चिकित्सा शिक्षाजस्तो संवेदनशील, मानवीय र प्राज्ञिक क्षेत्रमा हरेक वर्ष विद्यार्थी भर्नाको बेलामा निजी मेडिकल कलेज सञ्चालक र नियामक निकाय चिकित्सा शिक्षा आयोगबिच सिट संख्या तथा शिक्षण शुल्कलाई लिएर चर्किने विवाद अब राज्यको नियमनकारी अधिकारमाथि व्यावसायिक स्वार्थ समूहले सिर्जना गरेको बखेडा र सौदाबाजीको रूप बन्न पुगेको छ ।
शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भई हजारौँ मेधावी विद्यार्थी कलेज भर्नाको प्रतीक्षामा बसिरहेका बेला निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठनले नयाँ भर्ना प्रक्रिया रोक्ने घोषणा गर्नु अत्यन्तै गैरजिम्मेवारपूर्ण र आपत्तिजनक कदम हो । विद्यार्थीको भविष्य र शैक्षिक पात्रोलाई बन्धक बनाएर व्यावसायिक माग पूरा गराउन खोज्ने प्रवृत्तिले चिकित्सा शिक्षाको मर्यादा र गुणस्तरमाथि गम्भीर आघात पुर्याएको छ ।
निजी मेडिकल कलेज सञ्चालकहरूले मुद्रास्फीति, कर्मचारीको पारिश्रमिक, अस्पताल सञ्चालन खर्च बढेको र विगत ५ वर्षदेखि शिक्षण शुल्क पुनरावलोकन नभएको तर्क अघि सारेका छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र नियमावलीअनुसार वैज्ञानिक आधारमा शुल्क समायोजन हुनुपर्छ भन्ने विषयमा बहस हुन सक्छ । तर राज्यको कानुनी निकाय चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि सिट र शुल्क निर्धारण गरिसकेपछि तोकिएको सिट र शुल्कमा विद्यार्थी पढाउँदैनौँ भन्नु सिधै राज्यको सार्वभौम नियमनकारी अधिकारलाई चुनौती दिनु हो । चिकित्सा शिक्षाको सिट र शुल्क कलेज सञ्चालकहरूको ‘बार्गेनिङ’का आधारमा नभई राष्ट्रिय आवश्यकता, जनशक्ति प्रक्षेपण र शैक्षिक गुणस्तरको कसीमा निर्धारण हुनुपर्छ ।
तथ्यांकलाई नियाल्दा निजी कलेजहरूको माग र वास्तविकतामा ठूलो विरोधाभास देखिन्छ । राज्यले निजी कलेजहरूको आग्रहलाई सम्बोधन गर्दै विगत २ वर्षमै एमबीबीएसमा ६०५ सिट थपेर कुल सिट संख्या २ हजार ७४५ पुर्याइसकेको छ भने एउटा कलेजले पाउने अधिकतम सिट सीमा १०० बाट बढाएर १३० बनाइसकेको छ । जब कि आयोगकै स्वास्थ्य जनशक्ति प्रक्षेपण प्रतिवेदनअनुसार सन् २०८७ सम्म नेपाललाई आवश्यक पर्ने करिब ३२ हजार चिकित्सकको तुलनामा अहिले नै ४३ हजारभन्दा बढी चिकित्सक दर्ता भइसकेका छन् । यसरी मुलुकको आवश्यकताभन्दा बढी जनशक्ति उत्पादन भइरहँदा र कलेजहरूलाई सिट संख्यामा यति ठूलो सहुलियत दिँदादिँदै पनि सञ्चालकहरू सन्तुष्ट नहुनुले उनीहरूको उद्देश्य गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्नुभन्दा पनि मुनाफा आर्जनमै केन्द्रित रहेको स्पष्ट पार्छ ।
अर्कोतर्फ नियामक निकाय चिकित्सा शिक्षा आयोगले पनि आफ्नो कार्यशैलीलाई पूर्णरूपमा पारदर्शी र विवादरहित बनाउन चुक्नु हुँदैन । कलेजहरूको सिट कटौती वा वृद्धि गर्दा अपनाइएका मूल्यांकन सूचक, भौतिक पूर्वाधार र जनशक्तिको अवस्था झल्किने ‘कलेज स्कोर कार्ड’ सार्वजनिक गर्न आयोग हिच्किचाउनु आवश्यक छैन । पारदर्शिताले मात्र नियामक निकायको नैतिक बल उच्च राख्छ र अनावश्यक आरोपहरूको खण्डन गर्छ ।
चिकित्सा शिक्षा आमनागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको सेवामूलक क्षेत्र हो, यसलाई विशुद्ध नाफामूलक व्यापारको वस्तु बनाइनु हुँदैन । प्रवेश परीक्षा उत्तीर्ण गरेर भविष्यको सपना बुनिरहेका विद्यार्थीहरूलाई अन्योल र मानसिक तनावमा राख्ने छुट कसैलाई छैन । सरकारले तत्काल दृढतापूर्वक हस्तक्षेप गरी निजी मेडिकल कलेजहरूको सिन्डिकेट र भर्ना अवरोध गर्ने धम्कीलाई निस्तेज पार्नुपर्छ । नियम, कानुन र आयोगको निर्णय नमान्ने शिक्षण संस्थाहरूको सम्बन्धन खारेजी वा सरकारी स्वामित्वमा लिएर पठनपाठन सञ्चालन गर्नेसम्मको कठोर विकल्पमा जान राज्य पछि हट्नु हुँदैन । स्वार्थको बखेडा अन्त्य गरी निर्धारित समयमै स्वच्छ, पारदर्शी र गुणस्तरीय भर्ना प्रक्रिया सुनिश्चित गर्नु नै आजको आवश्यकता देखिन्छ ।
२०८३ मंसिर १० गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































