निष्पक्ष निर्वाचनका लागि आचारसंहिता पालनाको अपरिहार्यता

लोकतान्त्रिक प्रणालीमा निर्वाचन जनप्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र नभएर राजनीतिक दल र उम्मेदवारहरूको नैतिकता, पारदर्शिता र विधिको शासनप्रतिको निष्ठाको अग्निपरीक्षा हो ।

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूका लागि जारी गरेको निर्वाचन आचारसंहिताको पालनाले उम्मेदवारको नैतिकता र निष्ठाको परीक्षण गर्नेछ ।

निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत मात्र गर्न र नगदमा आधारित अनौपचारिक कारोबार पूर्णतः बन्द गर्न दिएको निर्देशनले निर्वाचन प्रणालीलाई स्वच्छ बनाउने दिशामा महत्वपूर्ण पहल गरेको छ । पारदर्शी र अनुशासित निर्वाचन प्रणाली प्रवद्र्धन गर्न आयोगले देखाएको सक्रियताले निर्वाचनमा हुने आर्थिक बेथितिलाई रोक्ने अपेक्षा गरिएको छ । निर्वाचन र शासन प्रणालीमा हुने आर्थिक पारदर्शिता महत्वपूर्ण पाटोको रूपमा रहेको छ ।

निर्वाचनका बेला पैसाको बलमा जनमत प्रभावित पार्ने प्रवृत्ति एउटा गम्भीर चुनौतीका रूपमा देखा पर्दैआएको छ । यसैलाई मध्यनजर गर्दै आयोगले २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत मात्र लिनुपर्ने र खाताबाटै खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । यसले निर्वाचनमा हुन सक्ने अवैध तथा अपारदर्शी लगानीलाई निरुत्साहित मात्र गर्दैन, बरु खर्चको स्रोत र प्रयोगलाई कानुनी अभिलेखीकरणको दायरामा ल्याउँछ । आयोगले मागेको खण्डमा उम्मेदवारले सक्कल बिल भरपाई र बैंक स्टेटमेन्ट बुझाउनुपर्ने व्यवस्थाले उम्मेदवारहरूलाई वित्तीय अनुशासनमा बाँध्न बाध्य पारेको छ ।

आचारसंहिताका अन्य मुख्य प्रावधानहरूले निर्वाचनलाई भड्किलो र खर्चिलो हुनबाट जोगाउन खोजेका छन् । आयोगले जुलुस, आमसभा वा भेलाहरूमा सहभागी हुनेहरूले दल वा उम्मेदवारको चुनाव चिह्न अंकित लोगो, स्टीकर, टोपी, भेष्ट, टिसर्ट, ज्याकेट, गम्छा, मास्क वा झोला जस्ता सामाग्री प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ । यस्ता सामाग्रीमा लगाइएको बन्देजले सार्वजनिक स्थानमा अनावश्यक प्रदर्शन र अव्यवस्था रोक्नुका साथै कम आर्थिक स्रोत भएका उम्मेदवारहरूका लागि पनि प्रतिस्पर्धाको समान धरातल तयार पार्न मद्दत पुग्नेछ । प्रचारप्रसारको समय बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र तोकिनुले नागरिकको शान्तिपूर्ण जीवनमा खलल पुग्न नदिने र सुरक्षा व्यवस्थापनमा सहजता ल्याउने देखिन्छ ।

निर्वाचनलाई विचार र एजेन्डाको बहसमा केन्द्रित गर्न आयोगले उम्मेदवारहरूलाई अनिवार्य रूपमा घोषणापत्र तयार गरी मतदातामाझ जान र सोको प्रतिलिपि सम्बन्धित कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । यसले मतदातालाई उम्मेदवारको नीति, योजना र प्रतिबद्धताबारे स्पष्ट जानकारी प्राप्त गर्न र विवेकपूर्ण निर्णय लिन सहयोग पुर्‍याउँछ । यद्यपि आयोगले पटक–पटक यस्ता निर्देशन दिए पनि कार्यान्वयनको तहमा देखिने लापरवाही र खर्च सीमाको उल्लंघनले सधैँ चिन्ता थप्ने गरेको छ ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको सम्पूर्ण विवरण नबुझाउने वा आचारसंहिताको बर्खिलाप गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी आयोगले दिएको छ । यो चेतावनीलाई केवल कागजी औपचारिकतामा सीमित नराखी कडाइका साथ कार्यान्वयन गर्नु अहिलेको मुख्य आवश्यकता हो।आर्थिक अनुशासन र जवाफदेहिता बिना निष्पक्ष निर्वाचन सम्भव छैन ।

निर्वाचन आचारसंहिताको पालना गर्नु केवल कानुनी बाध्यता मात्र नभई उन्नत राजनीतिक संस्कृतिको अभिन्न हिस्सा हो । दल र उम्मेदवारहरूले निर्वाचन जित्नुलाई मात्र अन्तिम लक्ष्य नबनाई कुन प्रक्रिया र नैतिकताको आधारमा जीत हासिल गरियो भन्ने कुरालाई पनि उत्तिकै महत्व दिनुपर्छ । आयोगले चालेका यी सुधारात्मक कदमहरूलाई सफल पार्नु सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूको साझा दायित्व हो । जब निर्वाचन प्रक्रिया स्वच्छ र विश्वसनीय हुन्छ, तब मात्र चुनिएर आउने नेतृत्वले वास्तविक नैतिक बल प्राप्त गर्दछ र लोकतन्त्रको जग बलियो हुन्छ ।

निर्वाचन खासगरी जनसरोकारका एजेन्डा केन्द्रित हुनुपर्छ । उम्मेदवारको व्यक्तिगत प्रभाव र प्रलोभनमा नपरी मतदाताले आफ्ना माग र चुनावी एजेन्डाका आधारमा मतदान गर्न सकेमा त्यसले राजनीतिक स्थिरता र राजनीतिप्रतिको आस्था अभिवृद्धिमा सहयोग पुर्‍याउनेछ । आर्थिक वा अन्य प्रभावमा परेर गरिने मतदानले केही समयपछि मतदातामा असन्तुष्टि र आक्रोश निम्त्याउनेछ ।

मिति २०८२ फागुन ५ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।