आयोग गठन अपरिहार्य छ ।
नेपाली राजनीतिक इतिहासलाई सतही रूपमा बुझ्दा यो केवल शासन प्रणाली परिवर्तन, सत्ता हस्तान्तरण र आन्दोलनहरूको क्रमिक सूची जस्तो देखिन सक्छ । तर गहिरिएर हेर्दा यो इतिहास सत्ता परिवर्तनभन्दा धेरै गहिरो छ । यो विचारको संघर्ष, बलिदानको निरन्तरता, जनअपेक्षाको विस्तार र ती अपेक्षालाई राज्यले संस्थागत रूपमा पूरा गर्न नसक्दा बारम्बार विस्फोटमा बदलिने असन्तोषको इतिहास हो ।
नेपालमा लोकतान्त्रिक चेतना निरन्तर प्रबल हुँदै आएको छ, तर त्यो चेतनालाई स्थायी, उत्तरदायी र परिणाममुखी शासन प्रणालीमा रूपान्तरण गर्न राज्य संरचना बारम्बार असफल भएको देखिन्छ । यही असफलताका कारण नेपालले दशक–दशकमा उस्तै प्रकृतिका राजनीतिक उथलपुथल दोहोर्याइरहेको छ ।
दशक–दशकमा दोहोरिने परिवर्तन : संयोग कि संरचनागत संकट ?
ऐतिहासिक अभिलेख हेर्दा नेपालले करिब हरेक दशक वा त्यसको वरिपरि कुनै न कुनै गम्भीर राजनीतिक परिवर्तन, आन्दोलन वा संकट भोग्दै आएको छ । विशेषगरी ‘७’ अंकमा अन्त्य हुने वर्षहरू वरिपरि घटेका घटनाहरू—१९७७, २००७, २०१७, २०४७, २०५९, २०७२ र पछिल्ला २०८२–२०८३—लाई संयोग मात्र भन्न कठिन हुन्छ ।
यी घटनाहरूले एउटा साझा सत्य उजागर गर्छन्—नेपालमा राजनीतिक परिवर्तनहरू संस्थागत रूपमा स्थापित हुनुअघि नै नयाँ असन्तोष जन्मिन्छ । परिवर्तनपछि स्थायित्व निर्माण हुन नसक्नु नै नेपालको मूल समस्या हो ।
१९७७ देखि २००७ : चेतनाको अंकुरण र क्रान्तिको बीउ
वि.सं. १९७७ सालको ‘मकैपर्व’ नेपालमा विचार स्वतन्त्रताको चेतनाको प्रारम्भिक विस्फोट थियो । शिक्षामाथिको प्रतिबन्ध, विचारमाथिको नियन्त्रण र निरंकुश राणा शासनका बीच त्यो घटना सामान्य लाग्न सक्छ, तर यसले नेपाली समाजमा प्रश्न गर्ने साहस जन्मायो ।
त्यसपछिका १९८७–१९९७ का वर्षहरूमा ‘प्रचण्ड गोर्खा’ पत्रिका, प्रजापरिषद् जस्ता संगठन र वैचारिक अभियानहरू उदाए । दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीजस्ता सहिदहरूको बलिदानले लोकतान्त्रिक आन्दोलनलाई केवल राजनीतिक अभियान होइन, नैतिक संघर्षको उचाइमा पुर्यायो । यी बलिदानको सार सत्ता परिवर्तनभन्दा धेरै ठूलो थियो—नागरिक स्वतन्त्रता, समानता र उत्तरदायी राज्यको सपना ।
२००७ साल : ऐतिहासिक उपलब्धि, तर कमजोर संस्थागत आधार
२००७ सालको जनक्रान्तिले राणा शासनको अन्त्य गर्यो र आधुनिक नेपालको राजनीतिक आधार निर्माण गर्यो । नेपाली काँग्रेसको निर्णायक नेतृत्वमा भएको यो परिवर्तनले निरंकुश शासनको ढोका बन्द गर्यो ।
तर, त्यो उपलब्धि संस्थागत रूपमा कमजोर रह्यो । लोकतन्त्रलाई स्थायी प्रणालीका रूपमा विकास गर्ने स्पष्ट रोडम्याप, सुदृढ संस्था र सहमतिको राजनीतिक संस्कार विकास हुन सकेन । आन्तरिक शक्ति संघर्ष, वैदेशिक प्रभाव र नेतृत्वको अपरिपक्वताले लोकतन्त्रलाई कमजोर बनायो ।
२०१७–२०४६ : दमनको कालखण्ड र लोकतन्त्रको आस्था
२०१७ साल पुस १ गतेको राजकीय कदमले लोकतन्त्रलाई समाप्त गर्यो । त्यसपछिका करिब तीन दशक नेपालले निरन्तर दमन, प्रतिबन्ध र नियन्त्रणको सामना गर्यो । राजनीतिक दलहरू भूमिगत भए, प्रेस स्वतन्त्रता सीमित भयो र राज्य सत्ता केन्द्रित शासनमा सीमित रह्यो । तर यही कालखण्डमा लोकतन्त्र सामाजिक आस्थाका रूपमा विकसित भयो । पुस्ता–पुस्तामा लोकतान्त्रिक चेतना सरेर गयो । आन्दोलन केवल राजनीतिक दलको एजेन्डा रहेन, समाजको साझा आकांक्षा बन्यो।
२०४६/४७ : पुनःस्थापना र अधुरा सपना
२०४६/४७ को जनआन्दोलनले बहुदलीय प्रजातन्त्र पुनःस्थापित गर्यो । २०४७ सालको संविधानले नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय राष्ट्रको रूपमा परिभाषित गर्यो । नागरिक अधिकारको व्यापक प्रत्याभूति भयो ।
तर पुनःस्थापित लोकतन्त्रले पनि जनअपेक्षाअनुसारको परिणाम दिन सकेन । बारम्बार सरकार परिवर्तन, गुटबन्दी, भ्रष्टाचार र सेवा प्रवाहमा असफलताले जनविश्वास क्षीण हुँदै गयो । लोकतन्त्र प्रक्रियामा सीमित रह्यो, परिणाममा होइन ।
२०५२–२०६३ : द्वन्द्व, विद्रोह र व्यवस्थामाथिको प्रश्न
राज्यको कमजोर उपस्थितिले २०५२ सालमा सशस्त्र द्वन्द्व जन्मियो । यो द्वन्द्व केवल हिंसात्मक संघर्ष थिएन; यो राज्यप्रति जमेको असन्तोषको विस्फोट थियो । २०६२/६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको बाटो खोल्यो । तर द्वन्द्वपछिको संक्रमणकाल पनि दीर्घ भयो । शान्ति प्रक्रिया, सत्य निरूपण र मेलमिलाप अपेक्षित रूपमा अगाडि बढ्न सकेन।
२०७२ को संविधान : नयाँ आशा, पुराना चुनौती
२०७२ सालमा संविधानसभाबाट जारी संविधानले संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्यो । यो ऐतिहासिक उपलब्धि थियो । तर संविधान कार्यान्वयनकै क्रममा पनि असन्तोष कायम रह्यो । संघीय संरचनाको प्रभावकारिता, शक्ति सन्तुलन, शासकीय क्षमता र सेवा प्रवाहमा देखिएका कमजोरीले संविधानमाथि नै प्रश्न उठ्न थाले ।
जेनेरेशन–जी आन्दोलन : व्यवस्थामाथिको सामूहिक असन्तोष
२०८२–२०८३ तिर देखिएको ‘जेनेरेशन–जी’ आन्दोलन परम्परागत राजनीतिक आन्दोलनभन्दा भिन्न छ । यो आन्दोलन दल–केन्द्रित होइन, भविष्य–केन्द्रित छ ।
यसले रोजगारी, अवसर, सुशासन र न्यायको प्रश्न उठाएको छ । यो पुस्ताले विगतका आन्दोलनको इतिहास पढेको छ, तर तिनको प्रतिफल आफ्नो जीवनमा देख्न पाएको छैन ।
वर्तमान संकट : अविश्वास र निराशा
आज नेपाल चौतर्फी संकटमा छ । राजनीतिक दलप्रति विश्वास कमजोर छ, संस्थाहरू प्रभावहीन देखिन्छन्, र नागरिक–राज्य सम्बन्ध टुट्दै गएको अनुभूति छ । आर्थिक मन्दी, बेरोजगारी, वैदेशिक पलायन र सामाजिक असन्तोषले संकटलाई अझ गहिरो बनाएको छ ।
टालटुले उपायको सीमा
यस्तो अवस्थामा केवल निर्वाचन, सरकार परिवर्तन वा प्राविधिक सुधारलाई समाधान ठान्नु भ्रम मात्र हो । न अराजकता, न प्रियतावादी चर्का भाषण, न आरोप–प्रत्यारोप, न संसद पुनर्स्थापना वा निर्वाचन मात्रैले आजको संकटको अन्तिम उत्तर दिन सक्छ ।
अबको निकास : संविधान सुधार र राष्ट्रिय सहमति
अब आवश्यक छ—दूरदर्शी राजनीतिक स्थिरता र व्यापक राष्ट्रिय एकता । पूर्व प्रधानन्यायाधीश, संवैधानिक विज्ञ, अर्थशास्त्री, समाजशास्त्री र स्वतन्त्र व्यक्तिहरू सम्मिलित संविधान सुधार सुझाव आयोग गठन अपरिहार्य छ । यसको सिफारिसका आधारमा सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत संविधान संशोधन र संरचनागत सुधारतर्फ जानुपर्छ ।
निष्कर्ष : परिवर्तन होइन, समाधानको राजनीति
नेपालले धेरै आन्दोलन देखिसक्यो । अब आन्दोलन होइन, समाधान चाहिएको छ । परिवर्तनलाई स्थायित्वमा, बलिदानलाई परिणाममुखी लोकतन्त्रमा रूपान्तरण गर्नु नै आजको ऐतिहासिक जिम्मेवारी हो । अब पनि चुक्यौँ भने अर्को दशकमा अर्को आन्दोलन अवश्य आउनेछ । इतिहास फेरि दोहोरिनेछ । तर समयमै सही निर्णय गरियो भने नेपालले पहिलोपटक परिवर्तनलाई स्थायित्वमा बदल्न सक्छ । यही नै इतिहासप्रतिको सबैभन्दा इमानदार जवाफ हुनेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































