नेपाल भौगोलिक, प्राकृतिक र जैविक विविधताले भरिपूर्ण देश हो । यहाँका हिमाली तथा पहाडी भूभाग केवल पदयात्रा र दृश्यावलोकनका लागि मात्र नभई कृषि र पशुपालनमा आधारित पर्यटनका लागि समेत अथाह सम्भावना बोकेका क्षेत्र हुन् ।
पछिल्लो समय नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेमा रहेको भेडा आनुवंशिक स्रोत केन्द्र पर्यटनको उत्कृष्ट उदाहरण बनेको छ । पशुको नश्ल संरक्षण र सुधारका लागि स्थापित सरकारी फार्म कसरी ग्रामीण अर्थतन्त्र, कृषि अनुसन्धान र पर्यटनको आकर्षक संगम बन्न सक्छ भन्ने उदाहरण भाल्चेले दिएको छ । परम्परागत पशुपालनलाई आधुनिक अध्ययन र ग्रामीण पर्यटनसँग जोड्ने प्रयास नेपालका लागि भेडा पर्यटनको नयाँ र आशालाग्दो गन्तव्यका रूपमा अगाडि बढेको छ ।
समुद्री सतहबाट करिब २ हजार मिटरको उचाइमा रहेको र काठमाडौँबाट मात्र १०१ किलोमिटरको दूरीमा अवस्थित केन्द्र ६६० रोपनी फराकिलो जमिन र विशाल चरन क्षेत्रमा फैलिएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण भाल्चेमा लहरै चरिरहेका स्थानीय बरुवाल जातका भेडाका बथान देख्दा जो–कसैको मन लोभिन्छ । भाल्चे क्षेत्रले आन्तरिक तथा विदेशी पर्यटकहरूलाई प्राकृतिक वातावरणमा ग्रामीण जीवन र पशुपालनको मौलिक अनुभव लिने अद्वितीय अवसर प्रदान गरेको छ । कृषि र पर्यटनको एकीकृत रूप अर्थात् कृषि–पर्यटनलाई प्रवद्र्धन गर्न भाल्चेले खेलेको भूमिका अनुकरणीय छ ।
भाल्चेको भेडा फार्मको ऐतिहासिक पृष्ठभूमि पनि उत्तिकै चाखलाग्दो छ । विगतमा राजाको गोठका रूपमा परिचित भाल्चेबाट उत्पादित दूध, दही, मही र घ्यू तत्कालीन काठमाडौँ दरबारमा पठाउने गरिन्थ्यो । पछि सरकारले यसलाई स्थानीय बरुवाल भेडाको नश्ल सुधार, ऊन तथा मासु उत्पादन अभिवृद्धि गर्ने उद्देश्यसहित भेडा विकास फार्ममा रूपान्तरण गर्यो । आज आएर यसले आफ्नो ऐतिहासिक पहिचानलाई निरन्तरता दिँदै आधुनिक अनुसन्धान, किसान सेवा र पर्यटकीय आकर्षणलाई एकसाथ अघि बढाएको छ।
केन्द्रको मुख्य उपलब्धि केवल पर्यटक आकर्षित गर्नु मात्र होइन, स्थानीय कृषि र पशुपालन क्षेत्रलाई दिगो सहयोग पुर्याउनु पनि हो । फार्मले आफैँ ठूलो संख्यामा भेडा पालेर व्यापार गर्नुभन्दा पनि स्थानीय किसानको उत्पादकत्व बढाउन ध्यान केन्द्रित गरेको छ । नुवाकोट, धादिङ र रसुवाका किसान समूहहरूलाई उन्नत तथा प्रजननयोग्य थुमा उपलब्ध गराउने, ऊन काट्ने कैँची, त्रिपाल, र्यानकोटजस्ता आवश्यक सामग्री र तालिम प्रदान गर्ने कार्य सराहनीय छ । यसबाहेक बहुवर्षीय घाँसका बीउ–बेर्ना उत्पादन तथा बिक्री वितरण र स्थानीय किसानका लागि मुर्रा क्रस राँगो एवं जर्सी साँढमार्फत प्रजनन् सेवा उपलब्ध गराएर केन्द्रले बहुआयामिक सेवा प्रवाह गरिरहेको छ ।
भाल्चेलाई भेडा पर्यटनको स्थायी र विश्वस्तरीय गन्तव्यका रूपमा विकास गर्न अझै थुप्रै कामहरू गर्न बाँकी छ । काठमाडौँबाट नजिक भएर पनि पर्यटकीय पूर्वाधार, सहज यातायात, सुविधायुक्त आवास र प्रभावकारी प्रचारप्रसारको अभावमा यस्ता सम्भावना बोकेका ठाउँहरू प्रायः ओझेलमा पर्ने गरेका छन् । त्यसैले स्थानीय किस्पाङ गाउँपालिका, बागमती प्रदेश सरकार र संघीय कृषि तथा पशुपालनसँगै पर्यटन मन्त्रालयले एकीकृत योजना बनाएर काम गर्नु आवश्यक छ । केन्द्रमा हाल रहेका ३५४ भेडाको संख्या बढाएर लक्ष्यअनुसार ५०० पुर्याउने मात्र नभई यहाँ पुग्ने पर्यटकका लागि पदमार्ग, घरबास (होमस्टे) र भेडाको ऊनबाट स्थानीय हस्तकलाका सामान बनाउने प्रविधिको प्रत्यक्ष अवलोकनजस्ता पूर्वाधार तयार पारिनुपर्छ ।
नेपालमा कृषि र पर्यटनलाई अलग–अलग पाटाका रूपमा हेर्ने पुरानो दृष्टिकोणलाई बदलेर दुवैलाई एकआपसमा जोड्नु नै आजको आवश्यकता हो । भाल्चेको भेडा आनुवंशिक स्रोत केन्द्रले देखाएको बाटोले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न, जैविक विविधता एवं स्थानीय नश्लको संरक्षण गर्न र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने प्रस्ट पारेको छ । यदि सरकार र स्थानीय समुदायले समन्वय गरी भौतिक पूर्वाधार र प्रवद्र्धनात्मक कार्यक्रमलाई अघि बढाउने हो भने भाल्चे नेपालमा भेडा पर्यटनको मात्र नभई समग्र कृषि–पर्यटनको बलियो नमूना गन्तव्य बन्ने निश्चित छ ।मिति
२०८३ भदौ ११ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































