नेपालको राजधानी काठमाडौँलाई धादिङ, चितवन, तनहुँ, कास्की र समग्र पश्चिम नेपालसँग जोड्ने मुख्य ‘लाइफलाइन’ पृथ्वी राजमार्ग लामो समय अवरुद्ध हुनु राष्ट्रिय यातायात र आपूर्ति प्रणालीका लागि गम्भीर संकटको विषय बनेको छ ।
भोटेकोसी र त्रिशूली नदीमा आएको अभूतपूर्व विनाशकारी बाढीले धादिङको कृष्णभीरस्थित सडकको बेस नै कटान गरी करिब १०० मिटर सडक पूर्ण रूपमा भासिएपछि आवतजावत ठप्प छ ।
नदी किनारका पूर्वाधारहरू प्राकृतिक जोखिमको उच्च चेपुवामा रहेकाले सडक पुनर्निर्माणको कार्य जटिल बनेको छ । कृष्णभीर विगतमा पनि पहिरो र सडक सुरक्षाका दृष्टिले अत्यधिक चुनौतीपूर्ण मानिँदै आएको हो । विगतमा कंक्रिट संरचना र बिरुवाको संयोजनले ‘बायो–इन्जिनीयरिङ’को सफल प्रयोग गरी पहिरो नियन्त्रण गरिएको थियो, जसले लामो समयसम्म सडकलाई सुरक्षित राखेको थियो ।
तर यसपटक आएको बाढीको प्रकृति र क्षतिको स्वरूप विगतभन्दा फरक र भयावह छ । नदीको तीव्र बहावले सडकको सतहलाई मात्र नभई तल्लो भागको जग नै बगाएपछि माथिल्लो सडक संरचना पूरै अस्थिर बनेर भासिएको छ । यसले के स्पष्ट पार्छ भने पहाडी भूगोलमा बायो–इन्जिनीयरिङ मात्र पर्याप्त नहुन सक्छ, नदी कटान नियन्त्रण र तटबन्ध सुरक्षालाई सँगसँगै नलैजाँदासम्म यस्ता भौतिक पूर्वाधारहरू सदैव उच्च जोखिममा रहने देखिन्छ ।
राजमार्ग अवरुद्ध हुँदा यसको प्रत्यक्ष र दूरगामी असर देशको समग्र सामाजिक–आर्थिक जीवनमा परेको छ । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने हजारौँ यात्रुहरू हेटौँडा हुँदै सञ्चालित वैकल्पिक र लामो बाटो प्रयोग गर्न बाध्य छन्, जसले समय र आर्थिक भार दुवै बढाएको छ । त्योभन्दा पनि चिन्ताजनक कुरा अत्यावश्यक उपभोग्य वस्तु र खाना पकाउने ग्यासको ढुवानी प्रभावित हुँदा काठमाडौँ उपत्यका लगायतका मुख्य बजारहरूमा आपूर्ति संकट र महँगीको जोखिम बढेको छ । राष्ट्रिय राजमार्ग ठप्प हुँदा सिंगो देशको अर्थतन्त्र र जनजीवन नराम्ररी प्रभावित हुने तथ्य उजागर भएको छ ।
आयोजनाले तत्कालका लागि जोखिमयुक्त पुरानो भागलाई छाडेर पहाड काटी २५० मिटर लामो नयाँ ट्रयाक निर्माण सम्पन्न गर्नु र भदौभित्रै यातायात सञ्चालनमा ल्याउनु सकारात्मक कदम हो ।
कृष्णभीरमा नयाँ ट्रयाक सञ्चालनमा आउनु तत्कालका लागि एउटा अस्थायी समाधान मात्र हो ।
दीर्घकालीन रूपमा पृथ्वी राजमार्गलाई सुरक्षित र बाढी–पहिरो प्रतिरोधी बनाउन नदीको कटान नियन्त्रण, तल्लो भागको बलियो संरक्षण र जोखिम क्षेत्रहरूको प्राविधिक पुनरावलोकन अनिवार्य छ । मौसमले साथ दिएमा भदौको अन्त्यसम्ममा सडक खुल्ने आशा गरिएको छ । तर सरकार र सडक विभागले कृष्णभीर जस्ता संवेदनशील क्षेत्रमा आउने प्राकृतिक संकटको दिगो समाधानका लागि ठोस र आधुनिक इन्जिनीयरिङ रणनीति तयार गर्नैपर्छ ।
२०८३ भदौ २९ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रयि दैनकिबाट साभार ।



































