काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशन (१५औं)को तालिकाको रुपमा दुई वटा प्रस्ताव जारी केन्द्रीय समितिमा पेस भएका छन् । तत्काल महाधिवेशन चाहने पक्षको तर्फबाट महामन्त्री गगनकुमार थापाले र आगामी वैशाखयता महाधिवेशन गर्न हुँदैन भन्ने पक्षबाट सहमहामन्त्री महेन्द्र यादवले तालिका पेस गरेका हुन् ।
थापाले इतर समूहका नेताहरू महामन्त्री विश्वप्रकाश शर्मा र नेता डा शेखर कोइरालासँगको छलफलपछि तालिका ल्याएका हुन् भने यादवले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन समूहका नेताको तर्फबाट तालिका पेस गरेका हुन् । मंगलबारको बैठकमा थापाले आगामी पुस १६–१९ गतेसम्म महाधिवेशन गर्न सकिने प्रस्ताव गरे । उनले आगामी मङ्सिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरणको तालिका पेस गरेका छन् ।
थापाले मंसिर १०–२० गतेसम्म क्रियाशील छानबिन गर्ने, मंसिर २४ गते निर्वाचन समितिलाई विवरण हस्तान्तरण गर्ने, मंसिर २७ गते वडा अधिवेसन गर्ने प्रस्ताव गरेका छन् । त्यस्तै पुस ५ गते क्षेत्रीय अधिवेशन गर्ने र पुसको १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने उनको प्रस्ताव छ । थापाले संस्थापन इतर समूहको पक्षबाट यो प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका हुन् । यादवले मंगसिर २० गतेसम्म क्रियाशील र नवीकरण वितरणको मिति प्रस्ताव गरे ।
पुस ५ गतेसम्म नयाँ सदस्यता वितरण, पुस २० गतेसम्म निर्वाचन समितिलाई क्रियाशील सदस्यको विवरण हस्तान्तरण, चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने उनको प्रस्ताव छ । उनले चैत २० गते संघीय निर्वाचन क्षेत्रीय अधिवेशन, ३० गते जिल्ला अधिवेशन, वैशाख १५ गते प्रदेश अधिवेशन र वैशाख २७–३० गतेसम्म १५औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।
पार्टी केन्द्रीय समितिमा आगामी महाधिवेशनको दुई वटा कार्यतालिका पेस भएपछि अब के हुन्छ भन्ने चासो छ । संस्थापन समूहबाट वैशाखमा महाधिवेशन गर्ने गरी तालिका ल्याउने विषयमा नेतृत्व लिएर छलफल चलाएका केन्द्रीय सदस्य गुरु बराल छलफलबाटै समस्याको समाधान निस्किने बताउँछन् । ‘प्रस्ताव हो साथीहरूले राखे । महामन्त्रीले प्रस्ताव गरेको एउटा दिन त प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारको लिस्ट बुझाउने दिन परेको छ । यो त सही र व्यवहारिक भएन,’ उनले भने, ‘हामी निर्वाचनमा जाने कि नजाने । जाने हो भने अधिवेशन पछि सार्नै पर्छ । अधिवेशन कि निर्वाचन हो प्राथमिकतामा छुट्याउनै पर्छ ।
५ महिनामा नटुंगिएको क्रियाशीलसहितको विवाद ५ दिनमा टुंग्याउने भन्ने महामन्त्रीको प्रस्ताव व्यवहारिक छैन ।‘ उनले दुई प्रस्तावलाई छलफलबाट साझा बनाउने कोशिस हुने बताए । ‘छलफलकै वातावरण नै बनेको थिएन । आजदेखि त छलफलको वातावरण बन्यो । दुईवटा प्रस्ताव पनि आयो,’ उनले थपे, ‘अब दुवै प्रस्तावलाई सम्बोधन गर्ने गरी नयाँ तालिका ल्याउने विषयमा कोर्ष अघि बढ्छ ।‘
उता महामन्त्री थापानिकट नेता तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन दुई प्रस्तावसँगै अब कांग्रेस विशेष महाधिवेशनतिर धकेलिएको दाबी गर्छन् । ‘बैठकमा दुई वटा प्रस्ताव पेस भएका छन् । दुई वटै प्रस्तावअघि बढ्ने सम्भावना त हुँदैन । एउटामा टुंगोमा जानुपरिहाल्छ,’ उनले भने, ‘पार्टीको विधानको धारा १७(२) अनुसार अब विशेष महाधिवेशन हुनुपर्छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेषको माग गरेर बुझाइसकेका छन् ।
आजको प्रस्ताव बहुमतले पास गर्ने अवस्था आयो भने पनि विशेष महाधिवेशनको प्रक्रियालाई अब कसैको बहुमतले रोक्न सक्दैन ।‘ महामन्त्री थापानिकटकै केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी भने बैठकमा पार्टीको तर्फबाट एउटामात्रै महाधिवेशन तालिकाको प्रस्ताव भएको बताउँछन् । ‘पार्टी बैठकमा प्रस्ताव पेस गर्ने महामन्त्रीले हो । अरुले आफ्नो भनाइ राख्ने बेलामा दिएको सुझाव हो भनेर बुझ्नुपर्छ,’ उनले भने, ‘पार्टी बैठकमा हरेकले राखेको कुरालाई पार्टीकै प्रस्तावको रुपमा बुझ्नु भएन । अब विशेषको विकल्प देखिएन ।‘
कांग्रेस विधानको धारा १७ (१) मा पार्टीको महाधिवेशन केन्द्रीय कार्यसमितिले तोकेको मिति र स्थानमा प्रत्येक ४ वर्षमा हुने उल्लेख छ । यसअनुसार कांग्रेसको १५औं महाधिवेशन आगामी मंसिरमा हुनुपर्छ । तर नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशनको परिकल्पना पनि विधानले गरेको छ । विधानको धारा १७(२) ले केन्द्रीय महाधिवेशन प्रतिनिधिका ४० प्रतिशतले विशेष कारण खुलाइ केन्द्रमा लिखित रुपमै महाधिवेशन माग गर्न सक्ने उल्लेख छ ।
‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ’ विधानमा उल्लेख छ । यही विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरिसकेका छन् । उक्त माग पत्र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुझिसकेका छन् ।
थापासहित इतर समूह फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा जानुअघि महाधिवेशन हुनुको विकल्प नभएको बताउँछन् । महाधिवेशन नगरी अहिलेकै अवस्थामा निर्वाचनमा जनतामाझ जाँदा प्रश्नले घेर्ने भन्दै उनले महाधिवेशनपछि उत्तरसहित जान सकिने बताए । ’महाधिवेशन नगरी जाँदा पार्टीलाई प्रश्नै प्रश्नले घेर्छ, हामी उत्तर लिएर निर्वाचनमा जानैपर्छ, यसका लागि महाधिवेशन अपरिहार्य छ,’ थापाले भने ।
नेतृत्वका लागि आफू र अर्का महामन्त्री शर्माले उम्मेदवारी नदिँदा अरु नेताहरू तत्काल महाधिवेशनमा जान तयार हो भनि थापाले प्रश्न गरेका छन् । ’यदी दुई महामन्त्री नलड्ने भन्दा तयार हो भने महाधिवेशन गरौं, तपाईंहरू मध्ये कोही जिम्मेवारी लिएर जानुहोस् । हामी त तयार छौं, के तपाईंहरू तयार हो?,’ थापाले मंगलबारको बैठकमा प्रश्न गरे, ’तर, अब ढिलो गर्ने बेला होइन, निर्णय गर्ने बेला हो । यदि हामीले अहिले हिम्मत देखायौं, युगको आवाज सुन्यौं र निर्णय गर्यौँ भने कांग्रेसले फेरि नयाँ रूप, नयाँ सोच, नयाँ लक्ष्यसहित जनताको विश्वास जित्न सक्छ ।’
उनले अहिले डराइयो भने इतिहासले दुत्कार्ने पनि बताए । ’हामी डरायौँ भने इतिहासले हामीलाई दुत्कार्ने छ । यो पुस्ता जसले महान पार्टीको उत्तराधिकार पायो, तर नयाँ युगको जिम्मेवारी पूरा गर्न सकेन । हामीलाई त्यो असफल पुस्ता बन्ने छूट र सुविधा छैन,’ थापाले थप भने, ’अब कांग्रेसले पुनः सिद्ध गर्नुपर्छ ’हामी चुनाव वा पदका लागि होइन, देशका लागि लड्छौं । हामी सत्ताका लागि होइन, सुधारका लागि उठ्छौं । यो हाम्रो यस्तो युगिन क्षण हो, देशलाई भन्नको लागि; यो उही कांग्रेस होइन ।
यो नयाँ कांग्रेस हो ।’ कार्यवाहक सभापति खड्का पार्टीभित्र आएका सबै विचारलाई छलफलकै माध्यमबाट टुंगोमा पुर्याइने बताए । ‘सबैका विचार, सबै एजेन्डालाई सहमतिमा टुंग्याउने गरी वातावरण बनाउने प्रयत्न हिजो पनि भएको थियो, आज पनि त्यो जारी छ, भोलि पनि हुन्छ,’ उनले भने । खड्काले केन्द्रीय समितिबाहेक पनि सहमतिका लागि विभिन्न चरणका छलफल जारी रहने बताए ।
राजनीतिक विश्लेषक जैनेन्द जीवन प्रस्तावको हिसाबले दुवैको प्रस्ताव सही भएको अर्थ्याउँछन् । तर, उनले संस्थापनको तर्फबाट आएको प्रस्तावमा स्वार्थ देखिएको बताउँछन् । ‘प्रस्तावकै रुपमा त दुवै सही छन् । एकातिर गगन थापाले चुनावअघि महाधिवेशन गरौँ नयाँ अनुसार र धारणासहित चुनावमा जाऔं भन्ने प्रस्ताव गरे । अर्कोतिर महेन्द्र यादवले संस्थापन पक्षको भनेर चुनावपछि महाधिवेशनमा जानुपर्छ भनेर तालिका प्रस्ताव गरे, ‘ उनले भने, ‘तर, यहाँ संस्थापन समूहको प्रस्तावमा एउटा खुला स्वार्थ देखियो ।
त्यो समूहमा अधिकांश पूर्वपदाधिकारी र वर्तमान पदाधिकारीहरू छन् । उनीहरू देउवाको निगाहमा चुनावमा प्रत्यक्ष र समानुपातिकको टिकट लिएकाहरू छन् । चुनावअघि महाधिवेशन हुँदा नेतृत्वमा अर्कै अनुहार आउने जोखिम भयो । त्यो अनुहारले टिकट दिँदैन भन्ने भय देखिन्छ ।‘
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार




































