तेहरान । इरानले रुसको सहयोगमा आठवटा नयाँ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ । इरानको आणविक ऊर्जा सङ्गठन (एइओआई) का प्रमुख मोहम्मद एस्लामीका अनुसार यो परियोजना इरानको स्वच्छ र दिगो ऊर्जा उत्पादन क्षमतालाई विस्तार गर्ने राष्ट्रिय प्रयासको एक महत्वपूर्ण हिस्सा हुनेछ ।
इरान र रुसबीच बुसेहरमा चारवटा तथा देशको उत्तरी र दक्षिणी तटरेखामा अन्य चारवटा आणविक ऊर्जा संयन्त्र निर्माणका लागि नयाँ सम्झौता सम्पन्न भएको तस्निम समाचार संस्थाले जनाएको छ । यी संयन्त्रहरूले ‘स्थिर र स्वच्छ आणविक ऊर्जा’ को आपूर्ति सुनिश्चित गर्ने र इरानलाई करिब २० हजार मेगावाट आणविक विद्युत् उत्पादन गर्न सक्षम बनाउने लक्ष्य राखिएको एइओआई प्रमुखले स्पष्ट गरे ।
रुसी सञ्चार संस्था ‘तास’ले एईओआईको प्रेस सर्भिसलाई उद्धृत गर्दै इरानको उत्तरी गोलेस्तान प्रान्तमा एउटा नयाँ आणविक संयन्त्रको निर्माण सुरु भइसकेको जानकारी दिएको छ । साथै, सन् १९७९ को इस्लामिक क्रान्तिपूर्व आरम्भ गरिएको खुजेस्तान प्रान्तको आणविक परियोजना पनि अब पूरा गर्ने योजना रहेको उल्लेख गरिएको छ ।
यसैबीच, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो देशको ‘शान्तिपूर्ण आणविक कार्यक्रम’ प्रति पुनः प्रतिबद्धता जनाउँदै ‘इरानले कुनै पनि परिस्थितिमा हतियार निर्माण गर्ने छैन’ भन्ने अठोट दोहोर्याएका छ्न् ।
“बम निर्माण गर्नु यो क्षेत्रको एउटा सानो, असमान र अमानवीय अंश हो, जबकि बाँकी वैज्ञानिक प्रयास मानव जीवनका आवश्यकताहरू पूरा गर्न केन्द्रित छन्”, राष्ट्रपति पेजेस्कियानले इरानको आणविक ऊर्जा सङ्गठनको भ्रमणका क्रममा भने । उनले पश्चिमी शक्तिहरूमाथि स्वतन्त्र राष्ट्रहरूलाई उन्नत प्रविधिबाट वञ्चित गरी निर्भर बनाउने प्रयास गरेको आरोप समेत लगाए ।
राष्ट्रपतिले भने , “इरानी वैज्ञानिकहरूविरुद्ध भइरहेका हत्याका प्रयासहरू र शत्रुताहरू इरानको वैज्ञानिक तथा प्राविधिक स्वतन्त्रताप्रति केही शक्तिहरूको भयको परिणाम हुन् ।” स्मरणीय छ, सन् २०२५ को जुन महिनामा इजरायलले नतान्ज र फोर्डो लगायत इरानका प्रमुख आणविक प्रतिष्ठानहरूलाई लक्षित गर्दै हवाई आक्रमणहरू सञ्चालन गरेको थियो ।
१२ दिनसम्म चलेको उक्त द्वन्द्वमा अमेरिकी सेनाले पनि इरानी संवर्धन केन्द्रहरूमा आक्रमणमा साथ दिएको थियो । उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चेतावनी दिंदै भनेका छन् , “यदि इरानले आफ्ना आणविक सुविधाहरू पुनः सञ्चालन गर्यो भने, अमेरिका नयाँ सैन्य कारबाहीका लागि तयार हुनेछ ।” सिबिएस न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले पुनः आणविक परीक्षण सुरु गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने , “रुसले परीक्षण गर्ने घोषणा गरिसकेको छ, उत्तर कोरिया निरन्तर परीक्षण गर्दैछ, अन्य देशहरूले पनि गर्दैछन् ।
परीक्षण नगर्ने देश अहिले केवल अमेरिका मात्रै हो र म यस्तो स्थिति रहन चाहन्न ।” रुसले हालै पोसाइडन अन्डरवाटर ड्रोनसहित उन्नत आणविक क्षमतायुक्त प्रणालीको परीक्षण गरेपछि ट्रम्पसँग सोधिएको प्रश्नमा उनले यो टिप्पणी गरेका थिए ।
ट्रम्पले दाबी गर्दै भने , “अमेरिकासँग विश्वका सबै देशभन्दा बढी आणविक हतियार छन् । हामीसँग विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने क्षमता छ । रुससँग पनि पर्याप्त हतियार छन् र चीनसँग चाँडै धेरै हुनेछ, “रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग मैले आणविक निःशस्त्रीकरणका विषयमा छलफल गरेको छु ।” इरान र रुसबीचको यो नयाँ आणविक सहकार्यले मध्यपूर्वमा ऊर्जा स्वतन्त्रताको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ, तर यसले पश्चिमी शक्तिहरूबीच नयाँ राजनीतिक तरङ्ग उत्पन्न गर्ने सम्भावना पनि विश्लेषकहरूले देखेका छन् ।




































