निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय, महाधिवेशनबारे भएन निर्णय

काठमाडौं । नेपाली कांग्रेसको लामो समयसम्म अनिर्णीत बनेको केन्द्रीय समितिको बैठक महाधिवेशन सम्बन्धी निर्णय नगरी सकिएको छ ।

सानेपामा शनिबार सकिएको बैठकले महाधिवेशन सम्बन्धमा कुनै निर्णय गरेन । बैठकपछि महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प भएको बताएका थिए । केन्द्रीय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने बताएका हुन् । उनका अनुसार मंसिरको २७, २८ गतेतिर विशेष महाधिवेशन गर्नुपर्छ । निर्वाचनअघि अधिवेशन गर्ने कुरा अनिवार्य रहेको पनि बताए ।

नेपाली कांग्रेस आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने पनि निर्णय गरेको उनले बताए । आगामी निर्वाचनमा भाग नलिने भन्ने राजनीतिक दलहरुलाई पनि संवादमार्फत निर्वाचनमा सहभागी हुन प्रयास गर्ने बताए । ‘फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुन्छ । त्यो सँगै नेपाली कांग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्नौँ भनेका दलहरुलाई निर्वाचनमा ल्याउनका लागि हरसम्भव प्रयास गर्दछ ।

उनीहरुसँग संवाद गर्दछ, उनीहरुलाई निर्वाचनमा ल्याउनुपर्छ भन्ने पहल हुन्छ,’ उनले भने, ‘सँगै निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्दछ । हातहतियार बाहिर छन्, कैदीहरु फरार छन् । राजनीतिक दलहरुले निर्वाध रुपले आफ्ना गतिविधि गर्न पाउनुपर्छ । सरकार राजनीतिक दलहरुले निर्वाध आफ्ना गतिविधि गर्न पाउनुपर्नेतिर गम्भीर भइरहेको छैन । फागुन २१ भन्दा अर्को कुनैपनि निकास नेपालको अहिलेको जटिलताले पाउँदैन ।’

उनले अब विशेष महाधिवेशन गर्ने बताए । ‘अब निर्विकल्प कुरा भनेको विशेष महाधिवेशन हो । मंसिरको २७/२८ गतेतिर विशेष अधिवेशन गर्नुपर्छ । उत्तेजनाको नेतृत्व एउटा दलले गरिरहेको छ, शान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्दछ,’ उनले भने ।

बैठकबाट वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै भाग लिने औपचारिक निर्णय गरिएको हो । निर्वाचनमार्फत नै संविधानको रक्षा तथा ‘जेनजी’ प्रदर्शनका क्रममा परिवर्तनका निम्ति उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने पार्टीको दृढ विश्वास रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य चुनाव प्रयोजनका निम्ति निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय पनि गरिएको छ । निर्वाचनका निम्ति भयरहित वातावरण अपरिहार्य भए पनि हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हातहतियार हराइरहनु, राजनीतिक दलले निर्बाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाउने परिस्थिति गम्भीर रहेको कांग्रेसको निष्कर्ष छ ।

चुनावका निम्ति निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण निर्माण गर्न निर्वाचन आयोग, सरकार र सम्बद्ध सबैलाई कांग्रेसले आग्रह गरेको छ । यस्तै, तत्काल शान्ति सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आमनागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न बैठकबाट माग गरिएको प्रवक्ता डा. महतले बताए । विश्वास र समझदारी आवश्यक भएकाले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवादमार्फत समाधान खोज्न समेत आह्वान गरिएको उनले जानकारी दिए ।

महतले कांग्रेसको महाधिवेशनका विषयमा पार्टीलाई एकताबद्ध बनाएर सर्वसम्मत निर्णय गरिने उल्लेख गरे । जेनजीले उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितजस्ता प्रमुख विषय स्वाभाविक, वैध र आमनागरिकको आवाज भएकाले माग पूरा गराउने बैठकबाट प्रतिबद्धता व्यक्त गरिएको छ ।

कार्यसमिति बैठक यही मंसिर ११ गते पुनः बस्ने कांग्रेसले जनाएको छ । असोज २८ गतेदेखि लगातार बसेको बैठकले कांग्रेसको एउटा विवाद भने समाधान गर्नै सकेको छैन । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता डा शेखर कोइरालासहितका नेताहरु फागुनको निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने अडानमा भए पनि त्यो निर्णय हुन सकेन ।

सभापति शेरबहादुर देउवा भदौ २४ को जेनजी आन्दोलनमा आन्दोलनकारीको आक्रमणमा परेपछि घाइते भए । केही सयम नेपालमै उपचार गराएका उनी थप उपचारका लागि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएर हङकङ गए । देउवा एक महिनापछि फर्किँदा पनि उनले सुरु गरेको बैठक टुंगोमा नपुगेको अवस्थामा रह्यो ।

अहिले देउवा फर्किसकेका छन् । देउवाले आफ्‌ना समूहका नेताहरुलाई नियमित महाधिवेशनबाहेक विशेषमा जोड नगर्न निर्देशन दिए । सोहीअनुसार पूर्णबहादुर खड्काले कार्यवाहकको भूमिका निर्वाह गरे । महामन्त्रीसहितका नेताहरु विशेष महाधिवेशन गराउन जोडबलमा लागे पनि सम्भव भएन । अब आगामी बैठकले यसबारे ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् । उता महामन्त्री थापा अब विशेष महाधिवेशन हुने बताउँदै आएका छन् । तर उनको दाबीलाई संस्थापन समूहका नेताहरुले खण्डन गरिरहेका छन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखी साभार।