उत्तर कोरियाली नेतासँग भेटवार्ताका लागि जापानी प्रधानमन्त्री ताकाइचीको आग्रह

टोकियो । जापानकी प्रधानमन्त्री साने ताकाइचीले उत्तर कोरियाका नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने औपचारिक आग्रह गरेकी छिन् । उनले दशकौँदेखि नसुल्झिएको जापानी नागरिक अपहरणको समस्या समाधान गर्न प्रत्यक्ष वार्ताको प्रस्ताव राखेकी हुन् ।

स्मरणीय छ, वर्षौँको अस्वीकारपछि सन् २००२ मा उत्तर कोरियाले सन् १९७० र ८० को दशकमा आफ्ना जासुसहरूलाई जापानी भाषा र संस्कृतिमा तालिम दिन प्रयोग गरिएका १३ जना जापानी नागरिकलाई अपहरण गरेको स्वीकार गरेको थियो ।

टोकियोले कम्तीमा १७ जना नागरिकलाई अपहरण गरिएको विश्वास गर्दै आएको छ । यद्यपि कतिपयले सो सङ्ख्याभन्दा धेरै जापानी नागरिकलाई पनि प्योङयाङ लगिएको हुन सक्ने बताउने गर्छन् ।

प्रधानमन्त्री ताकाइचीले टोकियोमा आयोजित एक जागरूकता कार्यक्रममा उत्तर कोरियाली नेता किम जोङ–उनसँग शिखर बैठकको औपचारिक अनुरोध गर्दै भने , “जापान र उत्तर कोरियाबीच नयाँ र फलदायी सम्बन्ध निर्माण गर्नका लागि म अध्यक्ष किम जोङ–उनसँग प्रत्यक्ष भेट गर्ने दृढ सङ्कल्पमा छु ।” प्योङयाङले प्रधानमन्त्री ताकाइचीको यस आग्रहमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यद्यपि विगतमा पनि धेरै जापानी नेताहरूले किमसँग प्रत्यक्ष वार्ता गर्ने प्रयास गरेका थिए, तर ती सबै प्रयास असफल भएका थिए ।

पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीले सन् २००२ र २००४ मा प्योङयाङ भ्रमण गरी तत्कालीन नेता किम जोङ–उनका पिता किम जोङ–इलसँग भेट गरेका थिए । त्यस अवसरमा पाँच जना अपहृत जापानी नागरिकको फिर्तीबारे सम्झौता भएको थियो । तर उत्तर कोरियाले बाँकी आठ जना अपहृत नागरिकको मृत्यु भइसकेको दाबी गरेको थियो ।

ताकाइचीका पूर्ववर्ती सिगेरु इसिबाले पनि यस मुद्दा समाधानका लागि टोकियो र प्योङयाङमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रस्ताव गरेका थिए । तर उक्त पहल कहिल्यै कार्यान्वयन हुन सकेन ।

यसैबीच, जापानले यस विषयमा अन्तर्राष्ट्रिय ध्यान कायम राख्नका लागि संयुक्त राज्य अमेरिकासँग घनिष्ठ सहयोग गरिरहेको छ । विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस मुद्दामा जापानप्रतिको समर्थन प्रकट गरेका छ् ।

गत हप्ता टोकियो भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले अपहरण पीडितका परिवारजनसँग भेटघाट गरेका थिए । “म पीडितहरूको जीवन र हाम्रो राष्ट्रिय सार्वभौमिकतालाई जोखिममा राखेर पनि यस मुद्दा समाधानका लागि आवश्यक सबै माध्यम प्रयोग गर्नेछु”, प्रधानमन्त्री ताकाइचीले विगतका प्रधानमन्त्रीहरूको वचनलाई प्रतिध्वनित गर्दै भनिन् , “अपहरण मुद्दा मेरो मन्त्रिमण्डलको शीर्ष प्राथमिकता हो ।”

प्रधानमन्त्री ताकाइचीको यो पहल जापान–उत्तर कोरिया सम्बन्धमा सम्भावित नयाँ पृष्ठको सुरुआतका रूपमा हेरिएको छ । यद्यपि राजनीतिक विश्लेषकहरूले यसको सफलताका लागि उत्तर कोरियाको प्रतिक्रिया नै निर्णायक हुने बताएका छन् ।