एल–फाशेरमा ३ दिनमै कम्तीमा ६ हजारको मृत्यु : आरएसएफ आक्रमण

कायरो । सुडानको दारफुर क्षेत्रमा अर्धसैनिक समूहले मच्चाएको तीव्र हिंसामा तीन दिनमै ६ हजारभन्दा बढी मानिस मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । अक्टोबरको अन्त्यतिर एल–फाशेर सहर कब्जा गर्ने क्रममा भएको आक्रमणलाई संयुक्त राष्ट्रसंघले ‘आकार र क्रूरतामा स्तब्ध पार्ने हिंसाको लहर’ भनेर वर्णन गरेको छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार द्रुत समर्थन बलको आक्रमणमा ‘युद्ध अपराध र सम्भावित मानवताविरुद्धका अपराध’ भएको ठहर गरिएको छ । संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टुर्कले भने, ‘एल–फाशेरमाथिको अन्तिम आक्रमणमा द्रुत समर्थन बल र सहयोगी अरब मिलिसियाले गरेको अन्धाधुन्ध उल्लङ्घनले देखाउँछ कि दण्डहीनताले हिंसाको चक्रलाई निरन्तरता दिइरहेको छ ।’

द्रुत समर्थन बल र तिनका सहयोगी जनजाविद नामक अरब मिलिसियाले अक्टोबर २६ मा दारफुरमा सुडानी सेनाको अन्तिम बलियो आधार रहेको एल–फाशेर सहर कब्जा गरेका थिए । १८ महिनाभन्दा बढी समयको घेराबन्दीपछि उनीहरूले सहर र वरपरका क्षेत्रमा आक्रमण चलाए ।

२९ पृष्ठको प्रतिवेदनमा सामूहिक हत्या, संक्षिप्त मृत्युदण्ड, यौन हिंसा, फिरौतीका लागि अपहरण, यातना, अमानवीय व्यवहार, गैरकानुनी थुनछेक र बेपत्ता पार्ने घटनाहरू समेटिएका छन् । धेरैजसो आक्रमण जातीय आधारमा गरिएको उल्लेख छ ।

द्रुत समर्थन बलले यसबारे टिप्पणीका लागि गरिएको अनुरोधको जवाफ दिएको छैन । समूहका प्रमुख मोहम्मद हमदान दगालोले यसअघि आफ्ना लडाकुले दुर्व्यवहार गरेको स्वीकार गरे पनि अत्याचारको परिमाणबारे असहमति जनाएका थिए ।

एल–फाशेरमा डरलाग्दो चलचित्रको दृश्यजस्तै

उत्तर दारफुरको प्रान्तीय राजधानी एल–फाशेरमा भएका अत्याचार सुडानी सेना र द्रुत समर्थन बलबीच अप्रिल २०२३ देखि जारी युद्धको ढाँचासँग मिल्दोजुल्दो रहेको प्रतिवेदनमा उल्लेख छ । उक्त द्वन्द्वले विश्वकै सबैभन्दा ठूलो मानवीय संकट सिर्जना गरेको छ र देशका केही भागमा भोकमरी फैलिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले यसलाई युद्ध अपराध र मानवताविरुद्धका अपराधका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयका अनुसार अक्टोबर २५ देखि २७ सम्म एल–फाशेरभित्र कम्तीमा ४ हजार ४ सय जनाको हत्या भएको पुष्टि गरिएको छ । सहरबाट भाग्ने क्रममा थप १ हजार ६ सयभन्दा बढी मारिएका थिए । प्रतिवेदनले १४० पीडित र साक्षीहरूसँगको अन्तर्वार्ताका आधारमा तथ्य सङ्कलन गरिएको र उपग्रह तस्बिर तथा दृश्य सामग्रीसँग मेल खाने जनाएको छ ।

अक्टोबर २६ मा एल–फाशेर विश्वविद्यालयको राशिद छात्रावासमा आश्रय लिइरहेका करिब १ हजार मानिसमाथि भारी हतियारबाट गोली चलाउँदा करिब ५ सय जनाको मृत्यु भएको उल्लेख छ । एक साक्षीले भनेका छन्, ‘शवहरू हावामा उछिट्टिएका थिए, त्यो दृश्य डरलाग्दो चलचित्रको जस्तै थियो ।’

अर्को घटनामा विश्वविद्यालय परिसरमै आश्रय लिइरहेका करिब ६ सय व्यक्तिलाई, जसमा ५० बालबालिका पनि थिए, अक्टोबर २६ मा मृत्युदण्ड दिइएको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनले चेतावनी दिएको छ कि एल–फाशेरमा हप्ताभर चलेको आक्रमणको वास्तविक मृतक संख्या ‘निस्सन्देह उल्लेख गरिएभन्दा धेरै बढी’ हुन सक्छ ।
यस संख्यामा अक्टोबर २८ मा साउदी मातृत्व अस्पतालमा गरिएको आक्रमणमा मारिएका कम्तीमा ४ सय ६० जनालाई समावेश गरिएको छैन, जसको जानकारी विश्व स्वास्थ्य संगठनले दिएको हो ।

अक्टोबर २३ र २४ मा एल–फाशेरको उत्तरपश्चिममा रहेको अबु शुक विस्थापित शिविरमा गोलाबारी र मानवविहीन हवाई आक्रमण हुँदा करिब ३ सय जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

महिला तथा बालिकामाथि व्यवस्थित यौन हिंसा

एल–फाशेर आक्रमणका क्रममा यौन हिंसा व्यापक रहेको देखिएको छ । द्रुत समर्थन बल र तिनका सहयोगीहरूले अफ्रिकी जागावा गैर–अरब समुदायका महिला तथा बालिकामाथि सेनासँग सम्बन्ध वा सहयोग गरेको आरोपमा लक्षित आक्रमण गरेको जनाइएको छ ।

उच्चायुक्त टुर्कले भने, ‘बाँचेकाहरूले दिएको बयानले देखाउँछ कि यौन हिंसालाई व्यवस्थित रूपमा युद्धको हतियारका रूपमा प्रयोग गरिएको थियो ।’ सहरबाट भाग्ने क्रममा धेरैलाई अपहरण गरी फिरौती लिएपछि मात्र रिहा गरिएको थियो । कम्तीमा १० वटा थुनास्थल, जसमा बाल अस्पताललाई समेत थुनाकेन्द्र बनाइएको थियो, द्रुत समर्थन बलले सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ । हजारौँ मानिस अझै बेपत्ता रहेको बताइएको थियो ।

उच्चायुक्त टुर्कले द्रुत समर्थन बल र तिनका सहयोगीहरूले युद्ध अपराध र मानवताविरुद्धका अपराध गरेको उचित आधार रहेको बताउँदै जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन आग्रह गरेका छन् । ‘दण्डहीनता कायम रहँदा हिंसाको चक्र निरन्तर दोहोरिरहन्छ ।’उनले चेतावनी दिए ।