दशैँमा गोजी अनुसारको खर्च र स्वास्थ्य अनुसारको खानपान

नेपालीहरूको महान् पर्व बडादशैँ आँगनमा भित्रिइसकेको छ । असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने दशैँ धार्मिक अनुष्ठानमा मात्र सीमित नरहेर पारिवारिक पुनर्मिलन, भाइचारा, सामाजिक सद्भाव र खुसी साटासाट गर्ने महान् अवसर पनि हो ।

रोजगारी, अध्ययन तथा अन्य सिलसिलामा देशविदेशका विभिन्न ठाउँमा पुगेका आफन्तजनहरू एउटै थलोमा भेला भई मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले हाम्रा मौलिक संस्कृतिलाई जीवन्त राखेको छ । तथापि पछिल्ला वर्षहरूमा दशैँ मनाउने क्रममा बढ्दै गएको भड्किलोपन, देखासिकी, फजुल खर्च, अस्वस्थकर खानपान र सुरक्षाप्रतिको बेवास्ताले पवित्र पर्व दशैँ कतिपयका लागि आनन्दभन्दा बढी तनाव र विपत्तिको कारण बन्ने गरेको छ । यसपटकको दशैँलाई अनुशासित, सुरक्षित र अर्थपूर्ण बनाउन गोजी अनुसारको खर्च र स्वास्थ्य अनुसारको खानपानको नीति आत्मसात् गर्नु आवश्यक छ ।

दशैँ आउनेबित्तिकै समाजमा आर्थिक तडकभडक र देखासिकीको होडबाजी चल्ने गरेको पाइन्छ । क्षमताभन्दा बाहिर गएर ऋण काढेरै भए पनि महँगा कपडा किन्ने, महँगा सामान जोड्ने र तडकभडकका साथ चाडपर्व मनाउने प्रवृत्तिले धेरै निम्न तथा मध्यमवर्गीय परिवारलाई चाड सकिएपछि लामो समयसम्म ऋणको दलदलमा धकेल्ने गरेको छ । चाडपर्व भनेको भावना, श्रद्धा र आत्मीयताको विषय हो, न कि सम्पत्ति वा हैसियत प्रदर्शन गर्ने मौका । आर्थिक हैसियत अर्थात् गोजी अनुसारको खर्च गरेर सादगीपूर्ण रूपमा दशैँ मनाउनु नै वास्तविक बुद्धिमत्ता हो । अनावश्यक खर्च कटौती गरी मितव्ययी बन्न सकियो भने मात्र चाडपर्वको वास्तविक आनन्द र शान्ति प्राप्त हुन सक्छ ।

दशैँका नाममा हुने अस्वस्थकर र असन्तुलित खानपानले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने गरेको छ । दशैँ भन्नेबित्तिकै हप्तौँसम्म बासी, चिल्लो, पिरो, बोसोयुक्त मासु र मदिराको अनियन्त्रित प्रयोग गर्ने परिपाटी सामान्यजस्तै बनेको छ । विशेषगरी उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मिर्गौलाका बिरामी तथा युरिक एसिडका रोगीहरूका लागि यस्तो अनियन्त्रित खानपान घातकसिद्ध हुन सक्छ । धेरै दिनसम्म फ्रिजमा राखिएको वा बासी मासु खानुको सट्टा ताजा, सन्तुलित र हरियो सागपात तथा फलफूल सहितको खानपानमा ध्यान दिनु आवश्यक छ । स्वास्थ्य अनुसारको खानपानले मात्रै हामीलाई चाडपर्वका बेला र त्यसपछि पनि अस्पतालको शैयामा पुग्नबाट जोगाउँछ ।

दशैँको समयमा खानपान र खर्चसँगै सुरक्षा, सचेतना र सावधानीका अन्य पाटोहरूमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । चाडपर्वको अवसरमा घर छाडेर गाउँ जाने वा घुमफिरमा निस्किने क्रम बढ्ने हुनाले सहर–बजारका घर तथा डेरामा चोरीडकैतीको जोखिम उच्च रहन्छ । यसका लागि घर छाड्नुअघि तालाचाबीको उचित प्रबन्ध गर्ने, छिमेकी र स्थानीय प्रहरीलाई जानकारी गराउने जस्ता सावधानी अपनाउनुपर्छ । सुरक्षा निकायले पनि चाडपर्वलक्षित विशेष सुरक्षा योजना कडाइका साथ लागू गरी गस्ती बढाउनुपर्छ । दशैँमा घर फर्किने यात्रुको चाप अत्यधिक हुने भएकाले सडक दुर्घटनाको जोखिम पनि उत्तिकै बढेर जान्छ । सवारी चालकहरूले ओभरलोड नगर्ने, तीव्र गतिमा नचलाउने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने र यात्रुहरूले पनि क्षमताभन्दा बढी गाडीमा यात्रा नगर्ने जस्ता आधारभूत यातायात नियमहरूको पूर्ण पालना गर्नुपर्छ । सडक यातायातलाई सुरक्षित बनाउन ट्राफिक प्रहरीको निगरानी र चेकजाँच थप कडा हुनुपर्छ ।

दशैँका नाममा जुवातास खेल्ने, अत्यधिक मदिरा सेवन गरी कुटपिट तथा सामाजिक अशान्ति सिर्जना गर्ने जस्ता सामाजिक अपराधहरूलाई पूर्णरूपमा निरुत्साहित गरिनुपर्छ । चाडपर्वको खुसीलाई जुवाको खालमा दाउमा लगाउनु वा मदिराको मातमा गुमाउनु उचित होइन । दशैँ हाम्रो परम्परा, संस्कृति र सामाजिक एकताको संवाहक हो । यसलाई तडकभडक, फजुलखर्च, विकृति र अस्वस्थ प्रतिस्पर्धाबाट मुक्त राखिनुपर्छ । आफ्ना सीमाहरू बुझेर गोजीको अवस्था अनुसार खर्च गर्दै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर र यात्रा तथा सुरक्षामा पूर्ण सावधानी अपनाएर दशैँ मनाउनुपर्छ । घरपरिवार र समाजमा खुसी, शान्ति र भाइचारा अभिवृद्धि गर्ने गरी दशैँ मनाउनु नै वास्तविक विजयोत्सव हो । सबैलाई बडादशैँको हार्दिक मंगलमय शुभकामना !

२०८३ असोज २८ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।