महाधिवेशन मिति विवादले संकटमा कांग्रेस

नेपाली कांग्रेसभित्र भदौ २३ र २४ को जेनजी आन्दोलनले निम्त्याएको भूकम्प अझै थामिएको छैन । सभापति शेरबहादुर देउवा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणबाट घाइते भई थप उपचारका लागि विदेश उडेका छन् ।

उनले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका छन् । यो घटनाले पार्टीभित्र नेतृत्व परिवर्तनको बहसलाई मात्र होइन, संस्थागत स्थिरताको प्रश्नलाई पनि उजागर गरेको छ ।

तर अहिलेको विवाद महाधिवेशनको मितिमा केन्द्रित छ – संस्थापनइतर समूहका महामन्त्री गगन थापाले पुस १६ र संस्थापनका सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ बाट महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् । यो द्वन्द्वले कांग्रेसलाई एकताबद्ध होइन, थप विखण्डनतर्फ धकेलिरहेको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अडान स्पष्ट छ : फागुन २१ को निर्वाचनअघि नै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्छ । उनीहरूले मंसिरभित्रै वा नसके पुसमा महाधिवेशन सक्ने प्रस्ताव गरेका छन् ।

केन्द्रीय कार्यसमितिमा तालिका पेस गर्नुपर्ने उनीहरूको मागमा थापा अडिग छन् । कार्यवाहक सभापति खड्का सहमति खोज्ने प्रयासमा देखिए पनि संस्थापन समूहले फागुन २१ पछि मात्र १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । काठमाडौंको आनन्दभूमी बन्क्वेटमा बसेको संस्थापन केन्द्रीय सदस्यहरूको भेलाले नयाँ मिति प्रस्ताव गर्ने नै ठहर गरेको छ । यो दुई धारबीचको खाडलले पार्टीको आन्तरिक लोकतन्त्रलाई नै प्रश्नचिह्न लगाएको छ ।

कांग्रेसको विधानअनुसार नियमित महाधिवेशन हरेक चार वर्षमा हुनुपर्छ । १४औँ महाधिवेशन २०७६ मा सम्पन्न भएको हो । तर कोभिड महामारी, निर्वाचन र आन्तरिक कलहले १५औँ महाधिवेशन ढिलो भइसकेको छ ।

फागुन २१ को निर्वाचनलाई बहाना बनाएर महाधिवेशन पछि सार्नु भनेको पार्टीको संस्थागत उत्तरदायित्वबाट पन्छिनु हो । संस्थापनइतरको पुस प्रस्तावले निर्वाचनअघि नयाँ नेतृत्व चयन गरी पार्टीलाई जीवन्त बनाउने अवसर दिन्छ । वैशाख २७ को प्रस्तावले भने निर्वाचनमा पुरानै अनुहारको भर पर्नुपर्ने बाध्यता थोपर्छ, जसले कांग्रेसको साखलाई थप कमजोर बनाउनेछ ।

जेनजी आन्दोलनले देउवामाथि मात्र होइन, समग्र संस्थापनमाथि प्रश्न उठाएको छ । नेतृत्व परिवर्तनको बहस चर्किरहँदा महाधिवेशनको मिति विवादले यो आन्दोलनलाई थप उर्वर बनाइदिएको छ । कार्यवाहक खड्काले सहमति खोज्ने प्रयास गरे पनि संस्थापनको अडानले उनको भूमिकालाई कमजोर पारिरहेको छ । कांग्रेसले अब मितिको लडाइँ होइन, नेतृत्वको विश्वसनीयता र पार्टी एकताको लडाइँ लड्नुपर्छ ।

कांग्रेसले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाएर मंसिर–पुसभित्रै महाधिवेशनको तालिका पारित गर्नुपर्छ । दुवै पक्षले आफ्नो अडान छोडेर विधानको मर्मअनुसार अघि बढ्नुपर्छ । अन्यथा जेनजी आन्दोलनको आगोले पार्टीको जग नै खरानी बनाउनेछ । नेपाली लोकतन्त्रको सबैभन्दा पुरानो दलले आफैँलाई बचाउन अब ढिलो गर्नुहुन्न । महाधिवेशन होइन, कांग्रेसको भविष्य दाउमा छ ।

मिति २०८२ कार्तिक १९ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार