काठमाडौं । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रतिनिधिसभा प्रत्यक्षतर्फको परिणाम सार्वजनिक गर्ने जनाएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका संकलन र गणनाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै नतिजा छिटो सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले पहाडी र हिमाली भूभागबाट मतपेटिका सकेसम्म छिटो संकलन गरिने बताए । दुर्गम क्षेत्रका मतदान केन्द्रहरूबाट मतपेटिका ढुवानीका लागि आवश्यक सवारी साधन, हेलिकोप्टर र सुरक्षाकर्मीको व्यवस्था मिलाइएको उनले जानकारी दिए । “पहाडी र हिमाली भूभागबाट मतपेटिका सकेसम्म छिटो संकलन गर्छौं । पहिलो हुनेतर्फ मतगणना प्रारम्भ भएको २४ घण्टाभित्रै परिणाम आउँछ,” उनले भने ।
उनका अनुसार मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा सम्बन्धित मतगणना केन्द्रमा ल्याइनेछ र सबै तयारी पूरा भएसँगै तत्काल गणना सुरु गरिनेछ । आयोगले मतगणनास्थलमा आवश्यक जनशक्ति परिचालन गरिसकेको छ भने राजनीतिक दलका प्रतिनिधि र पर्यवेक्षकको उपस्थितिमा पारदर्शी रूपमा गणना प्रक्रिया अघि बढाइने जनाएको छ । भण्डारीले समानुपातिकतर्फको मतगणना पनि छिटो सम्पन्न गर्ने लक्ष्य रहेको बताए । प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भइसकेपछि समानुपातिक मत गणनालाई पनि तीव्र बनाइने उनले स्पष्ट पारे । समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पाएको मतको अनुपातअनुसार सिट बाँडफाँट हुने भएकाले अन्तिम परिणाम तयार पार्न केही प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने उनले उल्लेख गरे । यद्यपि, अघिल्ला निर्वाचनको तुलनामा यसपटक नतिजा सार्वजनिक गर्ने प्रक्रिया छिटो र व्यवस्थित हुने दाबी उनले गरे।
निर्वाचनको मिति घोषणा भएपछि युवापुस्तामा उत्साह थपिएको भण्डारीको भनाइ छ । मतदाता शिक्षा कार्यक्रम, सामाजिक सञ्जालमार्फत गरिएको जनचेतना र नागरिक समाजको सक्रियताले मतदानप्रति सकारात्मक वातावरण सिर्जना भएको उनले बताए । “पहिलेभन्दा मत खस्ने प्रतिशत बढ्ने र बदर हुने प्रतिशत घट्ने हाम्रो अपेक्षा छ,” उनले भने । आयोगका अनुसार यस पटक मतपत्र छपाइदेखि वितरणसम्मका प्रक्रियामा विशेष सावधानी अपनाइएको छ । मत बदर नहोस् भन्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकता दिइएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीलाई पनि मतदातालाई आवश्यक निर्देशन दिने विषयमा तालिम प्रदान गरिएको जनाइएको छ ।
सुरक्षा व्यवस्थाबारे बोल्दै भण्डारीले मतदान र मतगणना दुवै चरणमा पर्याप्त सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा आवश्यक परे अन्य सुरक्षा निकायसमेत परिचालन गरिनेछ । संवेदनशील र अति संवेदनशील केन्द्रहरूमा विशेष निगरानीको व्यवस्था गरिएको उनले बताए । आयोगले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र मतदातालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ । मतगणनाको क्रममा अफवाह फैलाउने वा अनावश्यक विवाद सिर्जना गर्ने गतिविधिबाट टाढा रहन आयोगले चेतावनी दिएको छ । आधिकारिक जानकारी आयोगको वेबसाइट र तोकिएका माध्यममार्फत मात्र सार्वजनिक गरिने जनाइएको छ । समग्रमा, आयोगले छिटो, पारदर्शी र विश्वसनीय ढंगले नतिजा सार्वजनिक गर्ने तयारी पूरा भएको दाबी गरेको छ । २४ घण्टाभित्र प्रत्यक्षतर्फको परिणाम आउने घोषणासँगै राजनीतिक वृत्त र आम मतदातामा चासो बढेको छ । अब सबैको ध्यान मतगणना प्रक्रियातर्फ केन्द्रित भएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































