दाङ, । यहाँको चमेरे गुफा आजकाल सुनसान छ । गुफा तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा अवस्थित छ ।
गुफाले पर्यटकीय सम्भावना बोकेको भए पनि मोटर बाटो नभएकाले आजकाल सुनसान भएको हो । गुफा अवलोकनका लागि पर्यटकलाई पैदल हिँडेर जानुपर्ने बाध्यता छ । गुफासम्म पुग्न करिब चार किलोमिटर बाटो हिँड्नुपर्छ । बाटो कच्ची तथा साँघुरो भएकाले मानिस त्यहाँ जान अल्छी मान्छन् । जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा भने पर्यटकको चहलपहल छ । झन्डै दुई दशक पहिले पत्ता लागेको थियो, चमेरे गुफा । गुफाको प्रचार प्रसार र प्रवर्धन गर्ने सके बाह्य तथा आन्तरिक पर्यटकीयको आकर्षणको केन्द्र बन्ने सम्भावना देखेका छन्, यहाँका स्थानीयले ।
तुलसीपुर उपमहानगरपालिका–४ की ४८ वर्षीया शारदादेवी ओलीले गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिएको गुनासो गर्छिन । उनले गुफाको विकासमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावना छ, भन्नुहुन्छ । गुफाभित्र देवीदेवता, शेषनाग र बाघको स्वरुप देख्न सकिन्छ । गुफाको बाहिरी भाग र भित्री भागका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ ।बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित गुफामा चमेरा बस्ने गरेका छन् । वि.सं.२०५२ मा पत्ता लागेको गुफा कसले र कसरी पत्ता लगायो भन्ने सम्बन्धमा प्रायm अनविज्ञ छन् ।
यहाँका केही जानकार भने भिरमा घाँस काट्न जाँदा महिलाले पत्ता लगाएको बताउँछन् । गुफासम्म पुग्न बाटोमा सिँढी निर्माण गरिएको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर सल्यान सडकखण्डको हर्नेटीसम्म बाटो पक्की छ । चमेरे गुफा संरक्षण समितिका अध्यक्ष भूपबहादुर पुनले गुफासम्म पुग्ने चारकिलो मोटरबाटो साँघुरो र कच्ची हुँदा अवलोकन गर्ने आउने पर्यटकलाई कठिनाइ हुने गरेको बताउछन् । पर्यटक पैदल हिँड्नु अप्ठेरो भएपछि आधा बाटोबाटै फर्कने गरेका छन् । टाढाबाट आउने पर्यटक बस चढेर आउने गरेका छन् । सात वर्ष पहिले यहाँका सरकारी निकायको सहयोग तथा स्थानीयवासीको सक्रियतामा गुफासम्म पुग्ने कच्ची बाटो, यात्रु प्रतीक्षालय, चमेना गृह तथा अन्य केही संरचना निर्माण भए पनि पछिल्ला वर्षमा उक्त संरचना जीर्ण बन्दै गएका छन् ।बजेटको व्यवस्थाका लागि स्थानीयले लुम्बिनी प्रदेश सरकार तथा तुलसीपुर उपमहानगरपालिकामा हारगुहार गरेपनि केही सुनुवाइ नभएको अध्यक्ष पुनले बताए ।
चमेरे गुफालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न गुफाभित्र बिजुली, सिँडी, बाहिर प्रतीक्षालय, शौचालय, सिँडी, चमेना गृह पनि निर्माण गरिए पनि मुख्य बाटो सहज नहुँदा सास्ती हुने गरेको अध्यक्ष पुन बताउछन् । हाल संरक्षण समितिले चमेरे गुफा अवलोकनका लागि प्रतिव्यक्ति २० लिने गरको छ । त्यसबाट जम्मा भएको रकम गुफाको विकासमा उपयोग गरिँदै आएको छ । तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखाका प्रमुख झरेन्द्र खरेलले यस वर्ष चमेरे गुफाको भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन नभएको जानकारी दिए । उनले गुफा संरक्षणमा पर्यटकीय गन्तव्य बनाउने योजना रहेता पनि बजेट अभावका कारण सडक पक्की बनाउन नसकेको बताए ।
उनले भने “बाटो पक्की बनाउनका लागि ठूलो आकारको बजेट चाहिन्छ । त्यो उपमहानगरपालिकाको बजेटले पर्याप्त नहुने हुँदा भौतिक पूर्वाधार विकास अन्तर्गत संघीय सरकार तथा प्रदेश सकार रकम विनियोजन गरिनुपर्छ । “सन् २०११ मा चमेरे गुफाको प्रचार प्रसारका लागि भन्दै स्थानीयको सहयोगमा महोत्सव पनि आयोजना गरिएको थियो । सो अवधिमा धेरै सङख्यामा पर्यटकले गुफाको अवलोकन गरेका थिए । तर पछिल्ला वर्षमा गुफाको अवलोकनमा आउनेको सङख्या कमी हुँदै गएको छ ।



































