इजरायलले प्यालेस्टाइनको पक्षमा बोल्नबाट कहिल्यै रोक्ने छैन

मेरो जीवनकालमा मलाई धेरै फरक अवसरहरूमा प्यालेस्टाइन भ्रमण गर्ने सौभाग्य प्राप्त भएको छ । प्यालेस्टाइनीहरूले दैनिक रूपमा के भोग्छन् भन्ने कुराको म स्वयम् साक्षी बनेको छु । अनगिन्ती चेकपोइन्टहरू । सशस्त्रका टावरहरू । स्वेच्छाचारी गिरफ्तारीहरू । हिंस्रक बस्ती बसाल्नेहरू । यो रंगभेदको दैनिक यथार्थ हो, जसले कसले स्वतन्त्र रूपमा आवतजावत गर्न पाउँछ र कसले पाउँदैन भन्ने तय गर्छ ।

इजरायलको कब्जा यसरी नै सञ्चालित हुन्छ, जसले कब्जा गरिएकाहरूलाई स्वायत्तताको कुनै पनि अवशेष दिन अस्वीकार गर्छ । यो प्यालेस्टाइनी जीवनको दैनिक चक्र हो । गाजामा इजरायली कब्जाले भित्र जाने र बाहिर आउने प्रायः सबै कुरालाई नियन्त्रण गर्छ । यसको गैरकानुनी नाकाबन्दीका कारण प्यालेस्टाइनीहरूको सामूहिक भोकमरी र विस्थापन भएको छ । गाजामा भइरहेको नरसंहारबारे जति धेरै मानिसहरू सचेत हुँदै गएका छन्, इजरायलले संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरू र अन्तर्राष्ट्रिय पत्रकारहरूलाई पनि प्रवेश गर्न नदिने नीति लिएको छ, जुन आफूले गरेका युद्ध अपराधहरूको पूर्ण क्षेत्र विश्वले थाहा नपाओस् भन्नका लागि गरिएको एउटा स्पष्ट प्रयास हो । ती हजारौँ प्यालेस्टाइनी शरणार्थीहरूलाई पनि नबिर्सनुहोस्, जसलाई अझै पनि फर्किने अधिकारबाट वञ्चित गरिएको छ ।

असली काण्ड यही हो । इजरायली सरकारले मलाई र अन्य १० जना ब्रिटिस सांसदहरूलाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णयले प्यालेस्टाइनीहरूले हरेक दिन सामना गर्ने सर्वसत्तावादको एउटा सानो झलक मात्र प्रस्तुत गरेको छ । इजरायलद्वारा निन्दा गरिँदैमा मेरो निद्रा हराम हुनेछैन । म जे कुराको भत्र्सना गर्छु, त्यो प्यालेस्टाइनी जनताप्रतिको उसको घृणित व्यवहार हो । म जे कुराको भत्र्सना गर्छु, त्यो हजारौँ प्यालेस्टाइनीहरूलाई दैनिक रूपमा आवतजावतको स्वतन्त्रताबाट वञ्चित गर्ने इजरायलको कदम हो । म जे कुराको भत्र्सना गर्छु, त्यो रंगभेद, कब्जा र नरसंहारका अपराधहरूको जवाफदेहिताबाट आफूलाई जोगाउन संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ता र पत्रकारहरूलाई प्रवेश नगराउने इजरायलको इन्कारी हो ।

यस प्रतिबन्धको वास्तविक उद्देश्य ब्रिटिस सांसदहरूलाई गाजा र वेस्ट बैंक भ्रमण गर्नबाट रोक्नु र विश्वलाई त्यहाँ के भइरहेको छ भनेर देख्नबाट रोक्नु हो । इजरायली सरकारको निर्णयले हामीले जान्नुपर्ने सबै कुरा बताउँछ । यसले हामीलाई बताउँछ कि इजरायल विश्वले सत्य थाहा पाओस् भन्ने चाहँदैन । यसले हामीलाई बताउँछ कि विश्वभर समर्थन गुमाउँदै जाँदा इजरायल बढ्दो रूपमा अनौठो र निराश उपायहरूको सहारा लिन्छ । सबैभन्दा माथि यसले हामीलाई सत्य, जवाफदेहिता र न्यायको खोजीमा पछि हट्नु हुँदैन भन्ने सन्देश दिन्छ ।

गैरकानुनी बस्तीका सामानहरूमाथि प्रतिबन्ध लगाउने सरकारको स्वागतयोग्य निर्णयको प्रतिक्रिया स्वरूप इजरायलले हामीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय कानुन स्पष्ट छ । २०२४ जुलाईमा अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले प्यालेस्टाइनी भूभागमा इजरायलको उपस्थिति गैरकानुनी रहेको ठहर गर्‍यो र संयुक्त अधिराज्य (यूके) लाई गैरकानुनी कब्जामा सहयोग नगर्न बाध्यताहरू लागू गर्‍यो । बस्तीका सामानहरूमाथिको यो प्रतिबन्ध धेरै अघि नै भइसक्नुपर्ने थियो । यसले वेस्ट बैंकमा प्यालेस्टाइनीहरूविरुद्ध राज्य–समर्थित बस्ती बसाल्नेहरूको हिंसाप्रतिको बढ्दो विरोधलाई प्रतिबिम्बित गर्छ । यसको विरोध गर्नेहरूको उत्तेजनाले इजरायलले अहिलेसम्म कति धेरै दण्डहीनता उपभोग गरेको छ भन्ने कुरा प्रमाणित गर्छ ।

अन्ततः यो निर्णय सरकारले आफ्ना कानुनी दायित्वहरू पूरा गर्ने दिशातर्फको पहिलो कदम हो । तर यी दायित्वहरू गैरकानुनी बस्तीहरूलाई सहयोग नगर्ने कुरामा मात्र सीमित छैनन् । प्रतिबन्धको कुनै पनि अर्थपूर्ण प्याकेजले बस्तीका सामानहरू कसरी इजरायलको फराकिलो अर्थतन्त्रमा समाहित हुन्छन् भन्ने कुरालाई स्वीकार गर्नुपर्छ । यसको अर्थ सम्पूर्ण रूपमा इजरायलको गैरकानुनी उपस्थितिलाई कायम राख्ने सबै व्यापार र सहयोगका सबै रूपहरू अन्त्य गर्नु हो ।
म यो सरकारसँग गाजामा भइरहेको नरसंहारलाई मान्यता दिन सबै सैन्य सहयोग अन्त्य गर्न र ब्रिटिस संलग्नावारे सार्वजनिक छानबिनका लागि मबाट पटक–पटक गरिएका आह्वानहरूलाई ध्यान दिन मेरो माग पुनः दोहोर्‍याउँछु ।

प्यालेस्टाइनको ऐक्यबद्धतामा म सहभागी भएका प्रदर्शनहरूको संख्या मैले भुलिसकेको छु । प्रत्येक प्रदर्शनमा म प्यालेस्टाइनका यादहरू आफूसँगै बोक्छु । म मैले दिने जुनसुकै भाषणमा कम्तीमा १ जना प्यालेस्टाइनीको भनाइ उद्धृत गर्ने प्रयास गर्छु । मेरो विचारमा कब्जा, रंगभेद र नरसंहार भोगिरहेकाहरूको जीवन्त अनुभवहरूलाई उजागर गर्नु महत्वपूर्ण छ । उनीहरूको स्वतन्त्रता नै गम्भीर रूपमा कटौती गरिएको छ र उनीहरूकै स्वतन्त्रताको रक्षा हामीले गर्नुपर्छ । इजरायली सरकारले मलाई प्रतिबन्ध लगाउन सक्छ । तर उनीहरूले मलाई सत्य उजागर गर्नबाट रोक्न सक्दैनन्‌ः उनीहरूले नरसंहार गरिरहेका छन् र प्यालेस्टाइनी जनताका लागि न्याय नभएसम्म म अभियान चलाउन कहिल्यै रोकिने छैन ।

प्यालेस्टाइनका हाम्रा छलफलहरूमा हामी सधैँ त्रासका कथाहरूलाई जोड दिन्छौँ । तर प्यालेस्टाइनका मेरा भ्रमणहरूमा मैले प्यालेस्टाइनी जनताको मानवता, संगीत, कला, कविता, खुसी र लचिलोपनको अनुभव गरेको छु । मलाई इजरायली सरकारले गराउने रंगभेदको भ्रमणमा कुनै रुचि छैन । तर शान्तिको एउटै मात्र मार्ग : कब्जाको अन्त्यका लागि अभियान चलाउने मेरो संकल्पमा म अडिग छु । मैले प्यालेस्टाइन भ्रमण गरेको धेरै वर्ष भइसक्यो । हामीलाई धम्क्याएर मौन र निराशामा पार्न इजरायलले जे सुकै गरोस्, १ दिन म फेरि फर्केर मैले पहिले भेटेका बालबालिकाहरूलाई भेट्न सक्नेछु भन्ने आशा मैले मारेको छैन, एउटा स्वतन्त्र र स्वाधीन प्यालेस्टाइनमा । (अलजजिराबाट भावानुवाद)

प्रक्षेपण राष्ट्रयि दैनकिबाट साभार ।