जेनजी आन्दोलनमा छोरा सहिद भए, श्रीमानको जागिर गुम्यो, नजलाको आँखा ओभाएनन्‌

पर्सा । जेनजी आन्दोलनमा आफ्नो २४ वर्षे छोरा असहाब आलम ठकुराई गुमाएकी आमा नजला खातुनको आँखा अहिले पनि ओभाएका छैनन् ।

काठमाडौँमा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका छोराको यादले उनी अहिलेसम्म पनि सम्हालिन सकिरहेकी छैनन् ।

आफ्नो घरको सदस्य गुमाउनुपर्दा परिवारमा निराशा र छटपटी भने उस्तै छ । “जेनजी आन्दोलनमा भएको अप्रिय घटनाले मेरो मुटुको कलेजा नै तोडेर लगेजस्तै भइरहेको छ,” गहभरि आँसु झार्दै आमा नजला खातुनले भनिन्, “आफ्नो सन्तान गुमाउनु पर्दा आमालाई जस्तो दुःख अरू कसलाई नपरोस् ।” सहिद ठकुराईकी आमा नजलाले आफ्नो साइलो छोरा गुमाएपछि आफ्नो परिवार विक्षिप्त अवस्थामा रहेको बताइन् । “घरपरिवारको सहारा रहेको छोरालाई मात्रै गुमाएका छैनौँ । कतारमा सेक्युरिटी गार्डका रुपमा काम गर्दै आएका श्रीमानको समेत जागिर गुमेको छ,” उनले भनिन्, “जग्गाको नाममा एउटा घरसहितको नौ धुर जग्गा मात्रै छ । चार छोरा र बुहारीको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ ।”

ठकुराईका बुबा अमरुद्धिन वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत थिए । जेनजी आन्दोलनमा छोरा बितेसँगै उनले जागिर छाडेर छोराको अन्तिम संस्कारको कर्म गर्न भन्दै नेपाल फर्किए । अहिले बुबा अमरुदिन भने कामविहीन भएका छन् । छोराको मुस्लिम धार्मिक संस्कार अनुसारको कर्म गर्न भन्दै भारतको नयाँदिल्लीमा इस्मालिम जमाती गर्नका लागि गए । मुस्लिम समुदायमा आफ्नो परिवारको सदस्यको निधनपछि चार महिने संस्कार हुने बताइन्छ । आमा नजलाले आफ्नो परिवारको खम्बा नै ढलेकाले पनि सरकारले आफ्नो परिवारको एक जना सदस्यलाई स्थायी रोजगारीको व्यवस्था गर्नका लागि जोडदार माग गरिन् । “कलकलाउँदो नौजोवान छोरा गुमाएका छौँ । छोराको मृत्युको पूर्ति त जे दिए पनि हुन सक्दैन् तर परिवारका सदस्यको गुजारा चलाउनको लागि पनि सरकारले एक सन्तानलाई स्थायी जागिरको व्यवस्था गरिदिए केही हदसम्म भए पनि मलमपट्टि हुने थियो ।”

जेनजी आन्दोलनमा सहिद भएका ठकुराईकी पत्नी रोक्सिता खातुनको अवस्था पनि नाजुक भएको सासु नजलाले बताइन् । ‘‘बिहे गरेको दुई महिना बित्न नपाउँदै छोरा गुमाउनुपर्‍यो । अब बुहारीले कसको मुख हेरेर बाँच्ली जस्तै भएको छ । हाम्रो त परिवारमा पीडामाथि पीडा थपिएको छ’’, उनले भनिन्,‘ ‘छोरा बितेसँगै बुहारीको मुहार कतिबेला पनि उज्यालो भएको छैन । बुहारी अहिले कोठाभन्दा बाहिर पनि निस्किएकी छैनन् ।’’ घटना हुनुभन्दा दुई महिना अघि मात्रै २४ वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सितासँग विवाह बैवाहिक जीवनमा बाँधिएकी थिइन् ।

जेनजी आन्दोलनका शहिद भएका ठुकराईका भाइ मुराद आलमले जेनजी आन्दोलन जुन उद्देश्यले गरिएको थियो, त्यसअनुसार परिवर्तन हुनुपर्ने माग गर्छन् । जेनजी आन्दोलनमा तिेका ठकुराई वीरगञ्जमा कक्षा १२ उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययन गर्नका लागि काठमाडौंँ जागएका थिए । ‘‘उनी फुर्सदको समयमा केही घण्टा पठाओ बाइक चलाएर खर्च जुटाउने गर्थे’’ भाइ मुरादले भने । असहाब भदौ २४ गतेको जेनजी आन्दोलनमा सक्रिय रुपमा सरिक भएका थिए ।  कोटेश्वर आसपासको सडकमा प्रहरीको गोली लागेर दाजुको सहादत प्राप्त गरेको मुरादले बताए ।

‘‘दाजुको छातीमा दुईवटा गोली लागेपछि बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गर्न लागिएको रहेछ,’’ उनले भने, ‘‘सिभिल अस्पतालमा मृत्यु भएपछि पोष्टमार्टम गर्नका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुर्‍याइएको भन्ने सुनियो । हामीले दाजुको शव शिक्षण अस्पतालबाट लिएका हौँ ।’’ मन्त्रिपरिषद्को गत कात्तिक १७ गते बसेको बैठकले  भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँलगायतका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सोही निर्णय अनुसार वीरगञ्जका असहाब पनि सहिदको सूचीमा गरेका छन् । परिवारका सदस्य भने सहिदको सूचीमा राखेर मात्रै नपुग्ने बताउँछन् । मुरादले सरकारले आफ्नो दाजुलाई सहिद घोषणा गरेर मात्रै नपुग्ने बताए । मृतक असहाब नजला र अमरुदिनको पाँच सन्तानमध्येका तेस्रो छोरा हुन् ।