रैथाने सीप हस्तान्तरणको उदाहरणीय प्रयास

कुनै पनि देश वा समाजको पहिचान मौलिक संस्कृति, परम्परा र पुस्तौँदेखि चल्दै आएको रैथाने सीपमा टिकेको हुन्छ । तर तीव्र आधुनिकीकरण, पश्चिमा संस्कृतिको बढ्दो प्रभाव र नयाँ पुस्ताको उदासिनताका कारण अमूल्य रैथाने सीप र संस्कृतिहरू दिनानुदिन संकटमा पर्दै गइरहेका छन् ।

यस्तो प्रतिकूल अवस्थामा पाल्पाको तानसेन नगरपालिका–२ वडा कार्यालयले आफ्नो आर्थिक सहयोगमा स्थानीय युवा, महिला र विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘जनै बाट्ने सीपमूलक तालिम’ सांस्कृतिक पुनर्जागरण र रैथाने ज्ञान संरक्षणको क्षेत्रमा एउटा उदाहरणीय र प्रसंशनीय प्रयास बनेको छ ।
हिन्दू सनातन परम्परामा जनैको विशिष्ट धार्मिक, आध्यात्मिक र वैज्ञानिक महत्व छ । जनैमा रहने शिखर र यसमा पारिने ब्रह्मागाँठोले सृष्टि, स्थिति र लयका बुट्टा अर्थात् ब्रह्मा, विष्णु र महेशको प्रतीकात्मक अर्थ बोकेको हुन्छ । तागाधारी समुदायका लागि जनै केवल एउटा धागो मात्र नभई संस्कार, अनुशासन र पहिचानको प्रतीक हो ।

पाल्पामा झन्डै १५ वर्षअघिसम्म गाउँगाउँमा ब्राह्मण तथा तागाधारीहरूका घरघरमा आफैँ जनै बाट्ने र परम्परा धान्ने बलियो रैथाने चलन थियो । तर पुरानो पुस्ता ओझेलिँदै जाँदा र नयाँ पुस्ताले यसको महत्व नबुझी चासो नदिँदा रैथाने सीप गाउँघरबाट झन्डै लोप हुने अवस्थामा पुगेको थियो । तानसेनको पछिल्लो अग्रसरताले हराउन लागेको त्यही सीपलाई नयाँ जीवन दिँदै स्थानीय ज्येष्ठ नागरिकहरूमा उत्साहको नयाँ किरण छरेको छ ।

रैथाने सीप सिकाउने तालिम धार्मिक कार्यको संरक्षणमा मात्र सीमित छैन, यसका बहुआयामिक सामाजिक, सांस्कृतिक र आर्थिक पाटाहरू छन् । ज्ञान र सीप जबसम्म एक पुस्ताबाट अर्को पुस्तामा सर्दैन, तबसम्म त्यसको अस्तित्व रहँदैन । तानसेन नगरभित्रका ४० जना विद्यार्थी, महिला र पुरुषले सामूहिक रूपमा सीप सिक्न थाल्नुले पुस्तान्तरणको ठूलो संकटलाई टार्नेछ । यसले युवाहरूलाई आफ्नो जरा र मौलिक संस्कृतिसँग जोड्ने काम गरेको छ ।

अभियानले स्थानीय स्तरमा स्वरोजगार बन्ने ठूलो सम्भावना बोकेको छ । जनै बनाउन ठूला र महँगा मशिन वा ठूलो पूँजीको आवश्यकता पर्दैन । घरमै बसेर फुर्सदको समयमा सहजै गर्न सकिने घरेलु व्यवसाय हो । महिला, विद्यार्थी र फुर्सदिला युवाहरूले यसलाई व्यावसायिक रूपमा अगाडि बढाएर राम्रो आम्दानी गर्न सक्छन् । बजारमा वर्षभरि नै र विशेष गरी जनैपूर्णिमा जस्ता चाडपर्वमा जनैको माग अत्यधिक हुने गर्दछ । तसर्थ सीप सिकेका युवाहरूलाई बजार व्यवस्थापनमा सहयोग गर्ने हो भने आत्मनिर्भर र स्वरोजगार बन्न सघाउँछ ।

राष्ट्रिय अर्थतन्त्रका दृष्टिकोणले सबैभन्दा सुखद पक्ष भनेको आयात प्रतिस्थापनमा सहयोग पुग्नु हो । कपास फल्ने र धागो उत्पादन हुने नेपालमा जनै जस्तो सामान्य वस्तु समेत नबनाइँदा बर्सेनि छिमेकी मुलुकहरूबाट जनै आयात हुने गरेको छ । यसले गर्दा एकातिर पुँजी बाहिरिएको छ भने अर्कातिर धार्मिक मर्यादाको समेत खिल्ली उडेको छ । बजारमा पाइने अधिकांश किनुवा जनैहरू मशिनबाट विना विधि र प्रक्रिया पुर्‍याई बनाइएका हुन्छन्, जसलाई तागाधारीहरू जनै नभई केवल ‘धागोको टुक्रा’ मात्र मान्दछन् । स्वदेशमै विधिपूर्वक हातले बाटिएका शुद्ध जनै उत्पादन गर्न सकेमा करोडौँको आयात रोकिने निश्चित छ ।

तानसेन नगरपालिकाले सुरु गरेको अभियानलाई अब देशका अन्य स्थानीय तहहरूले पनि भूगोल र परम्परा अनुकूल सिको गर्नु आवश्यक छ । मुस्ताङमा गलैँचा बुन्ने सीप, तराईमा मिथिला कला र गुन्द्री बुन्ने सीप, पहाडमा राडीपाखी र जनै बाट्ने जस्ता रैथाने ज्ञानलाई ब्युँताउनु आजको आवश्यकता हो । जनै बुन्ने सीप सिकेका यी ४० जना युवालाई अब उत्पादन र बजारसँग जोडेर यसलाई दिगो बनाउन वडा कार्यालयले थप योजना ल्याउनुपर्छ ।

मिति २०८३ असार ५ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।