महाधिवेशनमा होमियो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने भएको छ । २६–२८ गतेसम्म काठमाडौंमा गर्नेगरी निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार अब विशेष महाधिवेशनको आवश्यकता रहेन ।

“१५औँ महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता परेन । मूल कुरा अधिवेशन समयमा हुनुपर्‍यो,” उनले भने । कांग्रेसले पारित गरेको कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरणको लागि केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असोज मसान्तसम्म नवीकरणको अन्तिम समय सीमा तोकेकोमा नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले जिल्ला कार्यसमितिको बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नावमाली र रकम केन्द्रमा पठाउने समय मंसिर २५ गतेभित्र तोकिएको छ ।

पुस ८ गतेभित्र नवीकरणको सूची जिल्लाले केन्द्रमा पठाइसकेपछि पनि कुनै सदस्यले नवीकरण गर्न आउँछन् भने त्यस्तो सदस्यको नवीकरण गरी छुट भएकाहरुको मात्र छुट्टै नामावली, निर्णय र रकम जिल्लाले केन्द्रमा पठाउने अवधि राखिएको छ ।

त्यसैगरी नेपाली जनसम्पर्क समितिको अधिवेशनको सम्बन्धमा कांग्रेसले गरेको निर्णयअनुसार जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण कार्य गर्ने अवधि मंसिर मसान्तसम्म राखिएको छ । त्यसैगरी क्रियाशील सदस्इता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि पुस ३ गतेसम्म कायम राखिएको छ ।

केन्द्रबाट उक्त नामावली स्वीकृत गर्ने अवधि पुस ५ गतेसम्म राखिएको र २०८२ पुस १५ गतेभित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन गरिसक्ने निर्णय भएको छ । त्यसैगरी गाउँ–नगर वडा अधिवेशन पुस १६ गते हुने भएको छ भने गाउँ–नगरपालिका अधिवेशन पुस १७ गते हुने भएको छ । त्यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशन २०८२ पुस १९ गते तोकिएको छ । त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन– जहाँ एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् त्यहाँ जिल्ला अधिवेशन नै पुस २१ गतेका लागि तोकिएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएकाले जिल्लामा अधिवेशन पुस २२गते तय भएको छ । प्रदेश अधिवेशन पुस २३ र २४ का लागि तोकिएको छ भने केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडौंमा गर्ने निर्णय भएको छ ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रिया सुरु भएसँगै विशेष महाधिवेशनको औचित्य नहुने बताएका छन् । ’पुसमै महाधिवेशन भएपछि विशेष महाधिवेशनको आवश्यकता नै परेन । मूल कुरो अधिवेशन समयमा हुनुपर्‍यो भन्ने माग थियो हस्ताक्षरकर्ताहरूको पनि । महाधिवेशनको कार्यतालिका आइसकेको छ कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने भएको हुनाले विशेष महाधिवेशनको कुरा गरिरहनु परेन,’ उनले भने, ’विशेष त स्वतः निष्क्रिय हुन्छ ।

विशेष महाधिवेशन के का लागि, कसरी गर्ने भन्ने अन्योलमा छ। अब अधिवेशन नै भइसकेपछि विशेष अधिवेशनको औचित्य रहँदैन ।’ विशेष महाधिवेशन पक्षधरले असोज २९ गते झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए।
महामन्त्री गगनकुमार थापाले महाधिवेशनका लागि कांग्रेसले ३ वटा समिति गठन गर्ने निर्णय गरेको छ । १– विधान मस्यौदा समिति, २– क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति, ३– केन्द्रीय निर्वाचन समितिलाई पूर्णता । कांग्रेसले विधान मस्यौदा र क्रियाशील छानबिन समितिले सहमतिकै आधारमा निर्णय गर्ने जनाएको छ । त्यस्तै यी सिमितहरू गठनको काम आवश्यक परामर्श गरी सभापति र कार्यवाहक सभापतिले गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

महामन्त्री विश्वप्रकाश शर्माले पनि पुस २६ देखि २८ गतेसम्म तोकिएको नियमित महाधिवेशन गर्न अलमल गर्ने हो भने विशेष महाधिवेशन हुने बताएका छन् । शर्माले पुसभित्र नियमित महाधिवेशन गर्न अलमल गर्ने हो भने विशेष महाधिवेशन हुने र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सुरक्षित रहेको बताए । ‘महाधिवेशनका लागि मिति त तोकियो तर निर्वाचनमा जाने भएकोले तोक्नका लागि यो मिति तोकेको, महाधिवेशन हुँदैन है भनेर कसैले मनमा राखेको छ भने मैले भन्नैपर्छ– विशेष महाधिवेशनका लागि साथीहरूले गर्नुभएको हस्ताक्षर यही केन्द्रीय कार्यालयमा सुरक्षित राखेका छौं,’ उनले भने, ‘कसैले सभापतिले भन्नुभयो, महाधिवेशन मिति तोकियो तर हुँदैन भन्ने हो भने स्पष्ट हुनुपर्छ, विशेष महाधिवेशन हुन्छ ।’

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।