राताम्मे पहाडको काखमा लुकेको सम्पदा: छुसाङको गुफाभित्र ‘मिन्ची ल्हवङ’ गुम्बा

मुस्ताङ । मुस्ताङको उकालो–ओरालो भूगोल, हावाले उडाएका माटोका पहाड र शुष्क परिदृश्यबीच कतै लुकेर बसेका छन् समयका साक्षी—पुराना गुफा र गुम्बाहरू।

यिनैमध्ये वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङको भिरालो राताम्मे पहाडभित्र रहेको ‘मिन्ची ल्हवङ’ गुम्बा एउटा अद्भुत धरोहर हो, जसले इतिहास, धर्म र प्रकृतिलाई एकै ठाउँमा बाँधेको छ।

जोमसोम हुँदै कागबेनी–कोरला सडक पार गर्दा एकछिन नजर उठाएर हेर्ने हो भने माटोको पहाडको काखमा देखिन्छ एउटा अनौठो आकृति। नजिक पुग्दा मात्र थाहा हुन्छ,त्यो साधारण गुफा होइन, बरु गुफाभित्रै स्थापना गरिएको प्राचीन गुम्बा हो। यो गुफाभित्रको धार्मिक बुद्धिस गुम्बा छुसाङगाउँका छ परिवारको स्वामित्वमा छ करिब एक हजार २०० वर्ष पुरानो मानिने यो गुम्बा समयको धूलोभित्र पनि आफ्नै पहिचान जोगाएर उभिएको छ। यहाँ दैनिक साँझ छ परिवारका व्यक्तिले बर्सेनि आलोपालो गरी बत्ती बाल्ने र पूजाआजा गर्ने गर्दछन् ।

स्थानीय छ परिवारको स्वामित्वमा रहेको यो गुम्बा केवल धार्मिक स्थल मात्र होइन, पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको आस्थाको केन्द्र पनि हो। यहाँ हरेक साँझ आलोपालो रूपमा बत्ती बाल्ने र पूजाआजा गर्ने परम्परा अझै जीवित छ। स्थानीय श्याम गुरुङका अनुसार यो गुम्बा उनीहरूको ‘कुलदेवता’ जस्तै हो—जसलाई जोगाउनु उनीहरूको कर्तव्य र पहिचान दुवै हो। कोरला सडकमार्गको माथि भिरालो सतहमा अवस्थित गुफा निकै जोखिमयुक्त स्थानमा अवस्थित छ । परापूर्व कालमा छुसाङ गाउँका पूर्खाहरूले यहाँ पहाड खोपेर गुम्बा प्रतिस्थापन गरेका स्थानीय बताउँछन् । यहाँको गुम्बा कति वर्ष पुरानो हो भन्ने तथ्य स्वयं गुम्बाको स्वामित्व बोकेका पछिल्ला पुस्तालाई यकिन जानकारी नभएको छ परिवारमध्येका स्थानीय श्याम गुरुङले जानकारी दिए । परापूर्वकालमा मनाङबाट आएका पूर्खाले आफ्नो देवतालाई साथै लिएर छुसाङ गाउँमा स्थानान्तरण भएको भन्ने विश्वास रहँदै आएको उनले बताए ।

तर यो सम्पदा जति आकर्षक छ, उति नै जोखिममा पनि छ। करिब एक सय मिटर अग्लो माटोको पहाडमा रहेको गुफा भूक्षय र प्राकृतिक प्रकोपको जोखिममा छ। गुफासम्म पुग्न काठका भर्‍याङ चढ्नुपर्छ, जसले यात्रालाई साहसिक त बनाउँछ, तर जोखिम पनि बढाउँछ। यद्यपि, सीमित स्रोत र साधनबीच पनि स्थानीयले यसको संरक्षणमा निरन्तर प्रयास गरिरहेका छन्। पर्यटकले दिने स्वेच्छिक चन्दा नै गुम्बाको मर्मत र संरक्षणको मुख्य आधार बनेको छ। केही विदेशी अनुसन्धानकर्ताले समेत यस गुम्बाको अध्ययन गर्दै आंशिक सहयोग गरेका छन्।

निकै कमजोर भूसतहमा अवस्थित गुफा आफैँमा जोखिम स्थानमा रहेको जनाउँदै स्थानीय गुरुङले पुरातात्विक र ऐतिहासिक महत्त्वको यस गुफा र भित्र रहेको गुम्बा संरक्षण गर्नुपर्ने अभिभारा यहाँका छ परिवारलाई रहेको बताए । उनका अनुसार वर्षौंदेखि यिनै छ परिवारका पुस्ताले गुफा र गुम्बा संरक्षण गर्दै आइरहेका छन् ।

करिब एक सय मिटर अग्लो माटोको पहाडमा रहेको गुफामा भूक्षय र बाढीले क्षति पुर्याउन सक्ने जोखिम रहेकाले सरोकार भएका निकायले यसको संरक्षण गर्नुपर्नेमा स्थानीय गुरुङले जोड दिए । भगवान्को शक्तिले गुफा र गुफाभित्रको गुम्बामा हालसम्म कुनै असर नभएको उनले उल्लेख गरे । यस अनौठो गुफाभित्रको माथिल्लो तलामा गुम्बा प्रतिस्थापन गरिएको छ । गुम्बामा अधिकांश माटोद्वारा निर्मित बुद्धका विभिन्न स्वरुपका मूर्तिहरू ८०० वर्षभन्दा बढी पुराना रहेका स्थानीय गुरुङले जानकारी दिए । एउटा फ्रेम (चौघेरो) भित्र राखिएको हरिताराको ढुङ्गाको मूर्ति एक हजार २०० वर्ष पुरानो मानिएको उहाँले विश्वास व्यक्त गरे । उनका अनुसार गुम्बाभित्र एक दर्जन बुद्ध भगवान्का विभिन्न स्वरुपका मूर्ति प्रतिस्थापन भएका छन्।

“गुम्बामा चन्दा सङ्कलनका लागि बाकस राखिएको छ । गुफा र गुम्बा दर्शन गर्ने र विदेशी पर्यटकले स्वेच्छिक चन्दा दान गर्दछन्”, स्थानीय गुरुङले भने, “चन्दा बाकसमा जम्मा भएको रकम गुम्बाको संरक्षण र हिउँ पर्दा गुफाको छतमाथिको हिउँ पन्छाउन खर्च गरिन्छ ।” उनका अनुसार गुफाभित्रको मिन्ची ल्हवङ गुम्बाको ओढारभित्र वर्षौँ पुराना कलात्मक पेन्टिङहरू अवस्थित छन् । यसरी गुफाको भूगोलसँग मिल्दो माटोको रङ्गले गुफाको माथिल्लो तलाको भित्ता र सिलिङमा पेन्टिङ गरिएको उनले जानकारी दिए ।

“गुफाको दोस्रो तलामाथिको एउटा कुनामा बुद्धका मूर्तिहरू छन् । यहाँ गुम्बा परिक्रममा गर्ने ठाउँ छ । गुफाभित्रको गुम्बालाई केही विदेश संस्थाका अनुसन्धानकर्ताले पनि अध्ययन पनि गरिसकेका छन्”, स्थानीय गुरुङले भने । गुम्बा संरक्षणका लागि विदेशीले प्राविधिक तथा आर्थिक सहयोग गरी गुम्बा मर्मतसम्भार कार्यमा सहयोग पुर्याएको स्थानीय उनले बताए । वर्षौं पुरानो गुम्बा र यहाँका मूर्तिहरू जीर्ण बन्दै जान थालेकाले यसको संरक्षण र मर्मतसम्भार गर्न सरोकार भएका निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए । छुसाङको भिरालो पाखोमा अवस्थित गुम्बा, गुफाभित्रको पहिलो तला र दोस्रो तलामा उज्यालोका लागि झ्याल जस्ता केही प्वालहरू बनाइएको छन् । गुफाको भुइँतलाबाट माथि उक्लिन दुई वटा काठका भर्‍याङ राखिएको छ । भर्‍याङ चढेर गुफाको माथिल्लो तलामा पुग्न सकिन्छ ।

व्यक्तिगत रूपमा छ परिवारको स्वामित्वमा रहेकाले यस गुफा र गुम्बाको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयको आयआर्जन वृद्धि हुने स्थानीय गुरुङले बताए । “यो हाम्रो गुफाभित्रको गुम्बा कुलदेवता जस्तै हो, पूर्खाहरूले पूजाआजा गर्ने थलो हो”, उनले गुरुङले भने, “त्यसैले हामीले यसलाई सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नुपर्छ । गुफा र गुम्बा पर्यटक लोभ्याउने खालको भएकाले पर्यटन प्रवर्द्धन गर्नु जरुरी छ ।”

हालसम्म गुफा र गुम्बालाई प्रचारप्रसार नगरेकाले मुस्ताङका अधिकांश यहाँका गुम्बाबारे अनभिज्ञ रहेका स्थानीय गुरुङको भनाइ छ । कागबेनी-कोरला सडक नजिकै रहेको छुसाङस्थित अनौठो गुफाभित्रको मिन्ची ल्हवाङ गुम्बा ऐतिहासिक धरोहर र पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य बन्नसक्ने स्थानीय गुरुङले बताए ।

अचम्मको कुरा के भने,यति महत्वपूर्ण ऐतिहासिक र धार्मिक धरोहर अझै प्रचारप्रसारको अभावमा ओझेलमै छ। धेरै पर्यटक र स्थानीयसमेत यसबारे अनभिज्ञ छन्। जबकि मुख्य सडकबाट मात्र पाँच मिनेटको पैदल दूरीमा रहेको यो गुफा–गुम्बा सहजै पुग्न सकिने गन्तव्य हो। स्थानीयको विश्वास छ,यदि यस गुम्बाको उचित संरक्षण र प्रवर्द्धन गर्न सकियो भने यसले मुस्ताङको पर्यटनमा नयाँ आयाम थप्न सक्छ। साथै, स्थानीयको आयआर्जनमा समेत टेवा पुग्नेछ।

प्रकृतिको काखमा लुकेको यो गुफाभित्रको गुम्बा केवल ईँटा–ढुङ्गाको संरचना होइन, यो समय, संस्कार र विश्वासको जीवित कथा हो। जसले हरेक आगन्तुकलाई एउटा अनौठो अनुभव मात्र होइन, इतिहाससँगको साक्षात्कार गराउँछ। गुफासम्म जान मुख्य सडकबाट पैदल हिडेर पाँच मिनेटमा सहजै पुग्न सकिन्छ । गुफा र गुम्बाको आवश्यक प्रचारप्रसार हुन सकेमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका स्थानीयको आयआर्जन वृद्धि हुने स्थानीय बताउँछन् । यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह र अन्य सरोकार भएका निकायले पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका हुन् ।