मध्यपूर्वमा बढ्दै गएको इरान, इजरायल र अमेरिका बिचको सैन्य टकरावले विश्व राजनीतिलाई मात्र होइन, रोजगारीमा रहेका लाखौँ नेपालीको जीवनलाई समेत निकै जोखिमपूर्ण र त्रसित बनाएको छ । फागुन १६ गतेदेखि सुरु भएको आक्रमण र प्रतिआक्रमणको शृंखलाले खाडी क्षेत्रमा कार्यरत करीब १७ लाख २९ हजार नेपाली समस्यामा परेका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको आक्रमणमा १ नेपालीको मृत्यु र १४ जना घाइते भएको घटनाले युद्धको प्रभाव नेपालीको घरदैलोसम्म आइपुगेको भान हुन्छ । अहिलेको मुख्य चिन्ता १७ लाखभन्दा बढी नेपालीको सुरक्षा र उनीहरूको सुरक्षित घर फिर्तीको हो । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा ६० हजारभन्दा बढीले विवरण दर्ता गराउनु र तीमध्ये ५ हजारले आफूहरू पूर्णतः असुरक्षित रहेको भन्दै घर फर्किन चाहेको विवरण दिनुले अवस्था कति भयावह छ भन्ने प्रष्ट हुन्छ । मध्यपूर्वका साउदी अरेबिया, कतार, यूएई र कुवेत जस्ता देशहरूमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई लक्षित गरी इरानले गरिरहेको ड्रोन तथा क्षेप्यास्त्र प्रहारले नेपाली श्रमिकहरूलाई कार्यस्थल र निवास दुवै ठाउँमा असुरक्षित बनाएको छ ।
परराष्ट्र मन्त्रालयले सचिवको नेतृत्वमा आपतकालीन प्रतिक्रिया टोली गठन गरी दूतावासहरूलाई निर्देशन दिनु र उद्धार उडानको सम्भावनाबारे अध्ययन सुरु गर्नु सकारात्मक कदम हो । तर कुवेतको हवाई मार्ग पूर्णरूपमा बन्द हुनु र अन्य देशबाट पनि आंशिक उडान मात्र हुनुले उद्धार प्रक्रिया जटिल बन्न सक्ने देखिन्छ । यस्तो अवस्थामा सरकारले केवल तथ्यांक संकलनमा मात्र सीमित नभई सक्रिय कूटनीतिक पहलमार्फत आफ्ना नागरिकको रक्षा गर्नुपर्छ । कुवेतमा अड्किएका नेपालीलाई सडक मार्गबाट सुरक्षित स्थानमा पुर्याउने प्रयासलाई तीव्रता दिनु र अन्य देशमा रहेका नेपालीलाई पनि कार्यस्थलमै पुगेर मनोसामाजिक परामर्श र सुरक्षाको प्रत्याभूति दिनु आवश्यक छ ।
युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूका लागि सामाजिक सञ्जालमा फोटो वा भिडियो खिचेर राख्ने जस्ता गतिविधि घातक हुन सक्ने मन्त्रालयको चेतावनीलाई सम्बन्धित सबैले पालना गर्नु जरुरी छ । तर सरकारको जिम्मेवारी चेतावनी दिने मात्र होइन । खाडी मुलुकहरू नेपालको अर्थतन्त्रका मेरुदण्ड हुन्, जहाँबाट आउने रेमिट्यान्सले मुलुक धानिएको छ, आज तिनै श्रमिकहरू त्रासमा बसेर काम गरिरहँदा राज्यले उनीहरूलाई राज्य रहेको विश्वास दिलाउन सक्नुपर्छ ।
अबको बाटो भनेको सम्भावित ठूलो संकटका लागि पूर्वतयारी गर्नु हो । यदि युद्ध अझै चर्कियो भने लाखौँ नेपालीलाई कसरी स्वदेश फिर्ता गर्ने भन्ने विस्तृत योजना नेपाल सरकारले बनाउनुपर्छ । अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित देशका सरकारहरूसँग समन्वय गरी नेपालीहरूलाई सुरक्षित आश्रयस्थल वा स्वदेश फिर्तीको ग्यारेन्टी गर्नु आजको प्रमुख कूटनीतिक कार्यभार हो । आफ्ना नागरिकको सुरक्षा राज्यको पहिलो दायित्व हो । ५ हजारभन्दा बढी नेपालीले व्यक्त गरेको असुरक्षाको भावलाई गम्भीरतापूर्वक लिँदै नेपाली नागरिकको सुरक्षित घर फर्किने पर्खाइलाई सरकारले सफल पार्न ढिलाइ गर्नु हुँदैन ।
मिति २०८२ फागुन २८ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।



































