ताइवानको बुलेट रेल

काठमाडौँमा रेलमार्गको चर्चा भइरहेकै बेला ताइवानमा बुलेट रेलमा यात्रा गर्ने अवसर जुट्यो । यसले नयाँ किसिमको अनुभव पनि दियो ।

ताइवानको बुलेट रेललाई ‘ताइवान हाई स्पीड रेल (टीएचएसआर) भनिन्छ । यो ताइवानको सबैभन्दा छिटो रेल सेवा हो । यसलाई जापानी शिन्कान्सेन प्रविधिमा आधारित रहेर बनाइएको मानिने रहेछ । शिन्कान्सेनको गति प्रतिघण्टा ३२० किलोमिटर रहेछ ।

ताइवानी बुलेट रेलको अधिकतम गति ३०० किलोमिटर प्रतिघण्टासम्म छ । यो रेलमार्ग उत्तरी शहर ताइपेईदेखि दक्षिणी शहर काओसिङसम्म फैलिएको छ । ताइपेईदेखि काओसिङको यात्रा ९०–९६ मिनेटमै पूरा हुन्छ । रेल लाइनको लम्बाई ३०० किलोमिटरको छ । ताइवानको उत्तरी जिल्ला नानगाङदेखि सुरु भएको यात्रा ताइपेई, बानचियाओ, ताओयुआन, ह्सिन्चु, ताइचुङ, चियायी, ताइनान र जुओयिङ (काओसिउङ) लगायतका १२ वटा स्टेसनपछि एकसरो यात्रा टुंगिन्छ । ताइवानमा रेल सेवा सन् २००७ मा सुरु भएको रहेछ ।

ताइवानको बुलेट रेल सेवा निकै प्रभावकारी छ । यो बुलेट रेलको बाटो बनेपछि यहाँका आन्तरिक हवाई यात्रा गर्ने यात्रुलाई हवाइजहाज चढ्नु नै परेन रे ! बुलेट रेल यात्रुहरूका लागि अत्याधिक छिटोछरितो माध्यम हो । सुरक्षित र समयमै चल्ने भनेर प्रख्यात छ र सफा पनि छ । यो रेलमा हवाइजहाजको जस्तै सेवा पाइने रहेछ ।

ठूला हवाइजहाजमा जस्तै ट्रली गुडाउँदै आउने रेलका कर्मचारीसँग खाना, चिया, कफी, जुस आदि किनेर खान पाइन्छ । चौडा र खुला सिटहरू छन् । आफ्नो अगाडिको सिटको पछिल्लो भागमा खाना र कफी राख्नका लागि टेबल छ । खानेकुरा खाइसकेपछि फोहोर उठाउन सफाइ कर्मचारी लगातार आइरहन्छन् । यो लोभ लाग्ने बुलेट रेलको यात्रा र यहाँको सेवा अविष्मरणीय छ । यस वर्षको बजेट तथा कार्यक्रममा काठमाडौँमा मेट्रो रेललाई अगाडि बढाउने संकेत देखिएको थियो ।

काठमाडौँ उपत्यकामा २७.५ किलोमिटर लामो मेट्रो रेल लाइनको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने प्रक्रिया सुरु गरिएको छ । यो रुट नारायणगोपाल चोकबाट सुरु भएर चाबहिल, कोटेश्वर, सातदोबाटो, रत्नपार्क हुँदै नारायणगोपाल चोकमै फर्किने रुट तय गरिँदैछ । यसको डीपीआरको लागि परामर्श दाता छनौट गरिँदै भन्ने सुनिन्छ । रेल विभाग भन्छ, ‘अध्ययन, डिजाइन र लागत अनुमान तयार भएपछि मात्र निर्माणको अन्तिम निर्णय तय हुनेछ ।’ यदि परियोजना कार्यान्वयन भयो भने पनि काठमाडौँको बढ्दो जाम कम गर्न ठूलो भूमिका खेल्नेछ । काठमाडौँमा चल्ने अत्याधिक निजी सवारीहरूको पनि कटौती हुन्थ्यो कि ?

ताइवानमा प्लास्टिकका झोला र बोतलहरूमाथि प्रतिबन्ध लगाइएको छ । भूइँमा टफीको खोस्टा र अन्य फोहोर वस्तु फाल्नुलाई असभ्यताको सूचक मानिन्छ । ताइवान भ्रमण गर्नेहरूलाई पहिले नै प्लास्टिकका झोला नल्याउनका लागि सूचित गरिने रहेछ । यहाँको सरसफाइ व्यवस्था विश्वकै उत्कृष्टमध्ये एक मानिन्छ । यसको बारेमा ताइवानी सरकार र नागरिक दुवै पक्षले सरसफाइमा उच्च प्राथमिकता दिन्छन् । फोहोर व्यवस्थापन निकै व्यवस्थित छ । घरघरबाट निश्चित समयमा फोहोर संकलन गरिन्छ । मानिसहरू आफैँ फोहोर बोकेर संकलन गाडीसम्म पुर्‍याउँछन् । सडकमा सार्वजनिक डस्टबिनहरू त्यति राखिएका देखिँदैनन् । यसले गर्दा सडकहरू सफा रहन मद्दत पुगेको होला सायद । प्लाष्टिक, कागज, काँच, धातु र खाद्य फोहोर छुट्टाछुट्टै वर्गीकरण गरेर पुनः प्रयोग गरिन्छ । यहाँको रिसाइक्लिङ दर विश्वमै उत्कृष्ट मानिन्छ । अधिकांश ठाउँहरूमा सार्वजनिक शौचालयहरू छन् । ताइवानी सरकारले सार्वजनिक शौचालयहरूको गुणस्तर सुधारका लागि विशेष कार्यक्रम नै सञ्चालन गरेको छ ।

यहाँ आन्तरिक र बाह्य गरी १८ वटा विमानस्थलहरू छन् । ताइवान टापुहरूको देश पनि हो । त्यसैले यहाँका साना–साना टापुहरूलाई जोड्नका लागि आन्तरिक हवाइ सेवा पनि उपलब्ध छन् । ताइवान सानो देश हो । तर यहाँका नागरिकहरूले कहिले पनि हाम्रो देश सानो छ भनेर भन्दैनन् । यहाँको क्षेत्रफल जम्मा ३६ हजार १९७ वर्ग किलोमिटर छ, नेपालको एकचौथाइ मात्र । ताइवान सानो देश भए पनि प्राकृतिक सौन्दर्य, आधुनिक शहर, ऐतिहासिक स्थल र समुद्री तटका कारण पर्यटनका लागि अत्यन्तै लोकप्रिय मानिन्छ । यहाँ घुम्नका लागि राम्रा–राम्रा ठाउँहरू छन् । ताइपेई १०१ टावर सबैभन्दा प्रसिद्ध छ । १०१ तलाको टावरबाट पूरै शहरको ३६० डिग्री मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यसको १०१ तला जमिनभन्दा माथि र ५ तला जमिनभन्दा मुनि छन् । सन् २००४ मा निर्माण सम्पन्न भएको टावर सन् २०१० सम्म विश्वकै सबैभन्दा अग्लो भवन भनेर चर्चित थियो ।

पछि दुबईमा बु्रज खालिफाले यसको स्थान लियो । यो टावर उक्लिनका लागि उच्च गतिमा चल्ने लिफ्ट फिट गरिएको छ । टावरको पाँचौँ तलाबाट ८९औँ तलाको अवलोकन डेकसम्म पुग्न मात्र ३७ सेकेण्ड लाग्छ । यहाँको चाख लाग्ने कुरा त के भने भवनभित्र करीब ६६० टनको विशेष ड्याम्पर राखिएको छ । यो सुनौलो रंगको छ । यसलाई ‘ट्युण्ड मास ड्याम्पर’ भनिन्छ । यसले अत्याधिक हावा र भूकम्पको बेला भवनको कम्पन कम गर्न मद्दत गर्छ । यो ड्याम्परलाई दुर्लभ मानिन्छ । भवनको बाहिरी बनावट बाँसको बोटजस्तै देखिने गरी बनाइएको छ । यसले चिनियाँ संस्कृतिमा विकास, समृद्धि र दृढताको प्रतिक भन्ने जनाउँछ ।

यसबाहेक नेसनल प्यालेस म्युजियम, तारोको नेसनल पार्क, सुनमुन ताल, जुफेन बस्ती, केन्टिङ नेसनल पार्क, याङ्मिङ्सान नेसनल पार्क, शिलिङ नाइट मार्केट, कावोसिङको आधुनिक बन्दरगाह, फो गुङ्गसान बौद्ध गुम्बा र लभ रिभर यहाँको प्रमुख हेर्नैपर्ने पर्यटकीय स्थलहरू हुन् । कावोसिङमा रहेको बुद्धको आलिसान सालिक देख्दै श्रद्धाले शीर निहुरिन्छ । सायदै बुद्धले आफ्नो जन्मभूमिमा यति सम्मानपूर्वक बस्न पाएका छन् । ताइवानको सबैभन्दा ठूलो बौद्ध गुम्बा ‘फो गुवाङ्ग शान’मा भगवान् बुद्धलाई यस्तो सम्मान साथ स्थान दिइएको छ ।

यो क्षेत्र नै वास्तवमै अद्भूत छ । यसको स्थापना सन् १९६७ मा भएको हो । यो गुम्बा १०० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको छ । यसको टुप्पोमा १०८ मिटर अग्लो बुद्धको आलिशान मूर्ति बनाइएको छ । यो ताइवानको सबै बुद्ध मूर्तिहरूमध्येको ठूलो हो । यो मूर्तिसम्म जाने बाटोको दायाँबायाँ एउटै प्रकारका सुनौला मूर्तिहरूले स्वागत गर्छन् । यस्ता बुद्ध प्रतिमा मूर्तिहरू यो परिसरमा १० हजारभन्दा बढी छन् । त्यसैले यो परिसरलाई ‘टेन थाउजेण्ड बुद्ध’ पनि भनिन्छ । यो परिसरभित्र ८ वटा स्तुपाहरू पनि छन्, ४ वटा बाटोको दायाँ र ४ वटा बाटोको दायाँ ।

लभ रिभर (माया नदी) । यसको नाम त पहिला ‘एआई हि’ हो रे ! ताइवानी भाषामा ‘एआई’को अर्थ ‘प्रेम’ र ‘हि’को अर्थ ‘नदी’ हो रे ! त्यसैले यसको नाम ‘लभ रिभर’ भएको रे । यसको लम्बाइ १२ किलोमिटर छ । यो नदी कृत्रिम त होइन । तर धेरै सजिसजाउ गरिएको कारण कृत्रिम जस्तै देखिन्छ । यो नदीमा बोटमार्फट पर्यटकलाई सयर गराइन्छ । यहाँ पैदल मार्ग र साइकल मार्गको व्यवस्था पनि छ । नदीको दायाँबायाँ रमणीय पार्क र रेस्टुरेन्टहरू पनि प्रशस्तै छन् । साँझको बेलामा वास्तवमै यो ठाउँ प्रेम संग्राहलय जस्तै देखिन्छ । धेरै वर्ष पहिले यो नदी किनारमा एक जोडी प्रेमी–प्रेमिका नियमित रूपमा भेट्ने गर्थे रे (गाईड अनुसार) । उनीहरूको प्रेम कथासँग यो ठाउँ जोडिँदै गयो र स्थानीय मानिसले यसलाई ‘लभ रिभर’ भन्न थालेको भन्ने जनविश्वास छ ।

यस्तै मनोरम लोटस पोण्ड पनि अर्को ठाँउ छ । यो पोखरीको बिच भागमा जुम्लाहा प्यागोडा बनाइएका छन् । एउटाको नाम ड्रागन र अर्को टाइगर । यहाँको परम्पराअनुसार ड्रागनको मुखबाट प्रवेश गरी टाइगरको मुखबाट बाहिर निस्किनुपर्ने रे ! यसो गर्दा दुर्भाग्य हराएर जान्छ र सौभाग्य प्राप्त हुन्छ भन्ने चिनियाँ विश्वास छ ।

ताइवान सानो देश भए तापनि यहाँका वासिन्दाले कहिले पनि हाम्रो देश सानो भन्दैनन् । यहाँको आधुनिक प्रविधि, विकास, अनुशासित समाज, उत्कृष्ट शिक्षा, विश्वस्तरीय स्वास्थ्य सेवा, स्वच्छ वातावरण र सरसफाइ, लोकतान्त्रिक मूल्य–मान्यता र प्राकृतिक सौन्दर्यताका कारण यो देश विश्वमै सम्मानित र परिचित छ तर स्वतन्त्र हुन सकेको छैन ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।