नेपालको राजनीतिमा पुरानो कार्यशैली, ढिलासुस्ती र अकर्मण्यताविरुद्ध जनताले दिएको ऐतिहासिक र अभूतपूर्व जनमतपछि बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको करिब दुईतिहाइ बहुमतको सरकारसँग आमनागरिकका अपेक्षाहरू आकाशिएका छन् । नयाँ पुस्ता र युवा नेतृत्वले सत्ताको बागडोर सम्हालेसँगै वर्षौँदेखि जकडिएको प्रशासनिक जडता तोडिने, विकास निर्माणका कामले युद्धस्तरमा गति लिने र पुँजीगत बजेट खर्चमा आमूल रूपान्तरण आउने विश्वास गरिएको थियो ।
तर चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो ४ महिना (साउनदेखि कात्तिक मसान्तसम्म) को सार्वजनिक वित्त तथा बजेट कार्यान्वयनको तथ्यांकले आमनागरिकको त्यो उच्च अपेक्षामाथि चिसो पानी खन्याइदिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार ४ महिनाको अवधिमा पुँजीगत (विकास) खर्च वार्षिक विनियोजनको जम्मा ७.५३ प्रतिशतमा सीमित हुनुले सरकारको नेतृत्व फेरिए पनि विकास खर्च गर्ने पुरानै सुस्त र रोगी प्रवृत्तिले निरन्तरता पाएको स्पष्ट संकेत गरेको छ ।
चालू आर्थिक वर्षका लागि विनियोजित ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ पुँजीगत बजेटमध्ये कात्तिक मसान्तसम्म जम्मा ३२ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ मात्रै खर्च हुन सक्नु अत्यन्तै निराशाजनक अवस्था हो । यसको अर्थ आर्थिक वर्षको एकतिहाइ समय बितिसक्दा विकास निर्माणका लागि छुट्याइएको ९२ प्रतिशतभन्दा बढी रकम सरकारी ढुकुटीमै थन्किएर बसेको छ । अर्कोतर्फ कर्मचारीको तलबभत्ता र प्रशासनिक सञ्चालनसँग जोडिएको चालु खर्च २७.२९ प्रतिशत र ऋणको साँवा–ब्याज भुक्तानी गर्ने वित्तीय व्यवस्थापनतर्फ २७.७६ प्रतिशत खर्च भइसकेको छ । नियमित प्रशासनिक खर्च र ऋण दायित्व निर्वाह गर्ने काम निर्बाध रूपमा चलिरहँदा प्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्ने, पूर्वाधार विस्तार गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने पुँजीगत खर्च १० प्रतिशतको आँकडासमेत छुन नसक्नु राज्य संयन्त्रको गम्भीर व्यवस्थापकीय कमजोरी हो ।
विकास खर्च मात्र होइन, सरकारको आम्दानी र राजस्व संकलनको पाटो पनि उत्तिकै चुनौतीपूर्ण देखिएको छ । ४ महिनामा कुल वार्षिक लक्ष्यको २३.५८ प्रतिशत मात्रै राजस्व संकलन हुनु, विशेषगरी गैरकर राजस्व १२.६३ प्रतिशतमा खुम्चिनु र वैदेशिक अनुदान प्राप्ति लक्ष्यको १४.०५ प्रतिशतमा सीमित रहनुले आगामी दिनमा स्रोत व्यवस्थापनमा समेत ठूलो दबाब सिर्जना गर्ने देखिन्छ । जब पुँजीगत बजेट समयमै खर्च हुँदैन, तब निर्माण व्यवसायी, निर्माण सामग्री उद्योग, मजदुर र समग्र आपूर्ति शृंखला ठप्पप्रायः बन्छ, जसको प्रत्यक्ष नकारात्मक असर राजस्व संकलनमा पर्न जान्छ ।
विगतका सरकारहरूलाई अस्थिर गठबन्धन, राजनीतिक खिचातानी र अल्पमतको बहाना बनाएर विकास खर्च गर्न नसकेको आरोप लाग्ने गर्थ्यो । तर करिब दुईतिहाइको बलियो राजनीतिक म्यान्डेट र जनसमर्थन प्राप्त वर्तमान सरकारसँग त्यस्तो कुनै बहाना बनाउने छुट छैन । आयोजना छनोटमा हुने ढिलाइ, जग्गा प्राप्ति र वन क्षेत्रको रुख कटानको स्वीकृतिमा देखिने अन्तरमन्त्रालय समन्वय अभाव, ठेक्का व्यवस्थापनको जटिलता र निर्माण व्यवसायीको ढिलासुस्तीजस्ता संरचनात्मक रोगहरूको निदान गर्नकै लागि जनताले नयाँ नेतृत्व रोजेका हुन् । यदि अहिलेकै गति कायम रहने हो भने आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा हतारहतारमा बजेट सिध्याउने ’असारे विकास’को विकृति पुनः दोहोरिने निश्चित छ, जसले सार्वजनिक स्रोतको दुरुपयोग र गुणस्तरहीन पूर्वाधार निर्माणलाई मात्र प्रश्रय दिन्छ ।
युवा नेतृत्वको सार्थकता नारा र भाषणमा होइन, बरु नतिजामुखी कार्यसम्पादन र चुस्त प्रशासनिक सुधारमा झल्किनुपर्छ । आगामी ८ महिनाभित्र बाँकी ९२ प्रतिशत विकास बजेटलाई पारदर्शी र गुणस्तरीय ढंगले खर्च गर्न सरकारले तत्काल कठोर कदम चाल्नैपर्छ । पूर्वतयारी पूरा भएका आयोजनाहरूको ठेक्का प्रक्रिया अविलम्ब टुंग्याउने, निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदार र जिम्मेवारी पन्छाउने कर्मचारीमाथि कार्यसम्पादन सम्झौताअनुसार कारबाही गर्ने र अन्तरनिकाय समन्वयका कानुनी गाँठाहरू फुकाउने कामलाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्छ । राजनीतिक स्थिरता र जनविश्वासलाई विकासको ठोस परिणाममा रूपान्तरण गर्न अब १ दिन पनि विलम्ब गर्नु हुँदैन ।
२०८३ मंसिर ३ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































