काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल ले केही मिडिया र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका मत सर्वेक्षणहरू गलत मनसायका साथ आएको आरोप लगाएका छन् ।
उनले यस्ता प्रक्षेपणहरू योजनाबद्ध रूपमा एमालेविरुद्ध वातावरण बनाउन ल्याइएको दाबी गरे । बुटवलमा बिहीबार आयोजित पत्रकार अन्तरसंवाद कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं २ का एमाले उम्मेदवारसमेत रहेका पौडेलले रुपन्देही–२ सहित देशका विभिन्न निर्वाचन क्षेत्रमा सार्वजनिक गरिएका सर्वेक्षणहरू वास्तविक अवस्थाभन्दा फरक रहेको बताए । “सेटिङका आधारमा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन् । तर ती वास्तविक र तथ्यपरक होइनन् ।
फिल्डको अवस्था धेरै फरक छ । ती प्रक्षेपणहरू फेल खानेछन्,” उनले भने । उनले यस्ता सर्वेक्षणहरू निर्वाचन आचारसंहिता विपरीत हुन सक्ने संकेत गर्दै यसबारे आवश्यक छलफल हुनुपर्ने बताए । “सार्वजनिक गर्न हुने कि नहुने भन्ने विषयमा पछि कुरा गरौंला, तर भरपर्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका प्रक्षेपणमा अहिले सार्वजनिक गरिएजस्ता भ्रमहरू छैनन्,” पौडेलको भनाइ छ । एमालेविरुद्ध भइरहेको अनर्गल प्रचारप्रति मतदाता स्पष्ट भइसकेको दाबी गर्दै उनले ठूलो पार्टी बन्नबाट एमालेलाई कसैले रोक्न नसक्ने जिकिर गरे । रुपन्देहीमा पाँच निर्वाचन क्षेत्र र लुम्बिनी प्रदेशमा २६ निर्वाचन क्षेत्र रहेको उल्लेख गर्दै उनले प्रदेश र जिल्लास्तरमा एमाले बहुमतसहित पहिलो शक्ति बन्ने दाबी गरे । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले आफूले विगतमा थालेका विकास निर्माणका कामहरू पूरा गर्न तथा नयाँ योजनाहरू कार्यान्वयन गर्न जनताको समर्थन आवश्यक रहेको बताए । “जनताले विगतमा गरेका काम, अनुभव र योग्यताका आधारमा आफ्नो प्रतिनिधि छनोट गर्छन्,” उनले भने, “जतिसुकै हल्ला फैलाइए पनि मतदाताले सत्य छुट्याउन सक्नेछन् ।”
रुपन्देहीमा सञ्चालित विभिन्न पूर्वाधार आयोजना, सडक, पुल, औद्योगिक तथा शहरी विकासका योजनाहरूको निरन्तरता र प्रभावकारी सञ्चालनका लागि एमालेको नेतृत्व आवश्यक रहेको उनको दाबी छ । सम्पन्न भइसकेका आयोजनाहरूको व्यवस्थापन सुदृढ गर्दै बाँकी योजनाहरू समयमै सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको उनले बताए । निर्वाचन नजिकिँदै जाँदा मत सर्वेक्षण र राजनीतिक आरोप–प्रत्यारोप तीव्र बन्दै गएको सन्दर्भमा पौडेलको अभिव्यक्तिले रुपन्देहीसहित लुम्बिनी प्रदेशको चुनावी माहोल थप तातिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































