वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डेट्रोइट नदीमाथि निर्माण गरिएको क्यानडाको नयाँ पुल खोल्न नदिने धम्की दिएका छन् । उनले क्यानडासँग उक्त पुलको कम्तीमा आधा स्वामित्व अमेरिकालाई दिनुपर्ने र अन्य केही अस्पष्ट मागहरू पूरा गर्नुपर्ने अडान राखेका छन् । यो कदम दुई देशबीचको व्यापारसम्बन्धी विवादको पछिल्लो चरणका रूपमा आएको हो ।
सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै ट्रम्पले भने, ‘हामी तुरुन्तै वार्ता सुरु गर्नेछौं । हामीले उनीहरूलाई यति धेरै दिएको अवस्थामा यो सम्पत्तिको कम्तीमा आधा हिस्सा हाम्रो हुनुपर्छ ।’ उनले अमेरिकाले पुलबाट केही नपाउने र क्यानडाले निर्माणमा अमेरिकी फलाम प्रयोग नगरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
क्यानडाका प्रसिद्ध हकी खेलाडी गोरडी होको नाममा राखिएको यो अन्तर्राष्ट्रिय पुल सन् दुई हजार छब्बीसको सुरुआतमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यो परियोजना मिशिगनका पूर्व गभर्नर रिक स्नाइडरको पहलमा अघि बढाइएको हो र यसको सम्पूर्ण खर्च क्यानडा सरकारले बेहोरेको छ । यो पुल पुरानो राजदूत पुल र डेट्रोइट–विन्डसर सुरुङमा हुने भीड घटाउनका लागि बनाइएको हो । यसको निर्माण कार्य सन् २ हजार अठारदेखि चलिरहेको छ । तर ट्रम्पले कसरी यो पुल खोल्न रोक्ने प्रयास गर्नेछन् भन्ने कुरा अझै स्पष्ट छैन । ह्वाइट हाउस र वासिङ्टनस्थित क्यानडाली दूतावासले पनि यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन् ।
ट्रम्पको यो धम्की अमेरिकाको दोस्रो कार्यकालमा दुई देशबीचको सम्बन्ध झन् बिग्रँदै गएको अवस्थामा आएको हो । यसै वर्ष अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार सम्झौता पुनरावलोकन हुँदैछ र त्यसअघि ट्रम्पले नयाँ भन्सार करको धम्की दिँदै कडा अडान लिँदै आएका छन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि अन्तर्राष्ट्रिय मञ्चमा अमेरिकाद्वारा भइरहेको आर्थिक दबाबको विरोध गर्दै आएका छन् ।
मिशिगन राज्यकी सिनेटर एलिसा स्लोटकिनले क्यानडाबाट खर्च बेहोरेको यो परियोजना आफ्नो राज्यको आर्थिक भविष्यका लागि ठूलो वरदान भएको बताइन् । उनले भनिन्, ‘अब मोन्ट्रियलदेखि मियामीसम्म सामान ढुवानी गर्दा एकपटक पनि ट्राफिक बत्तीमा रोकिनु पर्दैन ।’ उनले ट्रम्पको कदमलाई आफ्नै खुट्टामा बन्चरो हानेजस्तो भन्दै क्यानडाविरुद्धको रिस मात्र भएको आरोप लगाइन् ।
मिशिगन राज्य, जहाँ ट्रम्पले सन् २०१६ र २०२४ चुनाव जितेका थिए, हालसम्म उनको दोस्रो कार्यकालका कडा नीतिहरूको ठूलो असरबाट जोगिएको छ । ट्रम्प र डेमोक्रेटिक गभर्नर ग्रेचेन ह्विटमरबीच सम्बन्ध पनि अपेक्षाकृत सौहार्दपूर्ण रहँदै आएको छ । गत वर्ष ट्रम्पले मिशिगनस्थित हवाई सुरक्षा आधारका लागि नयाँ लडाकु विमान मिसन घोषणा गर्दा दुवैबीच अंकमालसमेत भएको थियो ।
गभर्नर ह्विटमरकी प्रवक्ता स्टेसी ला रुशका अनुसार, क्यानडाले खर्च बेहोरे पनि यो पुल मिशिगन र क्यानडाबीच संयुक्त स्वामित्वमा सञ्चालन हुनेछ । उनले भनिन्, ‘यो उत्तर अमेरिकाकै सबैभन्दा व्यस्त व्यापारिक नाका हो । यो मिशिगनका कामदार र मोटर उद्योगका लागि फाइदाजनक छ र दुई दल तथा दुई देशबीचको सहकार्यको राम्रो उदाहरण हो ।’ उनले पुल जसरी पनि खुल्ने र गभर्नर उद्घाटन कार्यक्रममा सहभागी हुने बताएकी छन् ।
डेट्रोइटका प्रतिनिधि श्री थानेदारले पुल रोक्नु पागलपन हुने बताए र क्यानडाविरुद्धका आक्रमणले व्यापार र रोजगारीमा नकारात्मक असर पर्ने चेतावनी दिए । उनले भने, ‘यो पुलले मिशिगनको अर्थतन्त्रलाई मद्दत गर्नेछ । मिशिगन र क्यानडाबीच धेरै व्यापार हुन्छ, उनीहरू हाम्रो प्रमुख साझेदारमध्ये एक हुन् ।’
एन् आर्बर क्षेत्रकी प्रतिनिधि डेबी डिङ्गेलले पनि राष्ट्रपति ट्रम्पको धम्कीलाई बेवास्ता गर्दै वसन्त ऋतुमा पुल खुल्ने अपेक्षा व्यक्त गरिन् । उनले भनिन्, ‘यो पुल उत्तर सीमामा रहेको देशकै सबैभन्दा ठूलो नाका हो । यसले रोजगारी दिन्छ, अर्थतन्त्र जोगाउँछ, र दुवै देशमा मजदुरहरूले काम गरेर बनाइएको हो । यो पुल खुल्नेछ । क्यानडा हाम्रो मित्र राष्ट्र हो ।’




































