अमेरिकी भन्सार महसुलहरूमा ट्रम्पको तरङ्ग

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले २५ नोभेम्बरमा प्रस्तावित भन्सार महसुल तालिकाहरूको नयाँ शृंखला घोषणा गर्दा बजारहरूले खासै प्रतिक्रिया जनाएनन् । युरोपेली संघ, चीन, जापान, इन्डोनेसिया र ताइवान लगायत प्रभावित अर्थतन्त्रहरूले अमेरिकाको कुल वस्तु व्यापारको ५३ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने भए तापनि महसुल दर घोषणाको निकै झिनो प्रभाव देखियो ।

२५ नोभेम्बरमा ‘एस एन्ड पी ५००’ र १० वर्षे बेन्चमार्क ट्रेजरी बन्डमा खासै हलचल भएन । यसलाई अप्रिल २, २०२५ मा ट्रम्पले गरेको ‘मुक्ति दिवस’ (लिबरेसन डे) घोषणापछि निम्तिएको उथलपुथलसँग तुलना गरेर हेरौँ । त्यसपछिका २ कारोबार दिनमा एस एन्ड पी ५०० सूचकांक १०.५ प्रतिशतले घट्दै यसको मूल्यबाट करिब ५ ट्रिलियन डलर सखाप भएको थियो, जुन २ दिनको कीर्तिमानी गिरावट थियो । तनावको समयमा सामान्यतया सुरक्षित मानिने अमेरिकी ट्रेजरी बन्डहरूसमेत सँगसँगै बिक्री भए, जसका कारण १० वर्षे ट्रेजरीको प्रतिफल (यिल्ड) सन् २००१ यताकै सबैभन्दा ठूलो साप्ताहिक उछालमा पुगेको थियो । अमेरिकी बजारहरूले कृत्रिम बौद्धिकता (एआई) र यसको भू–अर्थशास्त्रका कारण अस्थिरताको सामना गर्नुपरे पनि अब भन्सार महसुललाई त्यति भयावह रूपमा लिन छोडेका छन् ।
यसको कारण के हो भने ट्रम्पका भन्सार महसुलहरू २ अर्थमा सामान्यीकरण भइसकेका छन् । पहिलो अर्थ के हो भने ट्रम्प प्रशासनको कार्यकालमा भन्सार महसुल जीवनको एक यथार्थ हुनेछ भन्ने कुरालाई बजारहरूले स्वीकार गरिसकेका छन् ।

ट्रम्प भन्सार महसुलका कट्टर समर्थक हुन् भन्नेमा कुनै शंका छैन । उनले सन् १९८९ मै एबीसी न्युजलाई भनेका थिए, ‘म भन्सार महसुलमा निकै दृढ विश्वास राख्छु । मलाई लाग्छ कि जापानले … संयुक्त राज्य अमेरिकामा बेच्ने कुनै पनि उत्पादनमा १५–२० प्रतिशतजस्तो ठूलो कर तिर्नुपर्छ ।’ वास्तवमा जापानका लागि प्रस्तावित भन्सार दर १५ प्रतिशत नै छ । पुरानो बानी कहाँ सजिलै छुट्छ र ! यो सत्य हो कि ३ नोभेम्बरको मध्यावधि निर्वाचनमा ट्रम्पले आफ्ना आर्थिक नीति र भू–राजनीतिक एजेन्डाविरुद्ध भारी जनअस्वीकृतिको सामना गर्नुपर्‍यो । डेमोक्रेटहरूले कंग्रेसका दुवै सदनमा बहुमत हासिल गरे र सिनेटका कम्तीमा ७ सिट उल्ट्याए, जसमा झन्डै १ शताब्दीदेखि डेमोक्रेटिक सिनेटर निर्वाचित नगरेको कान्सास राज्यसमेत समावेश छ । तर ‘मिस्टर भिटो’ (विशेषाधिकार प्रयोगकर्ता) बन्ने उनको लगभग उत्साहपूर्ण प्रतिज्ञाका कारण भन्सार महसुलहरू तुरुन्तै उल्टिने अपेक्षा गर्नु हुँदैन ।

सामान्यीकरणको दोस्रो अर्थ के हो भने ट्रम्प र अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) ले अहिले निकै कम विवादास्पद र कम कठोर माध्यमहरू प्रयोग गरेर भन्सार महसुल अघि बढाइरहेका छन् । अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) अन्तर्गतका आधारहरू प्रयोग गर्ने उनको व्यापक दृष्टिकोणले अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालत र अमेरिकी सर्वोच्च अदालतमा लगातार हार व्यहोरेपछि नयाँ बाटो अपनाइएको हो । यसको सट्टा, उत्पादन क्षेत्रमा यूएसटीआरले ‘संरचनात्मक अतिरिक्त क्षमता’ भनेको विषयमा ८ महिना लामो अनुसन्धानको अन्त्यमा सन् १९७४ को व्यापार ऐनको दफा ३०१ अन्तर्गत पछिल्ला भन्सार महसुलहरू प्रस्ताव गरिएका छन् । दफा ३०१ का भन्सार महसुलहरू कुनै नयाँ कुरा होइनन् । रोनाल्ड रेगनले सन् १९८७ मा सेमिकन्डक्टर सम्बन्धी विवादमा ३० करोड डलर बराबरका जापानी इलेक्ट्रोनिक्स सामानमा १०० प्रतिशत शुल्क लगाउन यसको प्रयोग गरेका थिए । बिल क्लिन्टनले सन् १९९९ मा ३० करोड ८० लाख डलर बराबरका युरोपेली वस्तुहरूमा १०० प्रतिशत भन्सार महसुल थोपर्न यसको प्रयोग गरेका थिए । अदालतबाट यी महसुलहरू उल्टिने सम्भावना निकै कम हुन्छ ।

दफा ३०१ का भन्सार महसुलहरूका लागि सुनुवाइ र सार्वजनिक टिप्पणीको अवधिसहित अनुचित व्यापार अभ्यासको आरोपमाथि अनुसन्धान आवश्यक पर्ने भएकाले बजारहरूले यी घोषणाहरूको प्रभावलाई पहिले नै मूल्यमा समायोजन गरिसकेका थिए । यूएसटीआरले उद्धृत गरेका केही आधारहरूमाथि प्रशस्त बहस भए तापनि अमेरिकी अदालतहरू विशेषगरी वर्तमान सर्वोच्च अदालतले प्रथम दृष्टिमै प्रश्न उठाउन सकिने तर्कहरूमा समेत ह्वाइट हाउसकै निर्णयलाई सदर गर्ने सम्भावना बढी छ । ट्रम्पका केही तर्कहरू वास्तवमै शंकास्पद छन् । जुलाइदेखि युरोपेली संघमाथि भन्सार महसुल लगाएको समानान्तर दफा ३०१ कारबाही यो दाबीमा आधारित छ कि उक्त समूहले बाध्यकारी श्रमबाट बनेका आयातहरूमाथि प्रभावकारी प्रतिबन्ध लगाउन असफल भएको छ, जबकि कारागार श्रम सम्बन्धी युरोपेली नियमहरू अमेरिकाको तुलनामा निकै कडा छन् ।

पछिल्लो कदमलाई बजारमा सहज रूपमा पचाउन मद्दत पुग्ने गरी ट्रम्पले आफ्ना प्रारम्भिक आईईईपीए भन्सार प्रयासहरूपछि जापान, भियतनाम र युरोपेली संघजस्ता देशहरूसँग भन्सार दरको सीमा तोक्ने सम्बन्धमा गरेका सम्झौताका सर्तहरूको कम्तीमा पालना गरेका छन् । ती सम्झौताहरू अनुरूप प्रस्तावित दरहरू युरोपेली संघ, जापान, दक्षिण कोरिया, ताइवान र स्विट्जरल्यान्डका लागि अधिकतम १५ प्रतिशत र भियतनामका लागि २० प्रतिशत तोकिएका छन् । चीन बाहेकका देशहरूमा यी नयाँ दरहरू बाध्यकारी श्रम शुल्क वा स्टिल, आल्मुनियम, कार र अन्य विशिष्ट उद्योगहरूमा लगाइएका दफा २३२ का भन्सार महसुलहरूमाथि थपिने छैनन् ।

यद्यपि ट्रम्पका भन्सार महसुलहरूको समग्र प्रभाव अझै पनि आश्चर्यजनक छ । यिनले अमेरिकाको औसत वैधानिक भन्सार दरलाई ११.४ प्रतिशतबाट बढाएर १३.९ प्रतिशत पुर्‍याउनेछन् र युरोपेली संघपछिको सबैभन्दा ठुलो अमेरिकी व्यापार साझेदार मेक्सिकोका लागि दर घोषणा हुन बाँकी नै छ । सन् २०२५ को जनवरीमा ट्रम्प पुनः कार्यालय फर्किँदा भारित औसत भन्सार दर जम्मा २.३ प्रतिशत मात्र थियो, जसको तुलनामा यो निकै उच्च हो र ट्रम्प अझै पनि व्यापार विवादहरूमा भन्सार महसुललाई हतियारका रूपमा प्रयोग गर्न स्पष्ट रूपमा इच्छुक देखिन्छन् । वार्ता असफल भएमा लागू हुने वैकल्पिक दरहरू यूएसटीआरले सार्वजनिक गरेको छः युरोपेली संघ र जापानका लागि २० प्रतिशत, दक्षिण कोरिया र ताइवानका लागि २५ प्रतिशत र भियतनामका लागि ३५ प्रतिशत ।

चीनका लागि गरिएको दफा ३०१ अनुसन्धानले ४० प्रतिशतसम्मको भन्सार महसुल ‘उचित’ रहेको ठहर गरे तापनि यूएसटीआरले केवल २० प्रतिशत भन्सार महसुल प्रस्ताव गरेको छ, यद्यपि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा चीनमाथि लगाएको दफा ३०१ को भन्सार महसुलमाथि थपिनेछ । यसले धेरै चिनियाँ वस्तुहरूमा संयुक्त भन्सार दर करिब ४५ प्रतिशत पुर्‍याउनेछ । यो २०२५ अक्टोबरमा दक्षिण कोरियाको बुसानमा ट्रम्पले सी चिनफिङसँग वार्ता गरेको र सेप्टेम्बरमा सन् २०२७ जनवरी १० सम्मका लागि लम्ब्याइएको व्यापार युद्धविराममा सहमति भएको सीमा अनुरूप नै छ ।

तथापि ट्रम्पले स्पष्ट संकेत गरिरहेका छन् कि यदि युद्धविराम पुनः लम्ब्याइएन भने चीनमाथिको संयुक्त भन्सार दर बढेर ६५ प्रतिशतसम्म पुग्नेछ । १४–१५ डिसेम्बरमा मायामीबाहिर ट्रम्पको डोराल रिसोर्टमा हुने जी–२० शिखर सम्मेलनमा सीसँगको वार्ताको केन्द्रबिन्दु यही विषय बन्ने निश्चित छ । ट्रम्प प्रशासनको भू–आर्थिक अस्त्र भण्डारमा भन्सार महसुल र थप महसुलको धम्की सबैभन्दा बढी प्रयोग हुने उपकरणहरूमध्ये एक बनिरहनेछन् कि छैनन् भन्ने प्रश्न होइन । त्यो त निश्चित नै छ । बरु प्रश्न के हो भने भन्सार महसुलहरू तिनका समर्थकहरूभन्दा कति लामो समयसम्म टिक्न सक्छन् । सन् २०२८ को राष्ट्रपतीय निर्वाचनअघि कुनै पनि डेमोक्रेटिक आकांक्षीका लागि यो पक्कै पनि एक जटिल मुद्दा बन्नेछ । भन्सार महसुलहरू अत्यधिक अलोकप्रिय छन्‌ः एनबीसी न्युजको एक्जिट पोलमा ६६ प्रतिशत मतदाताले ट्रम्पका भन्सार नीतिहरूले राष्ट्रिय अर्थतन्त्रलाई हानि पुर्‍याएको बताएका थिए ।

किनकि यथार्थ के हो भने भन्सार महसुल एक कर हो, जसले व्यापारलाई निरुत्साहित गर्दै सरकारका लागि राजस्व उत्पन्न गर्छ । ट्रम्पले आफूलाई राष्ट्रपति पद सम्हाल्नेहरूमध्ये सबैभन्दा बढी वित्तीय रूपले खर्चालु व्यक्तिहरूमा साबित गरिसकेका छन् । कंग्रेसनल बजेट अफिस (सीबीओ) ले उनको प्रमुख बजेट कानुनले १ दशकमा प्राथमिक घाटामा ३.४ ट्रिलियन डलर थप्ने अनुमान गरेको थियो । सन् २०२५ को आर्थिक वर्षमा जतिबेला आईईईपीए भन्सार महसुलहरू संकलन भइरहेका थिए, संघीय घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५.८ प्रतिशत थियो ।

सेप्टेम्बरमा समाप्त भएको सन् २०२६ को आर्थिक वर्षमा घाटा फराकिलो भएर ६.२ प्रतिशत अर्थात् २ ट्रिलियन डलर पुग्यो, जुन सीबीओले फेब्रुअरीमा प्रक्षेपण गरेकोभन्दा करिब १४० अर्ब डलर बढी हो, जसको मुख्य कारण सर्वोच्च अदालतको फैसलाले भन्सार राजस्वमा कटौती गर्नु र आईईईपीए अन्तर्गत संकलन गरिएको १६६ अर्ब डलरको अधिकांश हिस्सा फिर्ता गर्न बाध्य पार्नु थियो । अक्टोबरसम्मको १२ महिनामा कुनै आर्थिक मन्दी वा महामारीको दोषबिना नै घाटा जीडीपीको करिब ६.५ प्रतिशतको हाराहारीमा चलिरहेको थियो ।

तसर्थ ट्रम्प प्रशासनभन्दा पछाडि पनि भन्सार महसुलहरू सामान्यीकरण हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न व्यापार नीतिको मात्र नभई वित्तीय नीतिको पनि प्रश्न हो । ट्रम्पका विपक्षीहरूले आगामी वर्षको बजेट र सरकारी कोषसम्बन्धी वार्ताहरूमा भन्सार महसुल कटौती गर्ने प्रयास गरेर राजनीतिक जीत हासिल गर्न सक्छन् र उनीहरूले पक्कै त्यसो गर्नेछन् । सिनेटका अल्पमत नेता चक सुमरले पहिले नै ट्रम्पको भन्सार कर अन्त्य गर्ने ऐन प्रस्तुत गरिसकेका छन् । तर ‘कमिटी फर अ रेस्पोन्सिबल फेडरल बजेट’को अनुमान अनुसार बाँकी भन्सार महसुलहरू खारेज गर्दा वार्षिक करिब ८५.५ अर्ब डलर लागत पर्नेछ र कुनै पनि खारेजी प्रक्रियाले ट्रम्पको भिटोलाई पार गर्नुपर्नेछ ।

विभाजित सरकारको युगमा भन्सार महसुल फिर्ता हुने आशा निकै झिनो छ । गुमेको भन्सार राजस्वको क्षतिपूर्ति गर्न ट्रम्पले आफ्नो दोस्रो कार्यकालको १ मात्र प्रमुख विधायी उपलब्धि सन् २०२५ को ‘वन बिग ब्युटिफुल बिल एक्ट’मा गरिएका कर कटौतीहरूमा सम्झौता गर्ने सम्भावना छैन । कानुनले उनको सन् २०१७ को आयकर कटौतीलाई स्थायी बनाएको थियो, राज्य र स्थानीय कर कटौतीको सीमालाई अस्थायी रूपमा ४ गुणाले बढाएर ४० हजार डलर पुर्‍याएको थियो र योग्य टिप्स तथा ओभरटाइम तलबमा कर कटौतीको व्यवस्था सुरु गरेको थियो ।

कोषसम्बन्धी सम्झौताहरूमा डेमोक्रेटहरूले टुक्राटुक्रामा भन्सार छुटहरू जित्ने र ट्रम्पले मुख्य समाचार बन्ने खालका धम्कीहरू दिइरहने तर पछि तिनलाई साँघुरो बनाउने, ढिलाइ गर्ने वा स्थगित गर्ने क्रम चलिरहने अपेक्षा गर्न सकिन्छ । ट्रम्पको नेतृत्वमा भन्सार महसुलहरू नयाँ सामान्य नियम बनेका छन् । तर तिनलाई कसरी उल्ट्याउने र त्यसको सट्टामा केमा कर लगाउने भन्ने लडाइँ भर्खरै सुरु भएको छ । (अलजजिराबाट भावानुवाद)