काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलनका क्रममा भएको घटनाबारे काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले सरकारको बल प्रयोगलाई ‘आतंकवादी शैली’को संज्ञा दिएका छन्।
पूर्वप्रधानन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष बयान दिँदै उनले यस्तो बताएका हुन्। आयोगले सरकारलाई बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक नभए पनि बाहिरिएका विवरणअनुसार शाहले भदौ २३ गतेको प्रदर्शन शान्तिपूर्ण रहेको उल्लेख गर्दै त्यसमा आफ्नो समर्थन रहेको तर आफू प्रत्यक्ष सहभागी नभएको बताएका छन्। उनले सो दिन आफू लैनचौरस्थित सरकारी निवासमै रहेको जानकारी दिएका छन्।
आयोगलाई दिएको बयानमा शाहले प्रदर्शनका क्रममा व्यवसायी तथा रेस्टुरेन्ट सञ्चालकहरूको आग्रहपछि महानगर प्रहरी बलमार्फत पानी वितरण गरिएको बताएका छन्। साँझतिर अवस्था तनावपूर्ण बन्दै गएको कुरा सञ्चार माध्यममार्फत थाहा पाएको उल्लेख गर्दै उनले आफ्नो सामाजिक सञ्जालमार्फत संयम अपनाउन गरेको अपिलले आन्दोलनलाई केही हदसम्म शान्त बनाउन मद्दत गरेको बताएका छन्। उनले जनधनको सुरक्षालाई ध्यानमा राख्दै सामाजिक सञ्जालमार्फत संयमता अपनाउन आग्रह गरेको र घटनापछि महानगर प्रहरी बलसहित अन्य विभागसँग समन्वय गरी घाइते तथा मृतकका परिवारलाई तत्काल सहयोग उपलब्ध गराइएको जानकारी आयोगलाई दिएका छन्।
भदौ २४ गतेको घटनालाई ‘दुःखद’ भन्दै शाहले २३ गते सरकारले गरेको अत्यधिक बल प्रयोगकै परिणामस्वरूप २४ गतेको स्थिति थप जटिल बनेको बताएका छन्। उनले सरकारको कदमलाई ‘आतंकवादी शैली’को रूपमा व्याख्या गर्दै त्यसले परिस्थिति नियन्त्रणभन्दा बाहिर लैजाने काम गरेको जिकिर गरेका छन्। आयोगसमक्ष उनले भदौ २४ गते महानगरपालिकाले समयमै दमकल परिचालन गरेको र महानगरभित्रका संरचनामा लागेको आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। शाहले आफ्नो बयानमा आन्दोलन शान्त पार्न आफूले भूमिका खेलेको दाबी पनि गरेका छन्। उनले राष्ट्रपति र प्रधान सेनापतिको आग्रहमा आन्दोलनलाई शान्त बनाउन पहल गरेको उल्लेख गर्दै त्यसका लागि आफूले सार्वजनिक अपिलहरू जारी गरेको बताएका छन्।
त्यसैगरी उनले तत्कालीन सरकारमाथि गम्भीर आरोप लगाउँदै आन्दोलनका क्रममा भएका हिंसा, क्षति र मानवीय हताहतीको जिम्मेवारी सरकार र त्यसमा सहभागी राजनीतिक दलहरूले लिनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा चर्चित बनेको ‘जलाइदिन्छु’ अभिव्यक्तिबारे पनि उनले स्पष्ट पारेका छन्। फोहोर व्यवस्थापनका क्रममा बञ्चरेडाँडा जाने गाडी रोकिएपछि विरोधस्वरूप ‘मेटाफोर’का रूपमा फेसबुकमा अभिव्यक्ति दिएको भए पनि ‘जलाइदिन्छु’ भन्ने शब्द प्रयोग नगरेको उनले आयोगलाई बताएका छन्। समग्रमा आयोगको प्रतिवेदनमा समावेश बालेन शाहको बयानले आन्दोलनका क्रममा सरकारको बल प्रयोगप्रति कडा आलोचना गर्दै त्यसले नै परिस्थितिलाई थप हिंसात्मक बनाएको दाबी प्रस्तुत गरेको देखिन्छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































