भोटेकोशी–त्रिशूली बाढीमा १९ देशका ६२३ विदेशी नागरिक बेपत्ता

काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढीमा परी १९ देशका ६२३ जना विदेशी नागरिक बेपत्ता भएको सरकारले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सम्बन्धित देशका निकायबाट प्राप्त विवरणका आधारमा उक्त संख्यामा विदेशी नागरिक बेपत्ता भएको पुष्टि भएको हो । बाढीमा बेपत्ता हुने विदेशी नागरिकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन् । भारतका २१३ जना नागरिक बेपत्ता भएको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ । त्यस्तै चीनका ८५, अमेरिकाका ६९, युक्रेन र मलेसियाका ५४–५४ जना नागरिक बेपत्ता भएका छन् ।

यसैगरी अस्ट्रेलियाका ३३, बेलायतका ३२ र क्यानडाका २७ जना नागरिक बाढीमा परी बेपत्ता भएको विवरण प्राप्त भएको छ । रुसका ११, दक्षिण कोरिया र सिङ्गापुरका नौ–नौ तथा जर्मनीका आठ जना नागरिकको विवरण पनि प्राधिकरणमा आएको छ । दक्षिण अफ्रिकाका छ, फ्रान्सका चार तथा इटाली, हङ्गेरी, बेल्जियम र काजकिस्तानका दुई–दुई जना नागरिक बेपत्ता भएको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ । त्यस्तै बेलारुसका एक जना नागरिक पनि बेपत्ताको सूचीमा छन् ।

प्राधिकरणका अनुसार विभिन्न देशबाट प्राप्त विवरणका आधारमा विदेशी नागरिक बेपत्ताको तथ्याङ्क अद्यावधिक गर्ने काम भइरहेको छ । तर, लाट्भिया, जापान, न्युजिल्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, इस्टोनिया, फिनल्यान्ड, इजरायल, लिथुआनिया, फिलिपिन्स, स्विडेन, स्वीट्जरल्यान्ड र भियतनामलगायतका देशबाट भने विवरण प्राप्त हुन बाँकी छ । प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले सम्बन्धित मुलुकका निकायबाट प्राप्त विवरणका आधारमा बेपत्ता विदेशी नागरिकको सूची अद्यावधिक भइरहेको जानकारी दिए । विभिन्न मुलुकबाट आउने विवरणलाई आधिकारिक रूपमा संकलन तथा प्रमाणीकरण गरेर तथ्याङ्क तयार पार्ने काम भइरहेको उनको भनाइ छ ।

यसैबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढीमा परी बेपत्ता भएका व्यक्तिलाई मृत्यु घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ । समितिका अनुसार ४८ जिल्लाबाट एकिन भएर आएका तीन हजार ९१५ जना नेपाली नागरिक र सातवटा विदेशी नियोगबाट एकिन भई प्राप्त भएका ६२३ जना विदेशी नागरिकको विवरणका आधारमा मृत्यु घोषणा गर्न सिफारिस गरिएको हो । भोटेकोशी–त्रिशूली बाढीमा परी बेपत्ता भएकाहरूको लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता लाग्न नसकेपछि कानुनी प्रक्रियाअनुसार मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढाइएको हो । यसका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले आवश्यक विवरण संकलन गरी सरकारलाई सिफारिस गरेको हो ।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३०) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने व्यवस्था छ । सोही कानुनी व्यवस्थालाई आधार मानेर बेपत्ता नागरिकको विवरण संकलन तथा मृत्यु घोषणाको प्रक्रिया अघि बढाइएको हो । विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको नेपालस्थित कूटनीतिक नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त आधिकारिक सूचीलाई आधार बनाइएको छ । प्राधिकरणले विदेशी नागरिकका परिवार तथा सम्बन्धित पक्षलाई दाबी पेस गर्ने अवसर दिन दुई चरणमा सात–सात दिनको सूचना प्रकाशन गरेको थियो ।

सरकारले बेपत्ता विदेशी नागरिकको विवरण संकलन र दाबी प्रक्रियालाई औपचारिकता दिएसँगै बाढीमा परी बेपत्ता भएकाहरूको कानुनी पहिचान तथा अभिलेखीकरणको काम अघि बढेको छ । यद्यपि केही देशबाट विवरण आउन बाँकी रहेकाले विदेशी नागरिक बेपत्ताको अन्तिम तथ्याङ्कमा थपघट हुन सक्ने प्राधिकरणले जनाएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।